दोस्रो गोरखा-जितगढी पदयात्रा : भोलिदेखि ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै नेपाली सेना

फाइल तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । नेपाली सेनाको पदयात्रा गोरखा हुँदै जितगढी तय भएको छ । सेनाले ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहास जोगाउने उद्देश्यले भोलि (चैत २७ मंगलबार) देखि ‘दोस्रो गोरखा-जितगढी’ पदयात्रा गर्न लागेको हो ।

यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा-तनहुँ-स्याङजा-पाल्पा हुँदै रुपन्देहीको जितगढीसम्म पुग्नेछ । ६ दिने पदयात्रामा निस्किने टोली बैंशाख २ गते पाल्पा आइपुग्ने छ । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ ले सोही दिनदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको ‘दि फेमस महिन्द्र दल गण’ले जनाएको छ ।

ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गर्न थालेको हो । सेनाको पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको छ । सेनाले यही वैशाख २ गतेदेखि ७ गतेसम्म ३ सय ५ किलोमिटर पदयात्रा गर्ने छ ।

पाल्पाको केलादीघाट, दर्छा, सिलुवा, पिलुवा बाकुमगढी, माथागढी, प्रवास हुँदै नुवाकोट गढीसम्म पुग्ने योजना बनाइएको दि फेमस महेन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङले तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा जानकारी गराउनुभयो । उहाँले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रर्वद्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ गणपति गुुरुङले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने छ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो ।

इतिहास विद् निर्मल श्रेष्ठ, पर्यटनका जानकार मनमोहन श्रेष्ठले पाल्पामा ऐतिहासिक महत्व रहेका गढी किल्लालाई पर्यटनसँग जोडेर स्थानीय पालिकाले पैदल मार्ग बनाउन सकेमा पहाडी जिल्ला पनि पदयात्राको गन्तव्य बन्न सक्ने बताउनुभयो । उहाँहरुले ऐतिहासिक गढी, किल्लाको बारेमा नयाँ पुस्तालाई अवगत गराउन स्थानीय पालिकाले स्थानीय पाठ्क्रममा समावेश गर्नुुपर्नेमा समेत जोड दिनुभयो ।

बैंठकमा रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापा, तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, पूर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले पदयात्रामा समयको ब्यवस्थापन,सूचनाको आदान-प्रदान गर्न प्रभावकारी समन्वयको आवश्यकता रहको औल्याए । पदयात्रामा नेपाली सेनाका ५२ जना अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहने छ ।

पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुँगीने छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ ।

जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ । सेनाले ‘पहिलो गोरखा-जितगढी’ पदयात्रा गत चैत्र २९ गतेदेखि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?