काठमाडौं । यही वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि प्रकारको प्रचार गर्न पाउने छैनन् । उपनिर्वाचनका लागि आज (बुधबार) राति १२ बजेबाट प्रचारमा रोक लगाइएको जानकारी दिँदै निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले भन्नुभयो, ‘वैशाख १२ गते (बुधबार) राति १२ बजेबाट चुनावको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।’ उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले सम्बन्धित सबैमा स्मरण गराएको छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न-नगराउन आयोगले आग्रह गरेको छ । वैशाख १५ गते प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ-१ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
मौन अवधिमा के-के गर्न पाइँदैन ?
- निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन ।
- मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ ।
- एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।
- उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
मतदानका दिन के-के गर्न पाइँदैन ?
निर्वाचन आयोगले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो । उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचनसम्बन्धी सामग्रीको प्रयोगमा बाधा पु¥याउन नहुने आयोगले स्मरण गराएको छ । यस्तै, मतपत्रको दुरुपयोग गर्न नहुने, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, मतदानको अधिकारबिना मतदान गर्न नहुने, पटक-पटक मतदान गर्न नहुने, मत संकेत सार्वजनिक गर्न नहुने र मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने कानुनी व्यवस्था रहेको छ । मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृतमार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समितिमार्फत मतदान केन्द्र तथा घुम्ती टोलीमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।
यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । निर्वाचन हुने इलाम र बझाङ दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिँदै आयोगले भनेको छ, ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिने ।’
उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने
१५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहनेगरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम-२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रअनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एकजना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी रहनेछन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
जुनसुकै परिचयपत्रबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचयपत्रबाट मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच