प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध : एमाले

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिनुभएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल भएको छ ।

संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधिसभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताउनु भएको थियो ।

‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’ दाहालले भन्नुभाये ।

एमाले सांसदहरु अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?