भारतीय ओभरलोड गाडीका कारण यातायात व्यवसायी मारमा

Read Time = 3 mins

भैरहवा । भारतीय ओभरलोड मालवाहक गाडी निर्वाधरूपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यवसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरूपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्तरूपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन् । सरकारले भारतीय ओभरलोड गाडीहरू व्यवस्थापन गर्नुपर्नेमा पटक-पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्टले बताउनुभयो ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकाले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन् । ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडादर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बानियाँले बताउनुभयो । ‘हाम्रो अवस्था दयनीय भएको छ । हप्ता दिनसम्म गाडी थन्क्याउनुपरेको अवस्था छ, लाखौँ मूल्य लगानी गरेर राज्यलाई राजस्व बुझाउनुबाहेक केही विकल्प छैन,’ बानियाँले भन्नुभयो ।

जुनसुकै देशको सवारीसाधन नेपाल आए त्यहाँको कानुनलाई मान्नुपर्ने भए पनि दैनिकरूपमा भारतीय गाडी सेटिङका रूपमा नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातायात व्यवसायीका उपाध्यक्ष गुप्तबहादुर केसीले भन्नुभयो । ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भए पनि प्रतिबन्धित गाडी नेपाल आउँदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उहाँले बताउनुभयो । शुक्रबारमात्र संयुक्तरूपमा गरिएको चेकजाँचले २२ वटा गाडीले ओभरलोड बोकेको पाइएको छ ।

मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोडसम्बन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादरभन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवासुविधाबाट वञ्चित हुनुपर्नेलगायत व्यवस्था रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?