चितवन । चितवनको पर्यटकीय नगरी सौराहनजिकै रहेको बोद्रहनीकी रती महतोले खाना पकाउँदा सिलिण्डर ग्याँसको प्रयोग गर्न थालेको पाँच वर्ष भयो । १७ वर्षअघिदेखि प्रयोग गर्दै आएको गोबरग्याँस प्लान्ट बिग्रिएपछि महतोले सिलिण्डर ग्याँस प्रयोग गर्न थाल्नुभएको हो । उहाँले भन्नुभयो, ‘मर्मत गर्दा गर्दै हैरान भएँ, पछिल्लोपटक पाँच वर्ष भयो, सिलिण्डर ग्याँसमा खाना पकाउँदै आएकी छु । गोबरग्याँस बिग्रिएपछि उहाँले गाईभैंसी पनि पाल्न छाड्नुभयो । अहिले गाईभैंसी पनि छैनन्, गोबरग्याँस पनि चल्दैन ।
बोद्रहनीलाई २०६३ साल साउन २९ गते मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा बायोग्याँस भिलेज घोषणा गरिएको थियो । तत्कालीन अवस्थामा सो बस्तीमा ८२ घरधुरी थिए ।
वन्यजन्तु प्रभावित बोद्रहनी गाउँलाई १७ वर्षअघि बायोग्याँस भिलेज घोषणा गरिएको थियो । यहाँका अधिकांश घरमा बायोग्याँस प्लान्ट निर्माण गरिएको थियो । महतोजस्तै बस्तीका ९५ प्रतिशत घरधुरीले अहिले सिलिण्डर ग्याँसको प्रयोग गर्दै आएका छन् । २०६३ सालमा निर्माण गरिएका अधिकांश गोबरग्याँस अहिले चल्दैनन् । कतिपयले प्रयोग गर्न छाडेर भत्काएर फालिदिए । अधिकांशको गोबरग्याँस बिग्रिएर चल्न छाडे । गाईभैंसी पाल्न छाडेपछि बायोग्याँस भिलेजका बासिन्दाले सिलिण्डर ग्याँसले खाना पकाउन थालेका हुन् । बस्तीकी सुनिता दराईले पनि अहिले सिलिण्डर ग्याँसमा खाना पकाउनुहुन्छ । त्यतिबेला पनि उहाँको घरमा गाईभैंसी थिएनन् । दाउरा लिन जंगल जान पाइँदैन, गोबरग्याँस बनाउनैपर्छ भनेपछि उहाँले गोबरग्याँस राख्नुभयो । करिब ११ वर्ष गोबर खोजेरै बायोग्याँसबाट खाना पकाउनुभयो । तर, दराई भन्नुहुन्छ, ‘चौरमा गोबर टिप्न जाँदाजाँदै हैरान भएँ, त्यसपछि गोबरग्याँस भत्काएर फालिदिएँ ।’
बस्तीका सबैले सिलिण्डर ग्याँसमा खाना पकाउँछन् । सिलिण्डर ग्याँस किन्न हैसियत नभएका अझै पनि जंगलबाट दाउरा ल्याएर खाना पकाउने गर्छन् । बोद्रहनीलाई २०६३ साल साउन २९ गते मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा बायोग्याँस भिलेज घोषणा गरिएको हो । सरकारी मापदण्डअनुसार ८० प्रतिशत घरधुरीमा बायोग्याँस राखिएको अवस्थामा बायोग्याँस भिलेज घोषणा गर्न सकिन्छ । तत्कालीन अवस्थामा सो बस्तीमा ८२ घरधुरी थिए । ६७ घरधुरीमा निःशुल्क गोबरग्याँस प्लान्ट निर्माण गरी बायोग्याँस भिलेज घोषणा गरिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । अहिले करिब १० घरधुरीमा मात्र गोबरग्याँस प्रयोग हुँदै आएको छ ।
बस्तीका ५७ गोबरग्याँस प्लान्ट बन्द भएका छन् । २०६३ सालमा सो बस्तीका अधिकांश किसानले गाईभैंसी पाल्थे । बोद्रहनीमा १५ वर्षमा ८० घरधुरी बढेर एक सय ६२ घरधुरी पुगेका छन् तर अहिले २६ घरधुरीले मात्र परम्परागतरूपमा पशुपालन गर्दै आएका छन् । गोबरग्याँस प्लान्ट निर्माण गरेका १२ घरधुरीले मात्र पशुपालन गर्दै आएका हुन् । उहाँले भन्नुभयो, ‘गाईभंैसी पाल्न छाडेपछि गोबरग्याँसमा भात पकाउन सबैले छाडे, अहिले बस्तीका अधिकांशको चुलोमा सिलिण्डर ग्याँसको प्रयोग हुँदै आएको छ ।’ कमसल सामग्रीको प्रयोग गरेर प्लान्ट निर्माण गरेका कारण बस्तीमा गोबरग्याँस बनाएको पाँच वर्ष बित्न नपाउँदै बिग्रिन सुरु भएको बताइएको छ ।
बोद्रहनी मध्यवर्ती क्षेत्रभित्र पर्ने जंगलले घेरिएको बस्ती हो । सो बस्तीका अधिकांश मानिस जंगलमा आश्रित छन् । दाउराकै लागि जंगल जानबाट रोक्न गोबरग्याँस निर्माण गरी बस्तीलाई बायोग्याँस भिलेज घोषणा गरिएको मृगकुञ्जका अध्यक्ष घिमिरेको भनाइ छ । मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन र तराई भूपरिधि कार्यक्रमको लगानीमा सो बस्तीका हरेक घरधुरीमा छ घनमिटर गोबरग्याँस प्लान्ट निर्माण गरिएको थियो । मानिसलाई जंगल जानबाट रोक्न गोबरग्याँस र वन्यजन्तुलाई बस्तीमा छिर्न नदिन निकुञ्ज र बस्तीको सिमानामा इलेक्ट्रिकफेन्स लगाइएको थियो । सिमानामा इलेक्ट्रिकफेन्स लगाउँदा पनि सो बस्तीमा वन्यजन्तुले दुःख दिन छाडेको छैन भने बस्तीका मानिसहरू घाँसदाउरा लिन जंगल जान छाडेका छैनन् । रत्ननगर ७ का वडासदस्य सूर्यबहादुर तामाङ भन्नुहुन्छ, ‘इलेक्ट्रिकफेन्सले पनि वन्यजन्तु रोक्न सकेन, दिनहुँ हात्ती बस्तीमा पसेर घर भत्काउने र अन्नबाली खाइदिने गरेको छ ।’ घाँस र दाउरा लिन जंगल जानेको संख्या पनि उत्तिकै रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच