छिपागढमा हाईमास्ट लाइट जडानपछि स्थानीय खुसी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रूपन्देही । रूपन्देहीको रोहिणी गाउँपालिका-४ स्थित छिपागढमा हाईमास्ट लाइट(सडक बत्ती) जडान भएको छ । उक्त लाइटको बिहीबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले उद्घाटन गर्नुभएको हो । यसअघि रोहिणी-३ स्थित धकधई र रोहिणी-२ स्थित बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भइसकेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । ‘उज्यालो रोहिणी’ अभियानअन्तर्गत लाइट जडान गरिएको हो ।

गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम अघि बढेको उहाँले बताउनुभयो । हाईमास्ट लाइट जडानपछि रोहिणी-४ का स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उनीहरूले गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसासमेत गरेका छन् ।

जय माँ काली युवा क्लब रोहिणी-४ का अध्यक्ष अमरनाथ पाण्डेले गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको अगुवाइमा राम्रो काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाईमास्ट लाइट जडानपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छ । राम्रा काममा हामी सहयोग गर्छौं ।’ स्थानीय मोहम्मद रजा पठानले हाईमास्ट लाइट जडानपछि ‘उज्यालो रोहिणी’ अभियानमा सहयोग पुगेको बताउनुभयो । स्थानीय रामकिसुन यादवले हाईमास्ट लाइट जडानपछि दुर्घटना न्यूनीकरण हुने भन्दै गाउँपालिका अध्यक्ष यादवलगायत सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

समाजसेवी तथा रोहिणी-४ का सञ्जय गुप्ताले भैरहवा-परासी सडकखण्डअन्तर्गत छिपागढमा हाईमास्ट लाइट जडान हुनु विकासको नमुना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिपागढ रोहिणीको मुटु हो । सुरक्षाका दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?