बर्दघाट महोत्सवमा दुर्गेश थापाको प्रस्तुति प्रति सरोकारवालाको आपत्ति

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवमा साङ्गीतिक प्रस्तुतिमा बिकृति भित्रदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न् । मेला महोत्सवमा स्टेजमै केही कलाकारले अभद्र प्रस्तुति दिने गरेपछि गीत संगीतको नाममा अश्लीलतासमेत झल्किने गरेको सरोकारवालाहरुले टिप्पणी गरेका छ्न् ।

बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गरेको सातौ कृषि,पर्यटन,सस्कृति तथा औद्योगिक ब्यापार मेलाको सोमबार गरिएको समापन समारोहमा बोल्ने अधिकांस वक्ताहरुले लोक संगीतका नाममा भित्रीएको बिकृतिप्रति चिन्ता व्यक्त गर्दै यस्ता क्रियाकलापलाई निरुत्साहित गर्नु पर्ने बताएका छन् ।

बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन साझ पख कलाकार दुर्गेश थापाको प्रस्तुति रहेको थियो । प्रस्तुतिका क्रममा उनले दुई तीन पटक नै प्रस्तुतिको बिच बिचमा अश्लिल शब्द प्रयोग गरेका थिए । मेला भर्न आएका सबै उमेर समुहका दर्शकलाई उक्त शब्द पाच्य नभएपछि यतिखेर यो बिषयको आलोचना भएको छ । उक्त प्रस्तुति भैरहँदा स्टेजमा गायक चन्द्र शर्माकोसमेत प्रस्तुतिका लागि उपस्तिथि रहेको थियो ।

समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मनोरञ्जनको नाममा बिकृती भित्रन नहुने बताउनु भयो । मेला महोत्सवले कला सस्कृति संरक्षण र सम्बर्द्धन गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने 'परिश्रमी'ले गीत संगीतका नाममा देशै भरि नै बिकृति मौलाउन थालेको बताउनु भयो ।कलाकार दुर्गेश थापाको प्रस्तुतिको बिषयमा कुलपति न्यौपानेले भन्नुभयो 'माथिबाट आयात गरिएका केही कलाकारले अश्लीलताका माध्यमबाट आफ्नो प्रचार र विज्ञापन गरेर जान्छन । एकछिनका लागि ताली बज्ला वाहवाही त होला, केहिले रुचाउलान पनि तर यस्ता प्रस्तुतिले संस्कृतिको जगेर्ना हुदैन ।' मेला महोत्सवमा स्थानिय पहिचान र कला संस्कृति झल्किन सक्नु पर्ने डा.न्यौपानेको जोड रहेको थियो ।

समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङ, उद्योग बाणिज्य संघका सल्लाहकार दामोदर जिसि,पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका सल्लाहकार एकदेव पाण्डेले ठेक्का प्रणालीले मेला महोत्सवमा पैसा उठाउने बहानामा ठेकेदारले मनोमानी रुपमा कलाकार बोलाउने प्रवृत्तिले सस्कृतिका नाममा अभद्र प्रस्तुति हुने गरेको र यसले बाल मनोबिज्ञानमा नकारात्मक असर परेको बताउनु भयो । मेला महोत्सवमा पुराना कलाकारहरु समेटिन नसक्नु दुखद रहेको सल्लाहकार पाण्डेको भनाई थियो ।

'गीत गाउने भन्दैमा मुखमा आएको फोहोरो बोलेको छ, आमा दिदी बहिनी छोराछोरी संग बसेर त हेर्नै नमिल्ने खालको रहेछ, कलाकार भन्दैमा खुलमखुला यस्तो बोल्नेलाई किन बोलाउनु, यसरी पनि संस्कृतिको जगेर्ना हुन्छ ?' मेला भर्न आएका एक दर्शकले भने ।

मेलामा समाचार संकलनका लागि पुगेका स्थानिय पत्रकार नारायण भण्डारीले दुर्गेश थापाको प्रस्तुति भैरहँदा आफुसंगै आएको छोरालेसमेत मेलामा यस्तो बोल्न पाईन्छ र ! भनेर प्रश्न गर्दा आफू नाजवाफ भएको बताउनु भयो । अघिल्ला बर्षहरुमा समेत यस्ता गतिविधिहरु हुन नदिन आवाज उठाउदै आएको पत्रकार भण्डारीले बताउनु भयो ।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापाले असभ्य प्रस्तुति प्रस्तुत गरेपछि उनलाई चेतावनी दिईएको बताउनु भयो । 'मैले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नु भयो भने तपाईलाई महोत्सवमा बोलाईदैन भनेर मैले आपत्ती जनाएको छु'-अध्यक्ष न्यौपानेले भन्नू भयो । अश्लिलता र अभद्र प्रस्तुतिकै कारण केही कलाकारलाई यो बर्ष नबोलाईएको न्यौपानेले बताउनु भयो ।

समाजमा अपाच्य हुने सिर्जना प्रस्तुतिले मौलिकतासमेत हराउँदै गएको सरोकारवालाको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?