काठमाडौं । अब बिमा कम्पनीहरूले हुनसक्ने शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्न छुट्टै सूचक तयार गर्नुपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८१’ जारी गर्दै नयाँ व्यवस्था गरेको हो । निर्देशनअनुसार अब बिमा कम्पनीहरूले शंकास्पद कारोबारको प्रतिवेदन तयार गरेर प्राधिकरणमा पेश गर्नुपर्नेछ । कम्पनीले शंकास्पद कारोबारसम्बन्धी जाँचबुझ गरी तत्काल वित्तीय जानकारी इकाईको गोएमएल सफ्टवेयरमा विवरण प्रविष्ट गर्नुपर्नेछ । त्यस्तो प्रतिवेदन तयार गर्दा इकाईले जारी गरेको मापदण्डसमेतलाई आधार लिनुपर्नेछ ।
कुनै अनुसन्धान गर्ने निकायले कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचना माग गरेको अवस्थामा शंकास्पद देखिने नयाँ तथ्य प्राप्त गरेमा पनि इकाईलाई अतिरिक्त सूचनाका रूपमा जानकारी गराउनुपर्नेछ । सोहीअनुसार ग्राहक पहिचान वा सम्पुष्टि अध्यावधिक गर्नेछ । बिमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप न्यूनीकरण गर्न प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।
प्राधिकरणले उच्च पदस्थ व्यक्तिहरूको विशेषरूपमा सूचना संकलन गर्न निर्देशन पनि दिएको छ । स्वयं व्यक्ति अर्थात् ग्राहकबाट सूचना लिन पनि सकिनेछ भने सार्वजनिकरूपमा उपलब्ध सूचना, सामाजिक सञ्जालमा उपलब्ध सूचना, प्रचलित कानुनबमोजिम कुनै निकायमा राखिएको कुनै अभिलेख, व्यावसायिकरूपमा उपलब्ध तथ्यांक (डाटाबेस) लगायतका आधारमा पनि लिन सकिनेछ । कम्पनीले उच्च पदस्थ व्यक्ति वा उसको परिवार सम्बद्ध व्यक्तिको सूचीको अभिलेख बिमा अवधि र बिमा अवधि सकिएको पाँच वर्षसम्म राख्नुपर्नेछ ।
त्यस्तै कम्पनीले बिमालेख जारी गर्दा, बिमालेख धितोमा ऋण प्रदान गर्दा, बिमालेख समर्पण गर्दा र दाबी भुक्तानी गर्दा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र विकास गर्नुपर्नेछ । उच्च पदस्थको परिवार तथा सम्बद्ध व्यक्ति पहिचान हुने थप संयन्त्र, उच्च पदस्थ व्यक्तिको पदीय हैसियत र संलग्नताबमोजिमको जोखिम पहिचान हुने व्यवस्था पनि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
कम्पनीहरूले ग्राहकको सम्पत्ति स्रोत पहिचान गर्ने, कारोबारको उद्देश्यको जानकारी लिने, कारोबारको मात्रा, प्रकृति र जोखिमको अवस्थाअनुसार थप अनुगमन गर्ने र बिमाबापतको कुनै प्रकारको भुक्तानी (समर्पण मूल्य तथा ऋणसमेत) एकाउन्टपेयी चेक वा विद्युतीय भुक्तानी प्रणालीमार्फत् गर्नुपर्नेछ ।
कम्पनीले एकल बिमाशुल्क ५० लाखभन्दा बढी बिमांक भएको बिमालेख वा विदेशबाट बिमाशुल्क भुक्तानी हुने बिमालेख जारी गर्दा थप ध्यान दिनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच