सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन काँग्रेससहितका प्रतिपक्ष दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको मत माग्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभइ सक्रिय विश्वासको मत चाहिएको बताउनु भयो । उहाँले विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी छ । सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन सक्दैनन् । हामीले असीको दशक तिब्र विकासको दशक भनेका छौँ । त्यसका लागि वृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ । भारत र बंगलादेशससँग विद्युत व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत आयोजनामा धेरै काम गर्न बाँकी छ । समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक छ । म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप मान्छु । संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि यहाँहरूको प्रतिवद्धता माग्छु । नागरिक राज्यसँग ठोकिने सबै बिन्दुमा शासकीय सुधारका लागि म कृतसंकल्पित छु, त्यसमा संसदको सहयोग माग्छु, उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप माग्छु । निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो संख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास माग्छु । प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनोस् । त्यसले यो सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ । राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय होइन, सक्रिय विश्वासको मत चाहिएको छ । त्यो प्राप्त हुनेछ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री दाहालले काँग्रेसले बिरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?