काठमाडौं । वेस्ट इण्डिजको टी-२० ‘ए’ क्रिकेट टोली नेपाल भ्रमणमा आउने भएको छ । आइसिसी टी-२० विश्वकपको तयारीका क्रममा अभ्यास खेल खेल्न वेस्ट इण्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आउन लागेको हो ।
आइसिसी टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ । नेपाल र वेस्ट इण्डिज दुवै टी-२० विश्वकपमा छनोट भएका छन् । वेस्ट इण्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलोपटक नेपालको भ्रमण गर्न लागेको हो । नेपाल भ्रमणका क्रममा वेस्ट इण्डिजले नेपालसँग पाँचवटा खेलको टी-२० शृंखला खेल्नेछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछ ।
टेस्ट टोली वेस्टइण्डिजको ‘ए’ र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइण्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइण्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौँ ४ मेमा हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीका रूपमा वेस्टइण्डिजसँग सिरिज खेल्न लागेको हो ।
यसअघि नेपाल र वेस्ट इण्डिजबीच एकपटकमात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आइसिसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इण्डिजबीच खेल भएको थियो । खेलमा क्यारेबियन टोली १०१ रनले विजयी भएको थियो ।
आगामी आइसिसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । वेस्ट इण्डिज भने समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच