काठमाडौं । लैंगिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकले ४६ लाख अमेरिकी डलर बराबरको आयोजना घोषणा गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले मंगलबार संयुक्तरूपमा संघीय नेपालमा लैंगिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजना शुभारम्भ गर्नुभएको हो ।
उक्त त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छ नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श चिकित्सा सहायताजस्ता लैंगिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवामा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ । जसले लैंगिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा पहुँचमार्फत् लाभान्वित गराउने लक्ष्य लिएको छ । मन्त्री चौधरीले भन्नुभयो, ‘लैंगिक हिंसा सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र संघीय तहमा लैंगिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ ।’
विश्व बैंकका अनुसार आयोजनाका लागि स्टेट एण्ड पिस बिल्डिङ ट्रष्ट फण्ड (राज्य तथा शान्ति निर्माण कोष) ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । आयोजना कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्नेछ ।
योजनाले संस्थागत संरचना र क्षमता सुदृढका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैंगिक हिंसाविरुद्धका नवीनतम् उपायसम्बन्धी नमुना कार्यक्रम सञ्चालन गर्नेछ । त्यसैगरी लैंगिक हिंसाविरुद्धको सुदृढ प्रतिकार्यका लागि पहिलो प्रतिकार्यकर्ता (फस्ट रेस्पोन्डर) र स्थानीय सरोकारवालाको व्यवहार परिवर्तनलाई बढावा दिनेछ । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले भन्नुभयो, ‘यस आयोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैंगिक हिंसाविरुद्धका सेवामा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्याउन यो ज्यादै महत्वपूर्ण छ ।’ नेपाल सरकार र विश्व बैंकबीच उक्त आयोजनाका लागि २०८१ वैशाख १२ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच