बेसहाराको सहारा बन्दै तमानखोला गाउँपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । गत वैशाख १४ गते गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका-२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते हुनुभयो । घाइते बुढा मगर र घर्ती मगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परि मृत्यु हुनु भएका देवसिंहको पारिवारीक अवस्था निकै कमजोर छ । ज्याला मज दुरी गरि परिवारको लालनपालनमा गर्दै आउनु भएका कामको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ ।

समस्यामा परेको कामी परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरि रहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो छन् । घाइते दुवै जनाको उपचारका लागि ७५/७५ हजार सहयोग गरेको छ । मृतक कामीको आर्थिक अवस्था कमजोर भएको हुँदा गाउँपालिकाले उहाँका कान्छा छोरा टोप बहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने भएको छ । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्नुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नु भएको छैन ।

गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह संचालन गरेर अनाथ तथा बेसराहा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको छ । आर्थिक वर्ष कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पनि गाउँपालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनु भएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।

“बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नु भएको थियो, जसोतसो पढाउँदै आउनु भएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो” विकले भन्नुभयो - “मैले मेहनत गरेर पढ्नु पर्छ, बाबाले देखेको सपना पुरा गर्ने र्छु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।”

गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह संचालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सिपमुलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढा मगर बताउनुहुन्छ । गाउँपालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह संचालन गरेको उहाँ बताउनुहुन्छ ।

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका छन् । बालबालिकाहरुको पढाईमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह संचालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरि काम गरि रहेको अध्यक्ष बुढा मगरको भनाइ छ ।

“खासगरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र दिशक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ” अध्यक्ष बुढा मगरले भन्नुभयो - “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाईमा पनि धेै सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरि बनाउने हाम्रो जिम्मेवारी हो, सोही अनुसार काम गरि रहेका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?