सुर्खेत । कर्णालीमा प्राकृतिक तथा मानविय लापारवाहीका कारण आगलागीका घटना बढ्दै गएका छन् । आगलागीका कारण ठुलो जनधनको क्षती समेत बढ्दो क्रममा छ । विगत तीन ३ वर्षको अवधिमा मात्रै कर्णालीमा चार सय ५१ आगलागीका घटनामा परी ४३ जनाको मृत्यु भएको छ । भने ५१ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आगलागीबाट पाँच सय दुई घर नष्ट हुँदा सवा ५६ करोड बराबर क्षति भएको छ । चालु आर्थिक वर्ष मात्रै एक सय ४३ वटा आगलागीका घटना भएका छन् । जसमा परी १७ जनाले ज्यान गुमाइसकेका छन् । भने ११ जना घाइते भएका छन् । झन्डै १२ करोडको क्षति भएको आँकडा छ ।
गत चैत २ गते कालिकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी एकै परिवारका बाबु छोरीको मृत्यु भयो । उक्त घटनामा परी घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको उपचारका क्रममा चैत ७ गते दिउँसो मृत्यु भयो । उहाँकी १२ वर्षीया छोरी हेमन्ती चौलागाईको चैत ५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
घरमुनिको वनमा बाख्रा चराउन गएका बुवालाई दिउँसोको खाजा रोटी पु-याउन गएकी छोरी हेमन्ती पनि वनमा लागेको डढेलोमा परेर जलेकी थिइन् । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।
यस्तै गत चैत २६ गते डोल्पाको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा तीन जना सैनिकको ज्यान गयो । डढेलोमा परेका चार जनामध्ये जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको घटनाको केहिबेरपछि मृत्यु भएको थियो ।
भने गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।
गत चैत २९ गते डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुदाँ डढेलोमा परी तीन जना बालबालिकाको मृत्यु भयो । स्कुल बिदाको समयमा गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिकाले आगलागीबाट ज्यान गुमाए ।
उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा मृत्यु भएको थियो । भने १० वर्षीय सुलश बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडामात्रै १६ लाख ५० हजार रुपैयाँ खर्च भएको थियोे ।
लापारवाहीले अकालमा मृत्यु
सामान्य लापारवाहीले घरमा आगलागी हुने र मानिसको ज्यानै सम्म जाने घटना हुन थालेका छन् । घरमा बालेको आगो राम्रोसँग ननिभाउने, कोठाभित्र संवेदनशिल स्थानमा आगो बाल्ने, वनमा डढेलो लगाउने जस्ता कार्यले मानिससँगै जीवजन्तुको पनि मृत्यु हुने गरेको छ ।
आगलागीको मुख्य कारण नै असावधानी हो । जसको एक उदाहरण हो हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउका ५५ वर्षीय हर्के ऐडीले आगलागीबाट ज्यान गुमाउनु । गत चैत २८ गते राति गाउँभन्दा झन्डै अढाई घण्टा पैदल दूरीको कुरिल्ला लेकको भेडीगोठमा उनको आगलागीबाट मृत्यु भएको थियो । राति सुत्दा आगो ननिभाइकन सुतेका उहाँ आगो फैलिदाँ गोठमा रहेका ६० वटा भेडासमेत मरेका थिए ।
यस्तै गत वर्ष माघ २३ गते जुम्लाको चन्दनाथ नगरपालिका १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको थियो । आगो ननिभाइकनै सुतेका भण्डारी परिवारमा तीन जना घाइते भए । आगो घरको दोस्रो तलाबाट सल्किदाँ घरको तेस्रो तलामा सुतेकी बन्दनालाई स्थानीयले बचाउन सकेनन् ।
यी मानविय क्षतीको उदाहरण भएपनि आगलागीबाट अन्य भौतिक क्षतीतर्फ अरबौंको नोक्सान हुने गरेको छ । डिभिजन वन कार्यालय सुर्खेतका अनुसार मानविय लापारवाहीले आगोजन्य वस्तु असावधानीवश वन क्षेत्रमा छोडिदिदाँ ठूलो क्षती हुने गरेको हो ।
कर्णालीमा हुने अधिकांश आगलागीका घटनामा आगो नियन्त्रण र उद्दारमा ढिलाइ हुने गरेको छ । अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुनु, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुनु र आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको छ ।
कर्णालीका जिल्ला सदरमुकाममा रहेका दमकल सहित सेना तथा प्रहरीको टोली समेत आगलागी हुदाँ समयमै पुग्दैनन् । प्रदेश राजधानी सुर्खेतमै आगलागी हुदाँ समयमै नत दमकल पुग्छ, नत उद्दार टोली नै । त्यसैमा झन् पानीको चरम अभावले आगो नियन्त्रणमा सकस पर्ने गरेको छ । भने अन्य जिल्ला र गाउँमा हुने आगलागी नियन्त्रण गर्न सजिलो छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच