
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार समसामयिक विषयमा प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्नो चीन भ्रमणका क्रममा बिआरआई कार्यान्वयनको योजनालाई अन्तिम रुप दिने सम्बन्धमा छलफल भएको बताउनुभएको हो ।
उहाँले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीन बीचका १४ वटा परम्परागत व्यापार सिमा नाकाहरु यथाशिघ्र खोल्ने सहमती भएको पनि बताउनुभयो । त्यस्तै नेपाल चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि उहाँले दिनुभयो । उहाँले चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको बताउनु भयो । परराष्ट्रमन्त्री श्रेष्ठले चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । उहाँले नेपाल–चीनबीच भएको सहमतीहरुको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी र आवश्यकताअनुसार सम्बन्धित विषयमा कार्यसमूह (वर्किङ ग्रुप) गठन गरी आपसी सहयोगलाई थप गतिशिल बनाउन दुवै पक्ष सहमत भएको पनि उल्लेख गर्नुभयो । त्यसैगरी सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमी प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरुमा विद्युतिकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उहाँको भनाई छ । उहाँले नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको पनि जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘मेरो चीन भ्रमणमा दुई विषयमा ध्यान केन्द्रीत भयो । एक, हाम्रो द्विपक्षिय छिमेकी, मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने । र दोस्रो, नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अगाडी बढिरहेको चीनबाट कसरी लाभ लिन सक्छ भनेर आर्थिक कुटनीतिलाई केन्द्रबिन्दुमा राखेर छलफल गरेको छु । मुख्यतः आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल गरेको छु ।
बुँदागत रुपमा भन्नुपर्दा, रसुवागढी केरुङ तातोपानी झाँगु, यारी, पुराण तथा निम्चुलिचीको व्यापारिक नाकाहरु यस अगावै सञ्चालनमा आइसकेका छन् । कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशिघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमा नजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको दैनिक जिवन तथा व्यापार–व्यवसाय सहज हुने अपेक्षा गरेको छु । यसपटक गम्भिर छलफल भएर १४ वटा परम्परागत नाकाहरु खोल्ने सहमती भएको छ । र यो तुरुन्तै व्यवहारमा देखिनेगरी कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।
नेपाल चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चिनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग जोइन्ट कमिशन एट द लेभल अफ फरेन मिनिस्टर गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ ।
बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजना बिआरआई इम्प्लिमेन्टेश प्लान लाई अन्तिम रुप दिने बारे छलफल भएको छ । नेपालले सन् २०१६ देखि नै नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरुलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।
नेपालको महत्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रुपमा रहेको मित्रराष्ट्र चिनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल–चीन बिच भएको सहमतीहरुको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी र आवश्यकता अनुसार सम्बन्धित विषयमा कार्यसमूह(वर्किङ ग्रुप) गठन गरी आपसी सहयोगलाई थप गतिशिल बनाउन दुवै पक्ष सहमत भएका छौँ । सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमी प्रयोग गर्न दिन र सिमावर्ती केही नेपाली गाउँहरुमा विद्युतिकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ ।
नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हास्साबिच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ ।
नेपाल चीन सीमाका केही क्षेत्रमा मल्टि फङ्शनल ल्याब स्थापना गर्न मैले गरेको अनुरोध लाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको छ ।’
परराष्ट्र मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणले नेपाल र चीन बीचको आपसी समझदारी थप गहिरो भएको र नेपाल र चीन बिचको सद्भावले थप उचाई प्राप्त गरेको बताउनु भयो । उहाँले आपसी सहयोग र सहकार्यका क्षेत्रहरुमा विस्तृत र स्पष्ट छलफल भएको भन्दै यसले नेपाल र चीनबिचको मित्रवत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन मद्दत गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच