गुल्मीमा स्थायी शिक्षकलाई नियुक्तिपत्रसंगै शपथ ग्रहण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा प्राथमिक विद्यालयतर्फका स्थायी शिक्षकलाई नियुक्तिपत्रसंगै शपथ ग्रहण गराइएको छ । यस जिल्लाका १९९ स्थायी शिक्षकहरुलाई नियुक्तिपत्रसंगै शपथ ग्रहण गराइएको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

इकाई प्रमुख मरासिनीले प्रावि तहमा स्थायी भई आउनुभएका शिक्षकलाई शिक्षा नियमावलीको अनुसूची १५ को नियम ९५ को उपनियम (४) सँग सम्बन्धित शपथ ग्रहण गराउनुभयो । उहाँहरुलाई यस जिल्लाका विभिन्न पालिकामा रिक्त रहेका विद्यालयमा पदपूर्तिको लागि पठाइने बताइएको छ ।

यस जिल्लाको कालिगण्डकीमा २८, सत्यवतीमा १२, चन्द्रकोटमा १८, रुरुक्षेत्रमा १०, छत्रकोटमा २८, गुल्मीदरबारमा १४, रेसुङ्गामा चार, धुर्कोटमा १६, मदानेमा छ, मालिकामा १५, इस्मामा छ र मुसिकोटमा ४२ जनाको प्राथमिक तहमा पद रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाईको प्रारम्भिक तथ्याङ्क छ ।

शिक्षकहरुलाई सदरमुकाम तम्घासमा पाँच दिनसम्म नवप्रवेशी तालिमसमेत प्रदान गरिनेछ । तालिमपछि पालिकाले आवश्यकताको आधारमा शिक्षकहरुलाई विद्यालयमा खटाइने बताइएको छ । त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले शिक्षकहरु बालबालिकासँग बढी घुलमिल हुनुपर्ने भन्दै आफ्नो दक्षतालाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले एक बर्षसम्म पालिकाले खटाएकै विद्यालयमा अध्यापन गराउनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?