काठमाडौं । काठमाडौं उपत्यका भित्रका कैयौँ बस्ती वर्षेनी डुबानमा पर्ने गरेका छन् । जताततै विकासका नाममा ढल पनि हालिएको छ, सडक कालोपत्रे पनि देखिन्छ तर झरी पर्न थालेपछि आसपासको क्षेत्र पूरै डुब्छ र सवारी आवागमन अस्तव्यस्त बन्छ । यस्तै नियति काठमाडौं बूढानीलकण्ठ वडा नम्बर १० मा रहेको कपनले पनि भोग्दै आएको छ । बुधबार कपनका स्थानीयले डुवानको यस्तै समस्या भोगेका छन् ।
हुन त पूर्ण रूपमा वर्षा अझै सुरु भइसकेको छैन । छिटफुट पानी मात्र परिरहेको छ । तर, छिटफुट पानीमै कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोलाले यहाँका सयौँ घर डुवाइदिएको छ । हुन त कपन क्षेत्र वर्षेनी यसरी डुबानमा पर्दै आएको छ । तर, मध्य वर्षामा हुने यस्ता डुवान यो वर्ष वर्षापूर्व नै भएको हो । साबिकको कपन गाविसमा पर्ने यो क्षेत्र संघीय संरचनाअनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १०, ११ र १२ भित्र पर्छ ।
आरुबारी देखिको सतासले करिब नदीकै रूप लिने खहरेमा वर्षाको पहिल्यै दिन बुधबार दिउँसो आएको बाढी नै आतंकको पर्याय भएको छ । बुनपा-१० को मिलनचोक र कामनपाको वडा नं ६ को सरस्वतीनगर पश्चिमदेखि धोवीखोलासम्म यतिखेर ढल खोल्ने नाममा खोला थुन्ने काम भएको छ । बुनपा वडा नं १०, ११ र १२ हुँदै कामनपा-६ सरस्वतीनगर पश्चिमको बीच भएर बग्ने ठाडो खोलालाई भूमिगत बनाएर विगतमा बनाइएको बाटोका कारण सतासले सही निकास पाउन सकेको छैन । प्रत्येक वर्षामा आउने बाढीको कहर भोग्न त्यहाँका करिब एकहजार घरपरिवार बाध्य छन् ।
गतवर्ष बाढीको दबाब अलि बढी भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सक्रियतामा खोला भत्काउने काम भयो । तर, अर्कोपट्टिका नागरिकलाई पर्ने असरका विषयमा वुनपासँग सहयोग, संवाद केही पनि नभएको गुनासो सुनिने गरेको थियो । अहिले राजधानी राष्ट्रिय दैनिकदेखि माथि फैकासम्म नै खहरे भत्काएर पर्खाल बनाउन थालिएको भए पनि मिलनचोक तलको भागमा चारैतिरको माटो थुपारेको र खोला पूरै पुरेको अवस्था छ । उपत्यका विकास प्राधिकरणले करिब २८ करोडको लागतमा खहरेलाई व्यवस्थित गर्ने भनी काम थालेको करिब आठ महिना भइसक्दा पनि काम भने कछुवा गतिमा देखिएको छ । दुवैतिर पर्खाल लगाउने, पर्खालका लागि खोला भित्रैबाट डण्डी ठड्याउने, चारैतिरको माटो बीचमा नै थुपार्ने र ढल थुन्ने, सानो बाढी आएमा पनि तत्काल नै खहरेको वरिपरि घरभित्र नै पुग्ने, शौचालयहरू पुरिने, भुइँतला डुवानमा पर्ने अवस्था आएको छ ।
महानगरपालिकाले भत्काउने मात्रै काम ग¥यो तर बनाउने काममा सक्रियता नदेखाएको गुनासो स्थानीयवासीको छ । स्थानीय मणिराज वाग्ले योजनाविहीन विनाशले विकास हुँदैन भन्ने खहरेको दुर्दशाले पुष्टि गरेको बताउनुहुन्छ । नारायणचोक निवासी वेदमणि भन्नुहुन्छ, ‘यो वर्षाले घर छिर्नै नसक्ने हो कि भन्ने भय उत्पन्न गरेको छ । वर्षा सुरु हुनुअघि नै व्यवस्थित हुनुपर्ने खहरे झन् अव्यवस्थित भएको छ ।’
नागरिकको समस्यालाई सम्बोधन गर्ने मनसाय खहरे भत्काउनेहरूमा देखिएन : भट्टराई
बूढानीलकण्ठ वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई खोला वरिपरि नौ मिटर बाटो हुनुपर्ने भनेर भत्काइए पनि अरू पाँच मिटरको कुनै योजना नभएको गुनासो गर्नुहुन्छ । हिटासँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘योजनाबद्ध तरिकाले खहरे समस्याको निकास खोज्नुपर्नेमा कुनै त्यस्तो योजना नभएको र नागरिकको समस्यालाई सम्बोधन गर्ने मनसायभन्दा पनि काम देखाउने अहंकारले खहरेको यो दुर्गति भइरहेको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘हामीले बारम्बार योजनाका विषयमा कुरा गर्यौँ, महानगरपालिकासँग समेत संवादको प्रयास ग¥यौँ तर कोही पनि केही भनिरहेका छैनन् । कुनै उत्तर पाइएको छैन ।’ अहिले बन्न लागेको खहरेको पर्खालले पनि समस्याको समाधान हुने अवस्था नरहेको उहाँको भनाइ छ । नागरिकले झन् कष्ट भोग्नुपर्ने देखिन्छ । नगरपालिका यसमा गम्भीर भएको छ र कमसेकम बुनपा-१० का नागरिकलाई खहरेको पिलोले दुःख नदेओस् भन्नेमा सचेत छ, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच