पाल्पा । पछिल्ला केही दिन यता देशका विभिन्न भागमा डढेलोका घटनाहरु बढेका छन् । सुक्खा खडेरी बढेसँगै डढेलोका घटना बढेका हुन् ।
अहिले तराई र पहाडका वनमा दिनहुँ आगलागीका घटना भइरहेका छन् । केही दिन यता पहाडी जिल्ला पाल्पा र गुल्मीमा आगालागी भयावह बन्दै गएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि अवस्था थप भयावह बन्दै गएको हो । पाल्पामा डढेलोका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
जंगलबाट बस्तीमा आउन लागेको डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते हुनुभएको छ । घाइते बुढाको तानसेनस्थित मिसन अस्पताल उपचार भइरहेको छ । यस्तै माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर पनि घाइते हुनुभएको छ । पाल्पाको सिद्धेश्वरको साउने,मोहरे क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएका छन् । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो आइतबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन । माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
घर गोठमा लागेको डढेलो नियन्त्रणमा आए पनि उक्त जंगलमा नियन्त्रणमा आउन सकेको छैन । पाल्पाकै सिलुवामा लागेको डढेलोले दुई घर र गोठ जलेर नष्ट भएका छन् । तानसेनको श्रीनगर, बतासेडाँडा, वनदेवी क्षेत्र, सेतीपोखरी क्षेत्रमा शनिबार दिनभरी नै आगलागी भयो । पाल्पाकै बगनासकालीको चिर्तुङ्धारा,पोखराथोक,रिब्दीकोटको कुसुमखोला,पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचलमा पनि आगलागी भएको छ । रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढी क्षेत्रको वनमा डढेलो लागेको छ । पाल्पामा यो वर्ष करिब ६ सय हेक्टर भन्दा बढी जमिनमा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
उता जंगलमा लागेको भीषण आगो बस्तीमा सल्किँदा गुल्मीमा दर्जनौ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलो बस्तीमा सल्किँदा ठूलो भौतिक क्षति हुन पुगेको छ । डढेलो गाउँमा सल्किँदा त्यहाँको इस्मा गाउँपालिका –२ सिधुङखा, फेदिया, मैनडाँडा र वडा नं १ उजुङगमा दर्जनौं घरगोठ जलेर नष्ट भएका हुन् । शनिबार विहान रानीबनमा लागेको आगो बस्तीमा पस्दा सिधुङ्खा अधिकास घर, गोठ सखाफ भएका छन् । मानवीय क्षति नभए पनि घर, गोठ, पशुचौपाया र घरभित्र रहेका अन्नपात पुरै जलेका छन् । क्षतिको यकिन विवरण भने आइपुगेको छैन् । घरसहित अन्नपात र लत्ताकपडा जलेपछि त्यहाँका नागरिक खुला आकाशमा आइपुगेका छन् । सिंगो गाउँमै आगलागी हुँदा केही घर, गोठ र पशुचौपाया जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिनुभयो ।
शनिबार बिहानैदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जंगल नजिकै रहेको वस्तीमा आगो आउन थालेपछि प्रहरी, सेना लगायत स्थानीय बासिन्दाहरु वस्तीतर्फ आगो आउन नदिन प्रयासरत रहे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा कठिनाई भएको एसपी भुजेलले बताउनुभयो । जंगलसगैं ति क्षेत्रमा करिब ५०/६० परिवारको बसोवास रहेको छ । अहिले सिदुङखामा लागेको आगो रानीवनमा झरेको छ । मैनडाँडामा रहेका केही घरहरु समेत उच्च जोखिममा रहेको स्थानीय कमल खत्रीले बताउनुभयो । उहाँका अनुसार सिधुङखा, रानीवन, बड्मान तिरबाट आगो फैलिएकाले मैनडाँडा समेत जोखिममा रहेको हो ।
आगोका कारण फेदियामा समेत भौतिक क्षति भएको छ । प्रहरीका अनुसार आगालगीबाट एउटा ट्याक्टर जलेको र दुई जना घाइते भएका छन् । आगालीमा परी ट्याक्टर चालक ईश्मा गाउँपालिका –१ उजुङका १९ वर्षीय हिमाल राना र जेसिबि चालक मुसिकोट नगरपालिका –७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । उहाँहरुको हात, खुट्टा र अनुहारमा जलेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । यस्तै ईस्मा गाउँपालिका–४ बर्लेघाट सामुदायिक वन स्थित चौया मखन्ने वनमा लागेको आगो बस्तिमा आउदा गोठ र पशुचौपाया जलेका छन् ।
यस्तै गुल्मीदरबार गाउँपालिका –३ उरिङ्डाडास्थित सितल सामुदायिक बनमा पनि आगलागी भएको छ । अहिले उक्त आगलागी बस्तिको नजिक आउन लागेको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिरबासस्थित रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएका थिए । जिल्लाका अन्य ठाउँहरुमा पनि आगालागी भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच