काठमाडौं । नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको युएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाएर १२३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसिसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । यसपटक भने आगामी आइसिसी टी–२० विश्वकपलाई ध्यानमा राखी प्रिमियर कप पनि टी-२० ढाँचामा खेलाइएको हो ।
जारी प्रतियोगितामा अब नेपाली टालीले ओमान र हङ्कङबीच हुने दोस्रो सेमिफाइनल खेलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिनेछ । सेमिफाइनलमा विजयी दुई टोलीबीच आइतबार उपाधि भिडन्त हुनेछ ।
पहिलो सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले निराशाजनक प्रदर्शन ग¥यो । खासगरी नेपालको ब्याटिङ निकै फितलो देखियो । सन्दीप जोरावाहेक नेपाली टोलीका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेल्नुभएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आउनुभएका उहाँले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काउनुभयो । गुलसन झाले पनि २० रन बनाउनुभयो । उहाँले १६ बलमा एक छक्का र एक चौका प्रहार गर्नुभयो ।
करण केसीले टोलीको खातामा १७ रन थप्नुभयो । उहाँले १२ बलमा दुई छक्का प्रहार गर्नुभयो । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित राजवंशी दुई र अविनाश बोहरा एक रनमा अविजित रहनुभयो ।
ओपनर कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किनुभयो । अर्का ओपनर आसिफ शेख पनि आठ रनभन्दा अगाडि बढ्न सक्नुभएन । कप्तान रोहित पौडेल पाँच रनमै आउट हुनुभयो । कुशल मल्ल तीन र दीपेन्द्रसिंह ऐरी पाँच रनमै पेभेलियन फर्किनुभयो ।
नेपालले अतिरिक्त रूपमा ६ रन पाएको थियो । युएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई-दुई विकेट लिनुभएको थियो । ओमिद सफिक रहमान, आयान अफजल खान र मुहम्मद फारुकले पनि एक-एक विकेट हात पार्नुभएको थियो ।
सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईलाई महत्वपूर्ण जित दिलाउन ओपनर एलिसन सराफुले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले अविजित ५५ रन बनाउनुभयो । उहाँले ४१ बलमा दुई छक्का र चार चौका पनि प्रहार गर्नुभयो ।
युएईका लागि विष्णु सुकुमारनले पनि टोलीको खातामा २८ रन थप्नुभयो । सइद हैदरले १४ र कप्तान मुहम्मद वसिमले ११ रन बनाउनुभयो । आसिफ खानले पनि १० रन जोडनुभयो । आयान अफजल खान तीन रनमा अपराजित रहनुभयो । नेपाली टोलीका बलर गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट हात पार्नुभयो ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।
त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।
अर्कोतिर, युएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।
यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने युएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । युएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो ।
शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा युएईको पहिलो विकेट सोमपाल कामीले लिनुभएको थियो । उहाँले युएईका कप्तान मुहम्मद वसिमलाई बोल्ड गर्नुभएको थियो । पेभेलियन फर्किनुअघि ओपनर मुहम्मद वसिमले सात बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउनुभएको थियो । दोस्रो ओभरको तेस्रो बलमा उहाँ आउट हुँदा युएईले १२ रन बनाएको थियो ।
युएईको दोस्रो विकेट गुलसन झाले लिनुभएको थियो । उहाँले युएईका तेस्रो नम्बरका ब्याट्सम्यान विष्णु सुकुमारनलाई कुशल भुर्तेलद्वारा क्याच गराउनुभएको थियो । कुशल भुर्तेलले उत्कृष्ट क्याच लिनुभएको थियो । आउट हुनुअघि विष्णुले २८ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बटुल्नुभएको थियो । ७.५ ओभरमा उहाँ आउट हुँदा युएईले ५४ रन बनाएको थियो ।
युएईको तेस्रो विकेट पनि गुलसन झाले नै लिएका थिए । उनले युएईका चौथो नम्बरका ब्याट्सम्यान आसिफ खानलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराउनुभएको थियो । गुलसनले लिएको यो दोस्रो विकेट थियो । पेभेलियन फर्किनुअघि आसिफ खानले ६ बलमा एक छक्काको मद्दतले १० रन बनाएका थिए । ९.४ ओभरमा उहाँ आउट हुँदा युएईले ७० रन बनाइसकेको थियो ।
युएईको चौथो विकेट ललित राजवंशीले लिनुभएको थियो । उहाँले यूएईका विकेटकिपर ब्याट्सम्यान सइद हैदरलाई १४ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पार्नुभएको थियो । १४.१ ओभरमा हैदर आउट हुँदा युएईले ९७ रन बनाएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । पहिलो ओभरको पहिलो बलमै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किनुभएको थियो । उहाँलाई युएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराउनुभएको थियो ।
नेपालले दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट हुनुभएको थियो । उहाँलाई युएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लुको धरापमा पार्नुभएको थियो । ३.३ ओभरमा उहाँ आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आउनुभएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किनुभएको थियो । उहाँलाई युएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराउनुभएको थियो । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । पाँचौं नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट हुनुभएको थियो । उहाँलाई युएईका बलर बासिल हमिदले बोल्ड गर्नुभएको थियो । ९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।
नेपालले पाँचौं विकेटका रूपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौं नम्बरमा क्रिज समाल्न आउनुभएका दीपेन्द्र आठ बलमा पाँच रन बनाउँदै आउट हुनुभएको थियो । उहाँलाई युएईका बलर आयान अफजल खानले एलबीडब्लुको धरापमा पार्नुभएको थियो । १३.२ ओभरमा उहाँ आउट हुँदा नेपालले ७५ रन बनाएको थियो ।
नेपालले छैटौं विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आउनुभएका सन्दीपले पेभेलियन फर्किनुअघि अर्धशतकीय पारी खेल्नुभएको थियो । उहाँले ४० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५० रन बनाउनुभएको थियो ।
सन्दीप जोरालाई युएईका बलर मुहम्मद फारुकले मुहम्मद वसिमद्वारा क्याच गराउनुभएको थियो । १४.४ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालले ८० रन बनाएको थियो । २२ वर्षीय सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।
नेपालले सातौं विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किनुभएको थियो । उहाँलाई युएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराउनुभएको थियो । १५.३ ओभरमा उहाँ आउट हुँदा नेपालले ८९ रन बनाएको थियो ।
नेपालले आठौं विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । नवौं नम्बरमा क्रिज समाल्न आउनुभएका करण १७ रन बनाउँदै आउट हुनुभएको थियो । उहाँले पेभेलियन फर्किनुअघि १२ बलको सामना गरी दुई छक्का हिर्काउनुभएको थियो । उहाँलाई यूएईका बलर अली नासिरले बोल्ड गर्नुभएको थियो । १८.४ ओभरमा उहाँ आउट हुँदा नेपालले ११६ रन बनाएको थियो ।
नेपालले नवौं विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उहाँ १६ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किनुभएको थियो । उहाँलाई युएईका बलर जुनैद सिद्दकीले सुकुमारनद्वारा क्याच गराउनुभएको थियो । १९.२ ओभरमा उहाँ आउट हुँदा नेपालले ११६ रन बनाएको थियो ।
नेपालले भने अब तेस्रो स्थानको लागि खेल्नेछ । शुक्रबार हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानका लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच