तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उहाँको निधनमा विश्वका नेताहरूले शोक व्यक्त गरेका छन् । उद्धार टिमले हेलिकप्टर पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो । क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान जानुभएको थियो । उद्घाटनपछि राइसी तबरेज सहरतर्फ लाग्नुभएको थियो । ताब्रिज इरानको पूर्वी प्रान्तको राजधानी हो । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहरनजिकै रहेको छ ।
प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, ‘हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरु मोहम्मद अली अले-हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको छ ।’ मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह-चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अंगरक्षक रहेको जानकारी दिइएको छ ।
विश्वका नेताद्वारा शोक व्यक्त
उहाँको निधनमा युरोपेली युनियन (इयु), रुस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की, सिरिया, मलेसिया, इण्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र संगठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताउनुभएको छ । राष्ट्रपति सिले भन्नुभएको छ, ‘इरानी राष्ट्रपति रायसीको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन् ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एकजना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताउनुभएको छ । ‘रायसी एक उत्कृष्ट राजनीतिज्ञ थिए । उनको सम्पूर्ण जीवन आफ्नो मातृभूमिको सेवामा समर्पित थियो,’ पुटिनले भन्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ । ‘उहाँको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ’, मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।’ पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ ।
‘दुःखको अवस्थामा इरानका साथ छौँ’
इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे हमासले आधिकारिक रूपमा प्रतिक्रिया जनाएको छ । हमासले भनेको छ, ‘अल्लाहको मर्जीका साथ हाम्रो समवेदना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनाइ, इरान सरकार र इरानका जनतामा रहेको छ । दुःख र मुस्किलको स्थितिमा हामी इरानको साथ छौँ ।’
इरानको मात्र नभए आफूहरूको लडाइँमा साथ दिएको नेताको रूपमा रइसीलाई हमासले भनेको छ, ‘दुर्घटनामा इरानका ती नेताको ज्यान गएको छ, जसले इरानको हितको लागि लामो लडाइँ लडे । र, हाम्रो लडाइँमा पनि पूरा सहयोग गरे । यहुदीको अत्याचार विरुद्धमा प्यालेस्टाइन र प्यालेस्टाइन लडाइँमा उहाँले हामीलाई सदैव साथ दिनुभएको छ । हामीलाई भरोसा छ कि इरानका जनता यो दुःखद अवस्थाबाट बाहिर निस्कन सफल हुनेछन् ।’
पाँच दिन राष्ट्रिय शोक
इरानले राष्ट्रपति रायसी लगायतका दुर्घटनामा दिवंगत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतबार दुर्घटनामा पर्नुभएको राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर हुनुहुन्थ्यो ।
यस्तो थियो हेलिकप्टर
इरानका राष्ट्रपति इब्राहिम रइसीले बेल २१२ नामको हेलिकप्टरमा चढ्नुभएको थियो । सो हेलिकप्टर भियतनाम युद्धका समयमा प्रयोग गरिएको यूएच वन एन ट्विन जस्तै यात्री हेलिकप्टर हो । त्यसको अपरेसन सन् १९६० दशकको पछिल्लो समयबाट सुरु भएको हो । सिएनएनका अनुसार अमेरिकामा उत्पादित सो हेलिकप्टर पछि क्यानडामा पनि हुन थालेको जनाइएको छ । रोयटर्सका अनुसार १९६० को दशकमा यो हेलिकप्टर क्यानडाले सेनाको लागि बनाएको थियो ।
यो हेलिकप्टरलाई सबैखाले काममा प्रयोग गरिने जनाइएको छ । यात्रु बोक्न, आगो निभाउन, सामान ढुवानी गर्न र हतियारको सप्लाई गर्न पनि यसको प्रयोग गरिन्छ । रइसी चढेको हेलिकप्टरलाई मोडिफाई गरेर शीर्ष अधिकारीलाई आवतजावत गर्न मिल्नेगरी बनाइएको थियो ।
यो हेलिकप्टर अहिले अमेरिकी कम्पनी बेल टेक्सट्रानले बनाइरहेको छ । त्यसको मुख्यालय टेक्सासमा रहेको छ । बेल हेलिकप्टरको सबैभन्दा पछिल्लो भर्सन भने बेल ४१२ हो । युरोपियन एभिएसन सेफ्टी एजेन्सीका अनुसार यो हेलिकप्टरमा १५ जनासम्म बोक्न मिल्छ । यो हेलिकप्टर जापानका तट रक्षकले पनि प्रयोग गरिरहेका छन् ।
अमेरिकामा यसको प्रयोग फायर विभाग र कानुनसम्बन्धी एजेन्सीले गरिरहेका छन् । इरानको वायु सेना र नेवीसँग यस प्रकारका १० हेलिकप्टर रहेको मानिन्छ ।
उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । रायसीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यबाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको छ । इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकार सुम्पिएको छ । उहाँ सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।
हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा छ र सभामुख, न्यायपालिकाका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ ।
इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महिनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ । अगस्ट २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो ।
सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन् । संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ ।
प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरू सँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ ।
धार्मिक ‘स्कलर’देखि राष्ट्रपतिसम्म
इब्राहिम रइसीले सधैँ कालो पगरी (शिरमा बेरेर लगाइने कपडा) लगाउनुहुन्थ्यो । यो संकेत उहाँ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदसँग सिधै जोडिनुभएको थियो । उहाँ एक धार्मिक ‘स्कलर’बाट वकिल र इरानको उच्च पदमा पुग्नुभयो । रइसी इरानको दोस्रो नम्बरका धार्मिक नेता हुनुहुन्थ्यो । शिया धर्मगुरुको वरीयता क्रममा उहाँ अयातोल्लाह खामेनीभन्दा एक तहमुनि मानिनुहुन्थ्यो ।
रइसीको जन्म सन् १९६० मा पूर्वी इरानको पवित्र सहर मशहदमा भएको थियो । शिया मुसलमानको पवित्र मानिने मस्जिद सोही सहरमा छ । उहाँ कम उमेरमै उच्च पदमा पुग्नुभएको थियो । रइसीका पिता एक मौलवी (मुसलमान शिक्षक/ज्ञाता) हुनुहुन्थ्यो । रइसी पाँच वर्षको हुँदा उहाँका पिताको निधन भएको थियो ।
उहाँले बाबुको पदचाप पछ्याउँदै १५ वर्षको उमेरमा कोम सहरस्थित एक शिया संस्थानमा पढाइ सुरु गर्नुभएको थियो । आफ्नो विद्यार्थी कालमा पश्चिमाको समर्थनमा रहनुभएका मोहम्मद रेजा शाह विरुद्धका प्रदर्शनमा उहाँले भाग लिनुभएको थियो । पछि आयोतोल्ला रुहोल्ला खामेनीले इस्लामिक क्रान्तिमार्फत १९७९ मा शाहलाई सत्ताबाट हटाएका थिए ।
२० वर्षको उमेरमा उहाँ तेहरान नजिकको कराजका महाअभियोजक नियुक्त हुनुभएको थियो । १९८९ बाट १९९४ सम्म उहाँ सोही पदमा रहनुभयो । उहाँ सन् २००४ देखि १० वर्षसम्म न्यायिक प्राधिकरणका डिपुटी चिफ रहनुभएको थियो । २०१४ मा उहाँ इरानका महाअभियोजक बन्नुभएको थियो ।
तत्कालीन समयमा इरानी न्यायपालिकाको प्रमुख रहनुभएका रइसीको राजनीतिक विचार अति कट्टर मानिन्थ्यो । उहाँ २०२१ जुनमा उदारवादी हसन रुहानीको स्थानमा इस्लामिक रिपब्लिक इरानको राष्ट्रपति बन्नुभएको थियो । उहाँले चुनावका क्रममा रुहानीको पालामा भएको भ्रष्टाचार र आर्थिक संकटलाई सम्बोधन गर्न आफू उत्तम विकल्प भएको जिकिर गर्नुभएको थियो । उहाँलाई हुज्जातुल इस्लाम अर्थात् इस्लामको प्रमाणको धार्मिक पदवी पनि दिइएको थियो । एजेन्सीको सहयोगमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच