बुद्ध भन्नाले सिद्धार्थ गौतम होइनन् । बुद्ध त्यस्तो व्यक्तिलाई भनिन्छ जसले संसारलाई प्रतिशोध र पक्षपातबिना हेर्छ, जो प्रबुद्धको स्थितिमा पुग्छ यो बुझाइको साथ कि म मानव पीडाबाट मुक्त भइसकेको छु, म जन्म र मृत्युको चक्रबाट मुक्त भइसकेको छु भन्ने ठान्छन् ती बुद्ध हुन् । बुद्ध ऊ हो जो बोधी अर्थात् बौद्धिक र नैतिक पूर्णताको आदर्शकोे स्थितिमा पुग्छ । बुद्ध शब्दको शाब्दिक अर्थ हो प्रबुद्ध ज्ञाता । गौतम बुद्ध अगाडि २७ वटा बुद्ध जन्मिसकेका थिए । सिद्धार्थ गौतमको अलावा ककुसन्ध बुद्ध र कोनागमन बुद्ध नेपालमा जन्मेका हुन् । ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छन्द बुद्ध भनिन्छ । यो भद्रकल्पको यिनी प्रथम बुद्ध हुन् ।
यिनको जन्म खेमावतीमा भएको थियो जसलाई अचेल गोटिहवा भनिन्छ । यिनी २२औं बुद्ध मानिन्छन् । पिता अग्निदत्त खेमावतीका राजा खेमंकरका ब्राहृमण पुरोहित थिए । उनकी आमाको नाम विशाखा र पत्नीको नाम विरोचमना र पुत्रको नाम उत्तर थियो । शिरिष वृक्षमुनि उनले ज्ञान प्राप्त गरेका थिए । पहिलो उपदेश मकिला नामक गाउँको एउटा बगैंचामा उनले ८४ हजार भिक्षुलाई दिएका थिए भनिन्छ । सम्राट अशोकले गोटिहवामा स्तुप गाडेका थिए । कोनागमन बुद्ध यो कल्पको दोस्रो बुद्ध हुन् ।
पालीमा कोणागमन भनिए पनि संस्कृतमा कनकमुनि, कोणागन, कनकगामना पनि भनिन्छ । सोभवती नगरमा यज्ञदत्त ब्राहृमणकी भार्या उत्तराको गर्भबाट सुभगवती उद्यानमा उनको जन्म भएको थियो । अहिले जसलाई निग्लिहवा भनिन्छ । यहाँ पनि अशोक स्तम्भ छ । यसरी यो कलियुगमा तीन वटा बुद्ध हाम्रो कपिलवस्तुमा जन्मेका थिए । आजको परिचर्चा सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको हो ।
जबसम्म ध्यानी नजिक आउँदैन तबसम्म उसलाई लाग्छ पर्दा छैन तर धेरै नजिक आएपछि मसिनो पारदर्शी पर्दा देखिन्छ । त्यो पल बचेको अहंकारलाई त्याग गर्नुपर्छ । गौतम बुद्धले यसलाई त्रिरत्न भनेका छन् । बुद्ध भन्नाले गौतम बुद्ध होइनन्, बुद्ध भन्नाले बुद्धत्वको शरणमा जाने वा बुद्धत्वप्रति समर्पित हुने हो ।
बुद्धको तीन महावाणी सबैलाई थाहा छ-बुद्धं शरणम् गच्छामि, संघं शरणम् गच्छामि, धम्मं शरणम गच्छामि । जुन पनि कार्यको लागि समर्पण जरुरी छ चाहे त्यो पारिवारिक होस्, सामाजिक होस्, शासकीय होस् वा भक्तिमार्ग र ध्यानमार्गको होस् । पवित्र मनले निस्वार्थ भएर, बिनाकुनै आकांक्षाको समर्पण गर्नु मुक्तिको मार्ग हो । समर्पणका लागि अहंकारलाई त्याग्नुपर्छ । मबाहेक अरू कोही वा मैले चाहेको व्यक्तिबाहेक अरू कोही बालुवाटारको गद्दीमा बस्न पाउँदैन भन्ने अहंकारले विग्रह ल्याइरहेको छ । म नै सर्वेसर्वा हूँ, यो शासनमा मेरो नै राज हुनुपर्छ भन्ने भावना अहंकार हो, जबसम्म यो अहंकार रहन्छ तबसम्म न त त्यो नेताकोे व्यैक्तिक विकास हुन्छ न त मुलुकको नै ।
जे होस्, हामी कुनै मन्दिर वा पूजाकोठा वा गुम्बामा जान्छौं तब आफूभित्रको अहंकारलाई विसर्जन गरेर जानुपर्छ, पुनः त्यो विसर्जन गरेको अहंकारलाई हाम्रो मस्तिष्कको ढोकामा प्रवेश गर्न दिनुहुँदैन । यदि सच्चा मनले हामी ईश्वरप्रति पूर्णसमर्पित भएर भक्ति गर्छौं भने हाम्रो अहंकार विसर्जित हुन्छ । मुख्य कुरा समर्पण हो, हामीले मन मस्तिष्कले चाहे देशको पक्षमा होस्, चाहे जनताको पक्षमा वा ईश्वरको पक्षमा पूर्ण रूपमा समर्पित भई भक्तिभावनाले कर्म गर्छौं वा ईश्वरको आराधना गर्छौं भने हामीले चाहेको गन्तव्य प्राप्त गर्छौं । यदि अरूबाट निर्देशित भएर वा आफ्नो व्यक्तिगत स्वार्थ प्राप्तिका लागि जनताजनार्दन र यो मुुलुकको सेवाका लागि समर्पित छु भनेर ढाँटेर चुनाव जिती सत्तामा गएको हो भने कसैको भलो गर्दैन न त गन्तव्यमा नै पुग्न सकिन्छ ।
भक्ति एउटा सुविधा हो चाहे देशप्रति होस् वा ईश्वरप्रति । यदि अन्तर मनले भक्तिभाव जागृत हुन्छ भने यसले अहंकारलाई ढालिदिन्छ । भक्ति ईश्वरको धारणा हो तर ध्यानी हिँड्छ बिनाधारणाको । त्यहाँ अहंकार समाप्त हुन्छ । अन्तिम पल जब अहंकार बाँकी रँहदैन, जब मानिस सहस्रारमा पुग्छ तब अहंकार समाप्त हुन्छ । यति पारदर्शी कि अनेकौंलाई लाग्न सक्छ त्यहाँ पर्दा नै छैन । जबसम्म ध्यानी नजिक आउँदैन तबसम्म उसलाई लाग्छ पर्दा छैन तर धेरै नजिक आएपछि मसिनो पारदर्शी पर्दा देखिन्छ । त्यो पल बचेको अहंकारलाई त्याग गर्नुपर्छ, अन्तिम घडीमा ।
गौतम बुद्धले यसलाई त्रिरत्न भनेका छन्, बुद्धं शरणम् गच्छामि, संघं शरणम् गच्छामि, धम्मं शरणं गच्छामि । पहिलो समर्पण बुद्धलाई । बुद्ध भन्नाले गौतम बुद्ध होइनन्, बुद्ध भन्नाले बुद्धत्वको शरणमा जाने वा बुद्धत्वप्रति समर्पित हुने हो । एकचोटि एकजनाले बुद्धलाई सोधे, तपाईं त भन्नुहुन्छ कसैको शरणमा जानु आवश्यकता छैन तर तपाईं जब मानिसहरूको सामु आएर बस्नु हुन्छ मानिसहरू भन्छन्, बुद्धं शरणम् गच्छामि ? यसभन्दा तपाईं मौन बस्नुहुन्छ, मौन बस्नु भनेको सम्मति जनाउनु होे । तपाईले यसलाई अस्वीकार गर्नुपथ्र्यो ।
बुद्धले भने, यिनीहरू मेरो शरणमा आउँछन् भने अस्वीकार गरुँ ? अनि मेरो शरणमा आउँछन् नै किन ? किनकि म त छैन, उनीहरू बुद्धत्वको शरणमा जान्छन् । बुद्ध अतीतमा पनि भएका थिए, बुद्ध आज पनि छन्, बुद्ध फेरि पनि हुनेछन् । ती सबैको सारभूत तत्वको नाम बुद्धत्व हो । जो कहिले जागेका थिए, कुनै दिन फेरि जाग्नेछन् र जागिरहेका छन्, त्यही जागरणको नाम बुद्धत्व हो । बुद्धको कुरा सुनेर ती व्यक्तिले सोधे अनि तपाईंकै चरणमा आएर किन भन्छन् त ? जहाँ भने पनि हुन्छ नि ।
बुद्धले भने यो कुरा उसैलाई सोध, यो उसको समस्या हो । उसलाई सबै ठाउँहरूमा देखिँदैन, ममा मात्र देखिन्छ । ठीक छ, यहीँबाट त सुरुवात भयो, कहीँबाट त सुरु हुने नै थियो । निहुरिन कहीँ त सिक । आज ममा देखिएको छ, भोलि अरू कसैमा देखिनेछ, पर्सी अरू कसैमा । यसरी उसको दृष्टि विशाल हुनेछ । एक ठाउँमा हीरा देखिएपछि धेरै ठाउँहरूमा पनि देखिने छ । एक पटक हीराको ठीक ठीक पहिचान भए सुनारकहाँ पनि देखिन्छ र हीराको खानीमा पनि देखिन्छ । सफा हीरा पनि देखिन्छ र कालो हीरा पनि देखिन्छ ।
बुद्धको शरणबाट संघको शरणमा जानु भनेको, पीपलको रुखलाई नमस्कार गथ्र्यौं अब जुन बीजबाट वृक्ष निस्क्यो त्यो बीजलाई नमस्कार गरिरहेका छौँ । संघ नभएको भए आज सत्य कसरी प्राप्त भयो, संघको अर्थ जसले सत्यलाई खोजिरहेको छ उनीहरूको गन्तव्य हो धम्म ।
हिजो राजाप्रति जनता झुक्थे, आज पनि झुक्छन् तर आजका नेताहरू, आज आफूहरूलाई महाराजा ठान्ने महाराजाहरूप्रति जनता झुक्नुको सट्टा थुक्ने गर्छन् । किन ? किन अहिलेको शासक वर्गमा जनताको समर्पणको भावना छैन । किन झोलेहरूबाहेक आमजनताले यिनीहरू प्र्रति निर्दिष्ट गरेर त्वम् शरणं गच्छामि भन्न सक्दैनन् ? किनकि आजका शासक वर्ग र नेताहरूमा न यो देशप्रति र न त जनताप्रति समर्पणको भावना छ, न त्यागको । यिनहरूको समर्पणको भावना विदेशी शक्तिहरूप्रति मात्र छ, आफ्नो स्वार्थका लागि उनीहरूका सामु आफूलाई समर्पण गर्छन् । देउतालाई अपहेलित गरेर दानवहरूप्रति समर्पणको भावना राख्नेहरूलाई जनताले कहिल्यै समर्पणको भावनाले हेर्दैनन् । अस्तु । अनि बुद्धले भने, यदि उनीहरूमा ममा बुद्धत्वको झलक देखा पर्दछ भने ठीकै छ । आज यहाँ देखे, भोलि अन्त कतै पनि देखिने छ, फेरि त चारैतिर देखिनेछ ।
पहिलो कुरा हो समर्पण, हामी चाहे कुनै ईश्वरप्रति वा कुनै देवीदेउताप्रति वा प्रकृतिप्रति समर्पणको भावना मन मस्तिष्कबाट गर्नुपर्छ । जहाँ मनमस्तिष्कबाट आफूलाई पूर्णरूपेण समर्पण गर्छौं त्यही दिनबाट हाम्रो अहंकार खस्न प्रारम्भ गर्नेछ । बिहान उठ्ने बित्तिकै हामी झ्यालबाट सूर्यलाई नमस्कार गर्छौं । झ्यालबाट नमस्कार गर्नु भनेको झ्याललाई नमस्कार गर्नु होइन् । सूर्यलाई नमस्कार गर्नु हो । हामी हाम्रो जीवनको स्रोत सूर्यप्रति समर्पित भएर नमस्कार गरेका हौं न कि झ्याललाई ।
हामीलाई लाग्न सक्छ झ्यालको कृपाले सूर्यको दर्शन भयो । यसका लागि यदि हामी झ्याललाई धन्यवाद दिन्छौं भने त्यो धन्यवाद सूर्यलाई दिएका हुन्छौं । झ्याल त एउटा माध्यम हो सूर्र्यदर्शनको । झ्याल एउटाद्वार हो जसले सूर्य दर्शन गर्न बाधा दिएन । पहिलो समर्पणका भावना हो बुद्धं शरणम् गच्छामि ।
दोस्रो समर्पण हो संघं शरणम् गच्छामि । संघ स्थूल प्रतीक हो जो जसले बुद्धबाट दीक्षा लिएका छन् उनको शरणमा जानु तर यसको मूल अर्थ हो जो स्रोतमा प्रवेश गरेका छन् जसलाई स्रोतापन्न फल प्राप्त भएको छ, जसले सन्यास लिएका छन्, सन्यास अर्थात् जसका लागि धन, सम्पत्ति, पद, परिवार आदि मूल्यहीन छन्, जो स्थूलबाट सूक्ष्मको यात्रामा निस्केका छन्, जो ध्यानमग्न छन्, जो अमृतको खोजीमा छन्, अँध्यारोबाट प्रकाशतिर मृत्युबाट अमृततिर, असत्यबाट सत्यतिर अग्रसर छन् ती सन्यासी वा भिक्षु हुन् । अब शरणम्को अर्थ व्यापक भयो, बुद्धबाट जो बुद्धका शरणमा छन्, बुद्धबाट दीक्षित छन्, जो त्यसको अन्वेषणमा निस्केका छन् उनीहरूको शरणमा जानु संघंं शरणम् गच्छामि हो ।
बुद्धको शरणबाट संघको शरणमा जानु भनेको, पीपलको रुखलाई नमस्कार गथ्र्यौं अब जुन बीजबाट वृक्ष निस्क्यो त्यो बीजलाई नमस्कार गरिरहेका छौं । संघ नभएको भए आज सत्य कसरी प्राप्त भयो, संघको अर्थ जसले सत्यलाई खोजिरहेको छ उनीहरूको गन्तव्य हो धम्म । धम्म अर्थात् परम सत्य अर्थात् धर्म । अन्तिम सत्य भनेको धर्म हो, त्यसैले धर्मको शरणमा जसले जान्छु भन्छ त्यो परम शक्तिको शरणमा जान्छु भनेको हो, जसले यो विश्वब्रहृमाण्ड चलाइरहेकोे छ । धर्मको अर्थ हो धारण गर्नु । जसले यो ब्रहृमाण्डलाई धारण गरेको छ, उसको शरणमा जान्छु वा उसमा डुब्छु भनेको हो ।
यो भनेको ऋत (मोक्ष) को शरणमा जानु वा ऋत प्राप्त गर्नु हो । ऋत प्राप्त गर्नु भनेको प्रकृतिको हरेक सृष्टि सामु झुक्नु हो । जहाँ अहंकार हुन्छ त्यहाँ समर्पण हुँदैन, जहाँ समर्पण हुँदैन त्यहाँ जति शंख फुकेर घण्ट बजाएर, जति श्लोक बर्बराए, जति ॐ मणि पद्मे हूँ जपे तापनि मोक्ष प्राप्त हुँदैन, न त धर्म नै । मुख्य मनमस्तिष्कबाट अहंकाररहित पूर्णसमर्थन हो । एकचोटि कसैले रामकृष्ण परमहंसको तस्वीर बनाएर उनलाई ल्याएर दिए । रामकृष्णले निहुरिएर त्यो तस्वीरको चरण स्पर्श गरे । उनका शिष्यहरूले रामकृष्णले आफ्नो तस्वीरमा आफ्नै चरण स्पर्श गरेको देखर गुरु बौलाए भने ।
एकजनाले उनलाई भने, परमहंसदेव, के गर्दै हुनुहुन्छ ? यो देखेर मानिसले तपाईंलाई बौलाहा भन्नथाले, आफूले आफ्नै चरण स्पर्श गर्नु त पागलपनको हद हो गुरुदेव । यो सुनेर परमहंसले भने, मेरो तस्वीर ! यो मेरो तस्वीर कसरी हुनसक्छ ? तर यो जुन तस्वीर छ ठूलो समाधिको हो । जुन मानिसको यो तस्वीर लिएको भए पनि यो मानिस गम्भीर समाधिमा भएको हुनुपर्छ । त्यसैले म यो समाधिमा निहुरिरहेको छु । यसमा के फरक पर्छ कि म नै समाधिमा थिएँ वा अरू कोही । समाधिमा कहाँ म कहाँ तिमी ? समाधि त समाधि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच