फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसबिरुद्ध कदम चाल्छौँ : ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल  तयार नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताउनु भयो । उहाँले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाउनु भयो ।

उहाँले फागुन १ गतेलाई सरकारी बिदा दिनेकुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी दिनुभयो । उहाँले आगामी मन्त्रीपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिनुभयो । उहाँले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रुपमा मनाउन आफूहरु तयार नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरौँ भन्ने चाहन्छाँै । अगाडिदेखि पहल गरिरहेका छौँ । म प्रधानमन्त्री भएका बखत सम्माननीय प्रधानमन्त्री त्यति बेला सत्तारुढ दलको को चियरम्यान हुनुहुन्थ्यो । मैले प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा मेरो साथैमा बसेका को चेयरम्यानको साथ पाइनँ । समिति बनाउन एक वर्ष, नाम दिन अर्को एक वर्ष । मैले के भने, तपाई र शेरबहादुर जी प्रतिपक्षमा हुनुहुन्थ्यो । तपाईहरु मिलाएर आउनुस्, टुंग्याउने प्रश्ताव ल्याउनुस् म टुंग्याउँछु भन्दा मानिएन । शान्ती प्रक्रिया होइन, तपाईहरुलाई जस लिने चिन्ता थियो, त्यसकारण त्यसको श्रेय केपी ओलीलाई किन दिने भनेको होइन ? त्यसैले अझैसम्म शान्ति प्रक्रिया टुंगिएको छैन । सम्माननीय प्रधानमन्त्री शान्ति प्रक्रियाका घाउ टुंग्याउन चाहनुहुन्न । द्वन्द्व पीडितलाई नुनचुक छर्किएर आन्दोलन सिर्जना गर्न थालिएको छ । हिजोका कुरा बिर्सिएर शान्तिपूर्ण मेलमिलापका रुपमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीज्युले हिंसा शुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको रुपमा घोषणा गर्नुभयो । उत्सव मनाउ, नाचगान गर, बाजा बजाउ, नाच, त्यसका लागि छुट्टी । यो बिदा घोषणा मान्य छैन । हिंसातर्फको गत फागुन १ गतेबाट प्रधानमन्त्रीज्युले माघ मसान्तमा घोषणा गर्नुभयो । यो बसेका घाउका खाका उक्काएर हिंसा शुरु गरिएको दिन कुनै देशको उल्लास उत्सव हुन सक्दैन । अब हिंसा शुरु गरेको दिन हामी भोज खाएर, नाचेर, शहीदका परिवारहरु, शहीदका बच्चा पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने ? तपाईले बिदा केका लागि दिनुभयो ? के हो बिदा भनेको, केका लागि ? नेपाल र नेपाली जनताका लागि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन मञ्जुर छैन । हामी उत्सवको रुपमा मनाउन तयार छैनौँ । हामी छुट्टी मनाइ मनाइकन नाचगान र भतेर गर्न तयार छैनौँ । यो आउने क्याबिनेटबाट निर्णय फिर्ता लिनुस् । बिदा फिर्ता लिनुहुन्न भने यसलाई रद्ध गर्नुहुन्न भने हामीले यसका बिरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।’

अध्यक्ष ओलीले फागुन १ गते केका लागि बिदा हो भन्दै प्रश्न गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?