साेह्राैं पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभुत तत्व पहिलो प्राथमिकतामा पर्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार न्युनिकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताउनु भयो । उहाँले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हाँसिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गर्नुभयो । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा बिरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताउनु भयो । उहाँले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताउनु भयो । उहाँले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताउनु भयो । उहाँले संविधानले आत्मसाथ गरेका विषयहरु, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भेनेका थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्नेकुरा लेख्नलाई केले छेक्यो होला ? त्यो मैले अहिले पनि बुझिराखेको छैन । त्यो हामी सबैको साझा एजेण्डा हो । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा हो । त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइरहेका छौँ । हामीले संविधानमा जे-जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वन गर्ने आवधिक योजना यही १६ औं योजना हो । अब यसलाई अंकमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ । वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहोर्‍याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो । भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त । यदी त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ । त्यसो भएकाले यस्ता कुराहरु हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरुलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ।’

पूर्वअर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निमुर्ल गर्नेकुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?