
पश्चिमी ईश्वरवाद पनि कम सम्पन्न छैन । पश्चिमीदर्शनका पनि धेरै विद्वान्हरू ईश्वरवादी रहेका छन् । डेकार्ट, वर्कले, प्रींगल पेटिसन, सोरले, जेम्सवार्ड, जुलिमनवेव, प्लिन्ट आदि दार्शनिकहरू ईश्वरवादी थिए भनिन्छ । चीनको कन्फ्युसियसको सदाचार शिक्षा र लाओत्सेको परमात्माको खोजले पनि ईश्वरवादलाई समर्थन गर्दछ । त्यस्तै साहित्यशास्त्रको कुरा गर्दा प्लेटो, अरस्तुको समालोचना र दर्शनशास्त्रीय चिन्तन, किर्केगार्डको अस्तित्ववाद, नित्सेको ईश्वरको मृत्युको घोषणा ईश्वरवादी चिन्तनभन्दा बाहिरका कुरा होइनन् ।
यसैगरी ईश्वरकै चर्चामा पश्चिमी दार्शनिक हेगेलले पनि ईश्वरलाई विश्वको मूलतत्त्व, पूर्ण प्रत्यय स्वरूप आत्मचेतनलाई ईश्वर मान्नुपर्छ त्यो ईश्वर विश्वव्यापी र विश्वातीत छ । विश्वमा ईश्वर र ईश्वरमा विश्व व्यापक छ भनेर मानेका छन् । वेद, उपनिषद् र गीता दर्शनको निचोडको मान्यता हो ईश्वर पुरुष रूपमा छ, विश्वव्यापी छ, विश्वातीत छ, यो ईश्वरवादी चिन्तनको आधार ऋग्वेद नै हो । ऋग्वेद, यजुर्वेद हुँदै उपनिषद्मा आउँदा ईश्वरवादको विशिष्ट रूप देखा पर्दछ, जो हिजो भयो, जो आज भइरहेको छ र जो भविष्यमा हुनेवाला छ त्यो सबै परम पुरुष परमात्मामा विद्यमान छ । यही कुरालाई गीतामा यो सारा जगत् अव्यक्त रूपमा मैद्वारा नै व्याप्त छ, सबै भूत ममा अडेका छन् म भूतमा अडेको छैन (गीता ९/४) भनेर ईश्वरले आफूमै सारा जगत्को नियन्त्रण रहेको मानेका छन् ।
हाम्रो पौरस्त्य वाङ्मयको प्रारम्भ नै वेदबाट भएको र वेदलाई अपौरुषेय रचना मानी वेदको रचना ईश्वरबाट भएको हो भन्ने हाम्रो विश्वासको प्रमाणलाई अङ्गीकार गरेपछि मात्रै पौरस्त्य वाङ्मयको चर्चामा सामेल हुने अधिकार प्राप्त हुन्छ । ईश्वर छ वा छैन भनेर दर्शनशास्त्रमा सबैभन्दा बढी चर्चा हुने गरेकाले साहित्यमा पनि ईश्वरीय तत्व के हो ?
वैदिक साहित्यले अनेक देवताको आराधनाको अवस्था देखाएर प्रत्येक देवतामा ईश्वरको रूप मान्यो र अनेकेश्वर वादले वैदिक साहित्यमा प्राथमिकता पायो । अग्नि, जल, सूर्य, पृथ्वी, वायु आदि शक्तिको उपासनाको विश्वासमा हाम्रो सभ्यता अड्यो । हामी अनेकेश्वरवादी भयौँ । वेदपछिको औपनिषदिक युगमा ती धेरै प्रकारका देवता, ब्रहृम, आत्मा, परमात्माका रूपमा विश्वासका आधार बने । ब्रहृम साक्षात्कार वा ब्रहृम प्राप्तिलाई आधार मानेर अनेक प्रकारका देवी देवताहरू जो वेदमा ईश्वरकै रूपमा थिए तिनलाई ब्रह्मतत्त्वका द्वारपालजस्ता मानिए । तापनि ईश्वरलाई पनि मान्ने श्वेताश्वतर, कठ आदि उपनिषद् धाराहरू पनि विद्यमान रहे ।
उपनिषद्ले परब्रहृम र अपरब्रहृम भनेर पहिलो शक्ति परब्रहृमलाई भन्यो जुन हामीले आमरूपमा मान्ने ईश्वर हो अनि अपरब्रहृम भनेर केही सीमित क्षमता सम्पन्न देवताहरूमा निहित ईश्वरीय गुणलाई मान्यो र अपरब्रहृमको पनि आराध्य तत्व परब्रहृम हो भन्ने मान्यताले बढी महत्व पायो । यो उपनिषद्कालीन ईश्वरीय चिन्तनको अवस्था भगवद्गीतामा आइपुग्दा परब्रहृम नै विश्वरूप ईश्वरको रूपमा व्याख्या भयो । श्रीकृष्णले भने ईश्वरः सर्वभूतानां हृद्देशेद्रर्जुन तिष्ठति, भ्रामयन्सर्व भूतानि यन्त्रारुढानि मायया (गीता, १८/६१) ।
विश्वका सबै प्राणीका हृदयमा ईश्वरले वास गर्दछन् भनेर परब्रहृम ईश्वर अपरब्रहृम ईश्वर दुवैको व्यापकतालाई एकमा अनेक र अनेकमा एक रूपको ईश्वर तत्वलाई सर्वेसर्वा ठान्ने काम भयो । मानवजीवनको निम्ति ज्यादै उपयोगी र व्यावहारिक मानिएको भगवद्गीता, दर्शन र साहित्यको अनुपम कृति हो जहाँ ईश्वरलाई परमसत्य, यो सृष्टिको नैतिक व्यवस्थापक, प्राणीमात्रको कर्मका अनुसार सुख दुःखको व्यवस्था गर्ने कर्मफल दाता मानियो र भनियो-परित्राणाय साधूनां विनाशायच दुष्कृताम्, धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे (गीता, ४/८) ।
अर्थात् हामी सबै प्राणी ईश्वरको निगरानीमा छौँ । हामी सबैको सुखदुःखमा ईश्वर साथमा छन् । तर यसो भनेर हामी सबै ईश्वर पनि होइनौं, ईश्वर हामी सबैका सबै अवस्थाका सहयोगी पनि होइनन् बरू कर्म गर्न, सत् कर्म गर्न र कर्तव्य कर्म गर्न हामीले नै सक्रियता देखाउनु पर्दछ भन्ने ईश्वरको सन्देश छ । ईश्वरले भने प्रकृति मेरै रूप हो (गीता, ९/८) सबै जीवमा रहने जीवात्मा मेरै सनातन अंग हुन् (गीता, १५/७) । त्यसैले हे प्राणीहरू सर्व धर्मान् परित्यज्य मामेकं शरणं व्रज, अहं त्वांसर्व पापेम्यो मोक्षपिष्यामि मा शुचः (गीता, १८/६६) । सबै प्रकारका धर्महरूको पनि धर्म मै हुँ भनेर श्रीकृष्णले एकातिर व्यक्त रूपको शक्ति र अर्कोतिर अव्यक्त रूपका ईश्वरको सर्वेसर्वात्वलाई व्याख्या गरे । गीताले ईश्वरलाई सुन्दर र भयानक दुवै हुन्छ भनेर मानेको छ । ईश्वरको विराटरूपको दर्शन त्यसको दृष्टान्त हो ।
हामी अलि बढी आध्यात्मिक भएर हेर्दा ईश्वरको भक्तिवादी रूप जो बढी अव्यक्त छ र अलि व्यावहारिक भएर हेर्दा ईश्वरको व्यक्त रूप जो बढी प्रिय छ, व्यक्त रूपले कर्ममा प्रेरित गर्न खोज्दछ र सबै प्रकारको प्राकृतिक नियमलाई नै मान्न लगाएर प्रकृतिको पनि कर्ता रहेको अव्यक्त ईश्वरकै अवस्था बुझ्न मानिसलाई प्रेरित गर्दछ । हामी गीताको ईश्वरीयताको भक्तिमार्गी व्याख्यामा असहमत भए पनि प्रकृतेः क्रियमाणानि गुणैकर्माणि सर्वशः (गीता, ३/२७) अर्थात् यी सबै कुराहरू त प्रकृतिकै नियमअन्तर्गतका कुराहरू हुन् भन्ने मान्यता र कर्म गर फलको अपेक्षा नगर (गीता, २/४७) भन्ने सन्देशबाट पर जान सक्दैनौं । त्यहाँ पनि त्यो ईश्वरीय तत्वले उत्तिकै शक्तिले काम गरिरहेकै छ ।
हामी दर्शनको विभाजन र वर्गीकरणको चरणमा आएपछिको ईश्वरीय सत्ताको रूपमा विभिन्नता छ । त्यहाँ ईश्वरको सत्ता र असत्तामा पनि उत्तिकै तर्कहरू भएका छन् । ईश्वरलाई सशर्त मान्नेदेखि लिएर ईश्वरलाई प्रकारान्तरले मान्ने, ईश्वरलाई मान्दिन भनेर मान्ने, ईश्वरलाई नै मान्ने लक्ष्यमा भएका विभिन्न वर्गीकरणहरूले के कुराको निश्चय नै गर्दछन् भने हामी ईश्वरको चिन्तन र चर्चाबाट कसैगरी पनि टाढा जान सक्दैनौँ । चार्वाक, बौद्ध र जैन दर्शन र तिनीहरूबाट अनुप्राणित साहित्यले ईश्वरीय सत्तालाई अस्विकार गर्ने कुरालाई महत्व दिए । चार्वाकहरूले भने ईश्वरको स्थान कतै छैन किनकि ईश्वर कतै देखिँदैन ।
प्रत्यक्ष गोचर नहुने वस्तुको सत्ता छैन भन्ने मान्यताले केही समर्थन पाए पनि त्योभन्दा धेरै त्यसका गम्भीर विरोधाभासहरूले यो मान्यतालाई खण्डन गर्दछन् । बौद्धका पनि हीनयानीहरूमा अनीश्वरवादको बढी चर्चा भयो तर महायानीहरू ईश्वरवादको साथ लागेरै रहे । त्यस्तै रहृयो जैनहरूको मत पनि । तर बौद्ध र जैन धर्मबाट विकसित भएका दर्शन र साहित्यले ईश्वरीय सत्तालाई अस्विकार गर्न सम्भव देखिँदैन । किनभने धर्म भनेको नै एक प्रकारले ईश्वरमा आस्था गर्नु हो । आस्तिक वर्गमा पर्ने दर्शनहरूले कुनै न कुनै रूपमा ईश्वरको अस्तित्वलाई स्वीकार गरे ।
केही समय पहिले हाम्रो मुलुकमा महाभूकम्प भयो । त्यो समयमा हामी थियौँ हाम्रो भित्र हाम्रो ईश्वर थियो । त्यसबाहेक हाम्रो प्राथमिकतामा रहेका भनिएका कुनै पनि वस्तु, विचारहरू हामीसँग थिएनन् । त्यो अन्तिम क्षणमा हामीले त्यही तत्वलाई मात्र सम्झियौँ अनि त्यही तत्वमाथि मात्र हाम्रो भर रहृयो । हो त्यही तत्व हामी त्यसलाई जे नाम दिन पनि सक्छौं वा नदिन पनि हामी स्वतन्त्र छौँ । त्यसलाई ईश्वरीय तत्व मिल्छ भन्ने हाम्रो तर्क हो । हामी केही मान्दैनौं धर्म, कर्म वा यस्ता कुनै उपाधि तत्वहरूमा हामीलाई विश्वास छैन भन्नेहरूले पनि आफ्नो जीवनको ज्यादै सङ्कटको समयमा केहीमा मन अड्याउन वा भर गर्न चाहन्छ त्यो तत्त्व के हो त ? के हाम्रा तमाम बौद्धिक र तार्किक जिद्दीहरूले त्यो तत्वप्रतिको अनुरागलाई सर्वथा जित्न सकेका छन् त ? जित्न सकेका छन् भने त्यो महाज्ञानी, परिनिर्वाणी हो त्यसलाई स्वयं ईश्वर मान्न सकिन्छ अन्यथा मानिस मात्रको क्षमताभन्दा धेरै परको त्यो तत्वमा मेरो कुनै पनि विश्वास छैन भन्ने सामथ्र्य सम्भवतः हामी कसैसँग छैन ।
ईश्वर र व्यावहारिक आस्था
ईश्वर छ छैन भन्ने मोटामोटी बहस र ईश्वर कस्तो रूपमा छ ? भन्ने अझ मसिनो बहसले ईश्वरीय चिन्तनलाई धेरै व्यापक पारेका छन् । हाम्रो पौरस्त्य वाङ्मयको प्रारम्भ नै वेदबाट भएको र वेदलाई अपौरुषेय रचना मानी वेदको रचना ईश्वरबाट भएको हो भन्ने हाम्रो विश्वासको प्रमाणलाई अङ्गीकार गरेपछि मात्रै पौरस्त्य वाङ्मयको चर्चामा सामेल हुने अधिकार प्राप्त हुन्छ । ईश्वर छ वा छैन भनेर दर्शनशास्त्रमा सबैभन्दा बढी चर्चा हुने गरेकाले साहित्यमा पनि ईश्वरीय तत्व के हो ? भन्नेदेखि प्रारम्भ भएर ईश्वरीय आयामका विषयमा स्रष्टा र सिर्जना केन्द्रित हुन सम्भव छ । सामान्य अवस्थामा इहलोक र परलोकको कल्पना, त्यसमा ईश्वरीय तत्वलाई सृष्टि र जीवनसँग जोडेर हेर्ने अनि प्रत्येक सम्भावनालाई आध्यात्मिक र भौतिक दृष्टिकोणबाट विवेचना गर्ने काम साहित्यको उद्देश्य भएको हुन्छ । जीवनको पृष्ठभूमिमा निर्मित कर्महरूका आधारमा परलोक बारेको सौन्दर्य र सुरक्षा निर्धारण गर्नेतर्फको चिन्तनले एकथरि विचारलाई सम्प्रेषण गरिरहेको हुन्छ भने त्यसको विपरीत उभिएर यही लोक र जीवनको नियमित आकस्मिकतालाई मानेर अर्कोथरि विचारलाई सम्प्रेषण गरिएको हुन्छ ।
त्यसमध्ये समग्र आध्यात्मिकतालाई स्वीकार गरेर त्यसभित्र ईश्वर, आत्मा, स्वर्ग, मोक्ष, जीवन, जगत्, सुख-दुःख, कर्म र प्रारब्ध, नियति, कर्तव्यलाई भाग्यसँग जोडेर निर्धारण गर्ने जीवनको बाटो एक किसिमको हुन्छ । जस विषयमा दर्शनको आध्यात्मिक मार्गले दिशा निर्देश गर्दछ । त्यस्तै दर्शनकै पनि इहलौकिक चिन्तनलाई आधार मान्दा माथिका तमाम कुराहरूको विपक्षमा तर्कहरू खडा गरिन्छन् र प्रत्येक वस्तुको निरर्थकता सिद्ध गरेर मानव जीवन र यसका कर्मलाई उपयोगितावादी दृष्टिले मात्र औचित्यपूर्ण मान्ने प्रयत्न गरिन्छ । तर यी दुवै चिन्तन पूर्वीय दर्शनकै मान्यता अन्तर्गतका अध्यात्मवादी र भौतिकवादी जीवन दृष्टिहरू हुन् । यस अर्थमा पूर्वीय दर्शनले नसमेटेको दार्शनिक धार छँदै छैन । व्याख्या गर्ने शैली र तर्कहरूले मात्र अध्यात्मवादी र भौतिकवादी दर्शनहरू टाढाका दुई अपरिचित यात्रीहरू हुन् कि जस्ता लाग्नेमात्र हुन् । क्रमशः
हार्दिक बधाई सर