
पाल्पा । संघ र प्रदेशका सभामुख, उपसभामुखहरुको भेला पाल्पाको तानसेनमा भएको छ । शुक्रबारदेखि संघीय संसद् र प्रदेश सभा तथा सचिवालयबीच अन्तर व्यवस्थापिका अनुभव आदान–प्रदान गर्न भेला भएको हो ।
दुई दिनसम्म चल्ने कार्यक्रमको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले केन्द्रमा राजनीतिक दलको समिकरण परिवर्तनले सरकार सञ्चालनमा प्रभाव परेको र संसद प्रभावित हुँदै आएकाले व्यवस्थापिकालाई बलियो बनाउने गरी कानुनहरु निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
‘प्रदेशहरु स्वायत्त भनिएता पनि केन्द्रमा राजनीतिक समिकरण परिवर्तन हुने वित्तिकै प्रदेशहरुमा हलचल पैदा हुने अवस्थाको अन्त्य गरेर जान सकेमात्र संघीयतालाई पूर्ण रुपमा लागु गर्न सकिन्छ’ सभामुख घिमिरेले भन्नुभयो । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरुको आ–आफ्नै नीति ,नियम कानुन अनुसार सञ्चालन भए पनि पछिल्लो समयमा कार्यपालिका र न्यायपालिकाले संसदको अधिकार माथि हस्तक्षेप गर्दै आएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष विमाल घिमिरेले सदनहरुलाई बलियो, तथा प्रभावकारी बनाएर जनताका मुद्दाहरुलाई सम्बोधन गर्न सके मात्र संघीयतालाई दिगो रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभयो । भेलामा संघीय संसद सचिवालयको तर्फबाट उत्तर विधायिकी परिक्षण सम्बन्धी अवधारणापत्र, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले संसदीय बजेट सेवा सम्वन्धी अवधारणपत्र, संविधानविद् काशीराज दाहालले अन्तर व्यवस्थापिका मञ्च सम्बन्धी अवधारणपत्र प्रस्तुत गरेका थिए । भेलामा संघ तथा ७ वटै प्रदेशका सभामुख, उपसभामुख तथा सचिवहरुले आ–आफ्ना अनुभवहरु आदान–प्रदान गरेका थिए । संघीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन भेला महत्वपूर्ण हुने आयोजक लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले बताउनुभयो । भेलाले शनिबार पाल्पा घोषणापत्र जारी गर्ने छ ।
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
रानीमहल संरक्षणका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ । संघीय सांसद ठाकुर गैरे, तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठलगायतले रानीमहल क्षेत्रको कालीगण्डकी नदी कटान र यसले पारेको प्रभावका विषयमा अवलोकनका लागि पुग्नुभएका सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् ।
रानीमहल क्षेत्र परिसरको अवलोकन गरिसकेपछि संघीय संसदका सभामुख घिमिरेलेले रानीमहल संरक्षणका लागि सदनमा प्रतिनिधिसभा र प्रदेशसभाको ध्यानाकर्षण गराउने बताउनुभयो ।
शुक्रबार नै सभामुख देवराज घिमिरे, राष्ट्रियसभाकी उपाध्यक्ष विमाल घिमिरे, ७ वटै प्रदेशका सभामुख तथा उपसभामुख, केन्द्र तथा प्रदेशका सचिवहरुले रानीमहल दरवारको अवलोकन गरेका थिए । दरवार अवलोकन गर्न पुगेका अतिथिहरुलाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा गाहाँ सिंजाली, प्रवक्ता यादव सिंह कार्की, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला वडा अध्यक्ष टुक प्रसाद भट्टराईले पाल्पाली ढाका टोपी र पछ्यौराबाट सम्मान समेत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच