महिला पुरुषलाई समान पुरस्कार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । जिल्लामा हुने प्रतियोगिताहरुमा महिलालाई पुरस्कारमा विभेद हुँदै आएको थियो । तर, आगामी बैशाख ३१ गतेदेखि १० जेष्ठसम्म दिक्तेल बजारमा हुने ‘प्रथम बृहतखोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गितिक तथा पर्यटन महोत्सव-२०८१’मा महिलालाई पुरुष सरह समान पुरस्कार तोकिएको छ ।

लिङगकै आधारमा महिलालाई सरकारी, गैर सरकारी संघसंस्था र नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले महिलामाथि पुरस्कारमा विभेद गरिरहेको अवस्थामा महोत्सवमा हुने खुल्ला म्याराथन र दौड प्रतियोगिताहरुमा समान पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

आयोजक नेपाल खेलकुद प्रतिष्ठान र सह आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अनुसार खुल्ला महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरिएको छ ।

हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने महिला र पुरुषले समान रुपमा क्रमशः ७५ हजार, दोश्रोले ५० हजार, तेश्रोले २५ हजार, चौथोेले १५ हजार, पाँचौले १० हजार, छैटाैंले सातहजार र सातौंले पाँचहजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । हाफम्याराथन प्रतियोगितामा ५५५ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।

छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौडमा प्रथम हुने छात्रछात्राले समान रुपमा क्रमशः जनही तीनहजार, दुई हजार र एक हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । दौडमा ३३३ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ । छात्रछात्राकै १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा प्रथमहुने छात्रछात्राले समान रुपमा क्रमशः सातहजार, दोश्रोले छ हजार, तेश्रोले पाँचहजार पुरस्कार पाउनेछन् । यो दौडमा पनि सहभागिता शुल्क ३३३ रुपैयाँ लाग्नेछ ।

१५ वर्ष माथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले महिला पुरुषले समान रुपमा क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गर्नेछन् । दौडमा ३३३ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ।नेपाल एथ्लेटिक्स परिवार नेपाल र एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने हाफम्याराथन र दौड प्रतियोगिता बैशाख ३१ गतेदेखि जेष्ठ १ गतेसम्म हुनेछ ।

नारी पुरुष वरावरी भएकाले प्रतियोगितामा पुरस्कार समान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जयकुमार राईले बताउनुभयो । नारी पुरुषभनेर सबैले गफ गरे, तर्क गरे तर, काम गरेन । राईले भन्नुभयो, ‘समानताको कुरा अभ्यासमा ल्याईएको हो।’

यस्तै, महोत्सवअन्तर्गत ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा सातप्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकसहित राष्ट्रिय कराते प्रतियोगिता हुनेछ । कराते प्रतियोगिताका लागि कुनै शुल्क लाग्ने छैन ।

करातेमा टिम प्रथम हुनेले एक लाख ११ हजार १११, दोश्रो हुनेले ५५ हजार ५५५, तेश्रो हुनेले ४४ हजार ४४४, चौथो हुनेले २२ हजार २२२, उत्कृष्ट पुरुष र महिला खेलाडी एक-एक जनाले जनही २२ हजार २२२ रुपैयाँ र उत्कृष्ट व्यवस्थापनले ११ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । कराते खेलाडीलाई आवास,खाना, खाजा र पानीको व्यवस्थागरिएको प्रतिष्ठानका सचिव मिलन कसजुले बताए ।

महोत्सवमा ६० वर्षमाथि पुरुषको १६०० मिटर दौडमा प्रथम, दोश्रो, तेश्रो हुनेले क्रमशःपाँचहजार, तीनहजार, दुई हजार र आमाहरुको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो,तेश्रो हुनेले क्रमशः पाँचहजार, तीनहजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

३५ वर्ष भन्दामाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७किलोमिटर दौडमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार तेश्रोले सातहजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा जेष्ठ ३ गते कबर्डहल माटिकोरेमा हुने राष्ट्रिय कविता लेखन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन् । कविता लेखन प्रतियोगितामा भाग लिन ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।

खोटाङ कलाकार समाजको सह-आयोजनामा जेष्ठ ६ गते हुने १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौले क्रमशः४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सातहजार पाउनेछन् । गायन प्रतियोगितामा ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिष्ठानका सह-सचिव मोतिचन्द्र राईकाअनुसार राष्ट्रिय कराते प्रतियोगिता गराउनलाई ३६ लाख ८७ हजार ७७६ रुपैयाँ, एथलेटिक्स (हाफम्याराथन, समूहगत दौड प्रतियोगिता) गराउनलाई १० लाख २० हजार ५०० र राष्ट्रिय कविता लेखन र गायन प्रतियोगिता गराउनलाई ५ लाख वजेट लाग्ने अनुमान गरिएको छ । आवश्यक वजेट स्थानीय सरकार समक्ष माग गरिरहेको र चन्दा संकलन समेत भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?