दुई वटा गीत ल्याएर आए सत्यराज–स्वरुपराज आचार्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो ।

गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिनुभयो । ‘हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौँ । यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ’, गायक सत्यराजले भन्नुभयो । ‘पागलपन’ बोलको गीतमा उहाँलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाउनुभएको छ।

अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिनुभएको छ । गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताउनुभयो ।

‘मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ । यसकारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे । यो चल्नुपर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ’, गायक आचार्यले भन्नुभयो, ‘गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गर्नुभएको छ । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।’

सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गर्नुभएको छ । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?