काठमाडौंं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आज (बुधबार) देखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ । यसैगरी, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चार माध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ ।
यस्तै, आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न लेखी पठाउने निर्णय पनि गरेको छ । उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने निर्णय आयोगले गरेको हो ।
वैशाख २ गतेदेखि उपनिर्वाचन र मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री-वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयमा अनुरोध गर्नेलगायत निर्णय छन् । बैठकमा निर्वाचन आयोगका आयुक्तहरू, निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवहरू, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
इलाममा १९ र बझाङमा ११ उम्मेदवार कायम
उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । इलाम-२ को उपनिर्वाचनमा १९ उम्मेदवार कायम भएका छन् । चैत २४ गते भएको मनोनयन दर्तामा २० जनाको उम्मेदवारी परेको थियो । स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, बझाङ-१ को ‘क’मा हुने निर्वाचनमा ११ जनाको उम्मेदवारी कायम भएको छ । कुल १२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमा नेपाली जनता दलका उमेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै, उम्मेदवारहरूलाई चुनाव चिहृन पनि प्रदान गरिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच