सिन्धुली । टन्टलापुर घाम लागेको छ । शितल दिने हावा चलेको छैन । सडक किनारमा आगो भरभराएको छ । घामको ताप र आगोको रापमा धुँवा उडाउँदै मकै पोल्न बस्नु भएको छ, कमलामाई नगरपालिका–७ साकेटोलकी अनिता नेपाली ।
आफ्नो खेतबारी छैन । विहानपख घाम नझुल्किदै किसानको खेतमा पुगेर ल्याएको मकैका घोगा बोरामा छन् । बोराबाट एक–एक गरेर झ्क्दिै नङ्ग्राउँदै रापिलो कोईलामा हाल्नुहुन्छ । हातमा फलामको चिम्टा छ, घरीघरी पोल्न हालेको मकै ओर्काइ–फर्काइ गर्नुहुन्छ ।
मकै पाक्न नभ्याउँदै किन्न आउने ग्राहक बढ्छन् । पदैल यात्रुदेखि माडीबजार क्षेत्रमा भएका सरकारी, गैरसकारी संघसंस्थाका कर्मचारीसम्म मकै किन्न आउँछन् । आफ्ना ग्राहकलाई मकैसँगै नुन, अकबरे खुर्सानी, टिमुर र लसुन मिसाएर सिलौटोमा पिसेको स्वादिलो अचार कागजमा पोको पारेर दिनुहुन्छ । लिनुहुन्छ, परिश्रम वापतको मुल्य । फेरी पनि मकै खान आउने निमन्त्रण गदैँ मिठो मुस्कानका साथ विदाई गर्नुहुन्छ । यसैबाट चलेको छ, उहाँको जीवीका ।
“पोलेको मकै प्रतिघोगा २५–३० रुपैयाँसम्ममा बिक्छ । दैनीक एक सय घोगासम्म बेचिरहेको छु,” मकै व्यवसायी अनिताले भन्नुभयो ।
उहाँले किसानबाट मकै खरिद गर्दा प्रतिघोगा १० रुपैयाँ पर्छ । यो व्यवसाय खर्चिलो छैन । मकै पोल्ने दाउरा भए पुग्छ । यसको संकलन जंगलमा गएर उहाँ आफै गर्नुहुन्छ । बजार क्षेत्रमा पोलेको मकै बिक्री गर्न उहाँलाई समस्या छैन । तर, फुटपाथमा आगो बालेर मकै पोल्न चुनौती छ ।
कहिले जोडले हावा चल्छ, मकै पाकिनसक्दै आगो निभाउन बाध्य हुनुपर्छ । हुरी, बतास चलेको बेला खुल्ला ठाउँमा आगो बालेर मकै पोल्न सम्भव हुँदैन । व्यवस्थित टहरा बनाएर व्यवसाय गर्न बजारक्षेत्रमा ठाउँको अभाव छ ।
खाने मुखलाई जुंगाले झेक्दैन भनेझँै जतिनै समस्या आइपरे पनि उहाँले मकै पोलेर बेच्न भने छोड्नु भएको छैन । समस्या हुन्छ भने सँगै समाधान पनि हुन्छ । उहाँले सडक छेउमा अस्थायी आगो बाल्ने चुल्लो बनाउनु भएको छ । आगो बाहिर नफैलियोस् भनेर चुल्लो वरीपरी पुरानो जस्तापाताले बेरा लगाउनु भएको छ । यसले आगो बाहिर फैलिन पाउँदैन । आगोमा पाक्दा–पाक्दै गरेको मकै खान पाउँदा ग्राहक खुशी हुन्छन् ।
‘यस्तो उखरमाउलो गर्मी छ । आगोमा मकै पोलेर बेच्न सजिलो त छैन । तर, नगरि पनि त भएको छैन,’ उहाँले भन्नुभयो, “ज्यालादारीमा दिनभर काम गर्दा छ सय कमाई हुँदैन थियो । मकै बेचेर दैनीक दुई हजारसम्म कमाई गरिराखेको छु ।”
मजदुरीमा भन्दा मकै व्यवसायमा आम्दानी राम्रो देखेपछि दैनीक मजदुरी गरेर जिविकाेपार्जन गदैँ आउनु भएकी अनिताले गत चैत अन्तिमदेखि मकै पोलेर बेच्न थाल्नु भएको हो । भदौँसम्म यो क्रम चलिरहने उहाँले बताउनुभयो ।
मकै बेचेर भएको आम्दानीले घर खर्च धान्नु भएको छ । छोरा आयुष र आशिषको पढाई खर्चदेखि पोषाक खर्चसमेत यसैबाट चलेको छ । उहाँलाई श्रीमानको सहयोग छैन । मादक पदार्थ सेवन गरेर झगडा गर्ने, कुट्पिट गर्ने गरेपछि उहाँ श्रीमानसँग छुटेर केही समय माईती घर बस्नुभयो ।
विवाहपछि लामो समय माईती घर बस्दा समाजमा कुरा काट्ने डरले साकेटोलमा दुखजिलो गर्न थाल्नुभयो । दुई छोरामाथीको जिम्मेवारी निर्वाह गर्न मजदुरी गर्नुको विकल्प थिएन । उहाँले दश वर्ष ज्यालामजदुरी गर्नुभयो ।
यतिबेला उहाँलाई अरुको काम गर्न जान मन छैन । सानैभए पनि आफ्नै व्यापार, व्यवसाय गरेर अगाडी बढ्ने उहाँको सोच छ ।
साकेटोलकी अनिता नेपालीको जस्तै दिनचर्या धनसारेकी रमा परियारको पनि छ । विहानै उठ्नु हुन्छ । हत्तार–हत्तार नित्य कर्ममा लाग्नु हुन्छ । घरको काम सबै भ्याएर मकै पोल्न दाउराको जोरजाम गर्नु हुन्छ ।
मकै कहिले किसान आफँैले घरसम्म ल्याईदिन्छन् । कहिले आफै किसानको बारीसम्म पुगरे ल्याउनु पर्छ । उहाँको यो दिनचर्या दश वर्षदेखि बदलिएको छैन । सिजनमा मकै पोलेर बेच्नु हुन्छ, अन्य समय ज्यालादारीमा काम नगरे जीवीकोपार्जन गर्ने आधार टुट्छ ।
यो मकैको सिजन हो । यतिबेला उहाँ ज्यालादारीमा काम गर्नु हुँदैन । सिजनमा अरुको काम गर्न छोडेर मकै व्यवसायमा खट्नु हुन्छ । सिन्धुलीमाडी बजार क्षेत्रमा मकै बेचेर राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण पेश गर्ने उहाँ पहिलो व्यवसायी महिला हो ।
“यो बजारमा मौसमी, बेमौसमी हरियो मकै पोलेर बेच्न मैले सुरु गरेकी हुँ । पहिला म एक्लो थिए । म जसरी सडकमा मकै पोलेर बेच्ने महिला अहिले धेरै भएका छन्,” मकै व्यवसायी रमाले सुनाउनुभयो ।
सिजन भएकाले वैशाखदेखि साउनसम्मयो व्यवसाय सहजै गर्न सकिन्छ । अन्य समयमा भने हरियो मकै भेटाउन मुस्किन पर्छ । खोज्दा बाह्रै महिना हरियो मकै पाउन सकिने उहाँले बताउनुभयो ।
मकै बेच्न खाजा खाने समय नै पर्खनु पर्छ भन्ने छैन । उहाँ विहान सात बजेदेखि बेलुका सात बजेसम्म मकै बेच्न खट्नु हुन्छ । दैनिक हरियो र पोलेको गरेर पाँच सय घोगा मकै सँगै पाँच कार्टुन पानीसमेत बिक्री भैरहेको उहाँको भनाई छ ।
दश वर्षअघि व्यवसायी परियारले १० घोगा हरिया मकैबाट यो व्यवसाय सुरु गर्नु भएको थियो । छिमेकीसँग सापटी लिएको एक सय रुपैयाँमा किसानको बारीमा पुगेर किनेको उक्त मकै पोलेर बेच्दा दुई सय रुपैयाँ आम्दानी भयो । साँझ छिमिकीसँग लिएको पैसा फिर्ता गर्नुभयो । मकै बेचेर आएको नाफाले भोलीपल्ट सोही काम दोहोर्याउनु भयो । जुन, कामलाई अहिलेसम्म निरन्तरता दिनुभएको छ ।
आफूमाथी सौता हालेपछि श्रीमानसँग उहाँलाई बस्न मन लागेन । सिन्धुलीमाडी कोठा भाडामा बस्न थाल्नु भएकी रमाले आफ्नै कमाईले छोराछोरीलाई बोडिङ स्कुलमा पढाई रहनु भएको छ । इच्छाशक्ती र जाँगर भए जीवीकोपार्जनका लागि जागीर नै खानु नपर्ने उहाँको तर्क छ ।
अनिता र रमा मात्रै होइनन्, सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार क्षेत्रमा बसोबास गर्ने बीस जना महिला दैनीक ज्यालादारी छाडेर मकै पोलेर बेच्ने काममा लागेका छन् । विशेषगरि दलित र जनजाति समुदायका महिलालाई सडक किनारमा मकै पोल्दै गरेको देख्न सकिन्छ ।
सिन्धुलीमाडी बजार क्षेत्रमा बेमौसमी मात्रै होइन, मौसमी मकै पनि बिक्री हुन्छ । बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयबासिदेखि सडकमा हिड्ने पदैल यात्रुसम्म मकै खान मन पराउँछन् । सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी र बजारक्षेत्रका अन्य व्यापारी, व्यवसायी मकै किन्ने नियमित ग्राहक हुन् ।
स्थानीयबासि भरत विकको खाजा प्रायः पोलेको मकै हुन्छ । मकै र मोही आफ्नो सबैभन्दा मन मर्ने खाजा भएको उहाँले बताउनुभयो । भन्नुभयो, “पिज्जा, बर्गर, मःम र चाउमिनभन्दा त पोलेको मकै कयौँ गुना स्वादिलो र पोषिलो हुन्छ । स्वस्थ स्वास्थ्यका लागि उत्तिकै लाभदायक पनि मानिन्छ ।”
व्यवसायी देवकुमारी आलेले मकैका परिकार उत्पादन गर्न सके बिक्री गर्न समस्या नहुने बताउनुभयो । हरियो मकै, पोलेको मकै, उसिनेको मकै, भुटेको मकै, मकैको सातु, मकैको मःम, मकैको च्याख्ला लगायत मकैबाट बनाइएका परिकारहरुको बजारमा माग भइरहेको उहाँको भनाई छ । उहाँलाई भने यतिबेला हरियो मकै पोलेर बेच्नै भ्याईनभ्याई छ ।
‘यसरी काम गर्दा गदैँ मर्न पाइ्योस्,’ छोरा–बुहारीबाट अलगिएर कोठाभाडामा बस्दै आउनु भएकी ७० वर्षीया आलेले भन्नुभयो, “आफ्ना पाखुरा चलेसम्म काम गर्छु, दाम कमाउँछु । कसैको आश छैन, गर्दिन । मलाई आफ्नै मिहेनतको कमाईले पुगिराखेको छ ।”
बारीबाटै हरियो मकै बिक्न थालेपछि किसानसमेत यसको खेतिमा हौसिएका छन् । “मकै नपाक्दै बोटबाट बिक्ने भएपछि बाँदर, चराचुरुङ्गीले धेरै नोक्सान गर्न पाउँदैन । मकै बेच्न समस्या नभएपनि उत्पादन गर्न विभिन्न रोग र किराका कारण समस्या उत्पन्न हुने गरेको छ,” किसान उमेश काफ्लेले भन्नुभयो ।
कृषि विकास कार्यालय, सिन्धुलीका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी उमादेवी श्रेष्ठकाअनुसार जिल्लामा २३ हजार हेक्टरमा किसानले मकै खेति गदैँ आएका छन् । कार्यालयले किसानलाई उन्नत बीउ र कृषि यन्त्रमासमेत सहयोग गदैँ आइरहेको छ ।
पछिल्लो समय मकै किसानको मात्रै नभई व्यापारी र व्यवसायीकोसमेत जीवन निर्वाह गर्ने गतिलो आधार बन्दै गएको छ । स्थानीय सडकको किनार तथा बजारक्षेत्रमा अव्यवस्थित रुपमा मकैसहित अन्य रैथाने परिकारको व्यापार, व्यवसाय गर्नेलाई स्थानीय सरकारले व्यवस्थित ठाउँ उपलब्ध गराईदिनु पर्ने आवश्यकता देखिन्छ ।
तस्वीर : सिन्धुलीमाडी बजार क्षेत्रको सडक किनारमा मकै पोल्दै महिला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच