दुई वर्ष भित्र सबैको घरमा विद्युत् जडान गर्ने ऊर्जामन्त्री पम्फा भुसालको प्रतिवद्धता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले २ वर्ष भित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । उहाँले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गर्नु भयो । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्‌को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पार्नु भयो ।

विद्युत् खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उहाँको भनाई थियो । मन्त्री भुसालले भन्नु भयो, ‘९५ प्रतिशत जनताको घरमा विद्युत् जडान छ । ५ प्रतिशत घरमा हामीले २ वर्षमा जोड्ने कुरा गरेका छौं । त्यसैेले अव विद्युत् जनताको एकढंगले मौलिक अधिकार हो । उज्यालो भविष्यका निम्ति सबैखाले ऊर्जामा जलविद्युत् प्रयोग गरौं भन्ने हाम्रो अभियान हो । र, हामी यही अभियानलाई यथार्थमा बदल्ने र जनताले सजिलो भाषामा विद्युत्‌को उपभोग, यसको महत्व अनि यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अहिलेको व्यापार घाटालाई सन्तुलित गर्न सक्ने एउटा राम्रो सन्देश यसले दिएको छ । सबैमा विद्युत् खपत गरौं भन्ने यसको सन्देश हो ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युत्‌मा आत्मनिर्भर हुने दावी गर्नु भयो । उहाँले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताउनु भयो । प्रबन्ध निर्देशक घिसिङले भन्नु भयो, ‘२ वर्षपछि हामी विद्युत्‌मा आत्मनिर्भर हुन्छौं । भैले भनिराखेको छु-५ वर्षपछि हामी वार्षिक २ खर्व रुपैयाँ बराबरको विद्युत् निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं ।’

प्रबन्ध निर्देशक घिसिङले विद्युत्‌को खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?