
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ ।
सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।
मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेसका सांसदहरुले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन् । उनीहरुले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गर्नुभएको पनि बताएका छन् ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मुलभुत मुल्य र मान्यतामाथि प्रहार गरिएको बताउनु भयो ।
उहाँले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गर्नुभयो । उहाँले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताउनु भयो । उहाँले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरुको अवरोध जारी रहने पनि बताउनु भयो । सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसदलाई ब्यारेक बनाउनका लागि सत्ताले बाटो लिइसकेको हामीलाई महशुस भएको छ । सदन विचार र सिद्धान्तकै द्वन्दात्मक थलो हो । तर यसलाई बाहुबलको थलो बनाउने, बल प्रयोग गर्ने कुराले लोकतन्त्रका मुलभुत मूल्य र मान्यतामाथि प्रहार गरेको छ । यो व्यवस्था र संविधानमाथि नै प्रश्नचिन्ह लगाउने, एउटा सहकारी ठगलाई जोगाउनका लागि लोकतन्त्रको मूल्य, मान्यतामाथि धावा बोल्ने । हाम्रो संविधानमाथि धावा बोल्ने र हाम्रो संघीय शासन प्रणालीमाथि धावा बोल्ने काम सत्ताबाट जुन भएको छ, त्यो भत्र्सनायोग्य छ । यसको हामी आगामी दिनमा थप प्रतिरोध गरेर जान्छौँ । हाम्रो प्रतिरोध विचारकै आधारमा, सिद्धान्तकै आधारमा, सभ्यतामा आधारित नै हुन्छ । तर त्यसलाई कमजोरी ठान्दै सरकार अगाडी बढ्यो भने हामीले इटको जवाफ पत्थरले दिनुपर्ने हुनसक्छ । म सरकारलाई सचेत गराउन चाहन्छु । हाम्रो अवरोध सहकारी पीडितले न्याय नपाएसम्म, सहकारीका बचतकर्ताहरुले वचत फिर्ता पाउने सुनिश्चितता नभएसम्म, संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म हाम्रो सदन भित्रको कारबाही निरन्तर रहन्छ । राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता दिनेगरी त्यो विधेयक फिर्ता गरिएको छ । यसबाट के बुझिन्छ भने नयाँ आएका राजनीतिक दलहरु राजनीतिक स्थिरता, सुशासन चाहान्छौँ भन्नेकुराबाट व्यक्तिगत रुपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी स्वतः च्युत भएको छ । यो कुराले उहाँहरुको नियत के हो भन्नेकुरा पनि छर्लङ्ग भएको छ ।’
नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गर्नुभएको बताउनु भयो । उहाँले संसदीय छानविन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहनुभएको बताउनु भयो । उहाँले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसद होइन ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा, संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती सञ्चालन गर्न खोज्नुभएको छ । यो राम्रो बाटोमा गइराखेको छैन । हामी संसदीय समिति नबनेसम्म संसदलाई अगाडी जान दिने स्थितिमा छैनौँ । समिति बनाउने कुरामा, टिओआर बनाउने कुरामा अलमल गरेर केपी ओलीजीको पनि आफ्नो खेल छ । सरकार आफ्नो ढंगले अगाडी बढिरहेको छ । हामीलाई के लागिराखेको छ संसदीय परम्परामाथि नै कालो धब्बाको रुपमा उहाँहरुले सदनलाई लिएर गइराख्नुभएको छ, यो दुर्भाग्यपूर्ण छ ।’
नेपाली काँग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताउनुभयो । उहाँले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरु फुटाउनेतिर लाग्न लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो – ‘नयाँ पार्टी भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले संसदमा आएको विधेयक फिर्ता गर्नुभयो । यो आपत्तिजनक छ । अब अध्यादेशबाट ल्याएर उहाँहरु पार्टी फुटाउनेतिर लाग्दै हुनुहुन्छ । यो घोर आपत्तिजनक छ । सभामुखको कामप्रति नै हाम्रो विरोध थियो ।’
नेपाली काँग्रेसकि सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेको बताउनु भयो । उहाँले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरुमाथि आक्रमण गर्न लगाइएको बताउनु भयो । उहाँले प्रधानमन्त्री स्वयं आफूहरुमाथि जाइलाग्न खोजेको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो – ‘मर्यादापालकहरु मर्यादामा रहेर सुरक्षा गर्ने न हो । तर मर्यादापालकहरुलाई प्रयोग गरेर, संख्या बढाएर हामीमाथि आक्रमण गर्न लगाएको छ । मलाई घाइते बनाएको छ । प्रमाण हेर्नुस्(आफ्नो हात देखाउँदै) । प्रधानमन्त्री आफैँ सिधै जाइलाग्न खोज्ने जस्तोपनि गर्नुभयो । मर्यादापालकहरुलाई अगाडी राखेर हामीमाथि प्रहार भयो । हामीमाथि अत्याचार भइराखेको छ । जनताको आवाजलाई लिएर, जनताको न्यायको लागि हामी अगाडी बढ्दाखेरी हामीलाई दबाउने काम गरिएको छ । हाम्रो घाँटीमा निमोठ्ने काम गरिएको छ । तर हामी पछाडी पर्दैनौँ । दमन गरिराखेको छ ।’
नेपाली काँग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच