काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीका प्रतिनिधि मण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग नेपाल-रुसबीच रही आएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
‘व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।’ नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताउनुभयो । नयाँ परिस्थितिमा नेपाल-रुस बीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
रुसी संघको चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने धारणा राख्नुभयो । उहाँले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभई सहजीकरण गर्नुपर्ने बताउनुभएको हो । आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राहृय नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिनुभयो । लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत धारणा राख्नुभयो । विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्याराहरू आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच