
म्याग्दी । विगत केही वर्षयता वनजंगलमा लाग्ने गरेको डढेलो र जलवायु परिवर्तनका कारण म्याग्दीको जैविक विविधता र आनुवांशिक स्रोतहरु नासिँदै गएका छन् ।
म्याग्दीमा विशेषगरी ताल, सिमसार र कालीगण्डकी क्षेत्रको जैविक विविधता, रैथाने वाली, पुतलीका प्रजाती र पंक्षीहरु संकटमा पर्दै गएको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।
त्यसैगरी शालिग्राम शिला पाइने विश्वकै एकमात्र पवित्र नदी कालीगण्डकी क्षेत्रमा मानवीय लापर्वाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता नासिँदै गएको वातावरण संरक्षणर्की तिलक सिग्देलले बताउनुभयो ।
यस्तै आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९८ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् ।
एकदशक अघिसम्म यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका स्थानीय तहका कृषि प्राविधिकहरुको भनाइ रहेको छ ।
करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ, धानलगायत धान, घैया, उवाका बाली तथा बीउ लोप हुँदै गएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत वानियाँले बताउनुभयो ।
जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको कृषि ज्ञान केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
“आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काँक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन्”, उहाँले भननुभयो, “धान, गहुँ, मकैलगायत बालीका लागि बीउसमेत साँचेर राख्न छाडेका छन् ।”
सरकारले विशेष गरी घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रुपमा विस्तार गर्दै लैजाने योजना बनाए पनि भारतलगायत विभिन्न देशबाट कोदो, मकै, चामल जस्ता वस्तुको आयात बर्सेनि बढ्दो क्रममा रहेको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो । “यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै गएको छ”, उहाँले भन्नुभयो, “आयातित चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौँलगायतका खाद्यपदार्थ प्रयोग हुँनै छाडेका छन् ।”
गाउँघरमा परिवारलाई आवश्यकपर्ने मात्र उत्पादन गर्ने गरिएको भन्दै व्यावसायिकरुपमा उत्पादन गर्ने प्रचलन हराउँदै गएको मालिका गाउँपालिका ६ का कृषक भीमबहादुर सिउथानीले बताउनुभयो
उहाँका अनुसार रैथाने बाली मानिएको कोदो, फापर, कागुनो, लट्टेजस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यकपर्ने जति मात्रै रोप्ने गरेका छन् । उहाँले भन्नुभयो, “रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर पनि धेरै यसबाट टाढा छन् ।”
“हाइब्रीड’ तथा उन्नत जातका बीउको प्रयोग बढे्दै गएकाले रैथाने बाली लोप हुँदै गएको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषक रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उहाँको भनाइ थियो ।
पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको कार्कीले बताउनुभयो । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विगत १०÷१२ वर्षदेखि आयात हुन थालेको चिनियाँ मकै विशेषगरी रेष्टुरेन्टमा प्रयोग हुने गरेको छ ।
कृषि प्राविधिकका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्दछन् । कोदो धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली मानिए पनि पछिल्लो समय कोदो बालीको क्षेत्रफल घट्दै गएको केन्द्रले जनाएको छ ।
त्यसैगरी वर्षेनी आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावि भैरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गैरहेको छ । डढेलो,बाढी पहिरो र मानवीय अतिक्रमणका कारण ताल र सिमसार क्षेत्रको जैविक विविधता पनि संकटमा पर्दै गइरहेको वातावरण संरक्षणकर्मीहरुको भनाइरहेको छ ।
डढेलोका कारण वन्यजन्तुहरूको आवतजावत गर्न आवश्यक जैविक मार्ग नासिनुका साथै लोपोन्मुख प्रजाति र तिनको बासस्थानमा समेत क्षति पुगेपछि यहाँको उच्च लेकाली क्षेत्रको जैविक विविधता समेत संकटमा पर्दै गएको पाइएको छ ।
त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको सिरानमा रहेको बराह ताल,विमको वाइन्दाफाँटमा रहेको बराहताल,गाइखर्क ताल र भालेवास्ने तालको जैविक विविधता पनि नास हुँदै गएको स्थानीयले बताएका छन् । स्थानीय तथा लोपोन्मुख प्रजातीका चराहरु समेत पाइने यी तालको वरपरको जंगली क्षेत्रमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यता पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् ।
जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ । जैविक विविधताबाट मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अनेकौँवस्तु तथा सेवाहरू जस्तै खाना, ऊर्जा, औषधि, अक्सिजन आदि निरन्तर पाइरहेका छन् । जैविक विविधताको अत्यधिक उपयोग हुँदै जाँदा, जैविक विविधतामा ह्रास आउनुका साथै प्राकृतिक प्रक्रिया असन्तुलित भई मानव जीवनको अस्तित्व नै खतरामा पर्ने वन तथा वातावरण क्षेत्रका जानकार,डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा, प्रत्येक वर्ष जैविक विविधतासम्बन्धी जनचेतना जगाउने उद्देश्यले, मे २२ तारिखलाई अन्तर्र्रािष्ट्रय जैविक विविधता दिवसकारूपमा मनाउने गरिन्छ ।
एक अध्ययनअनुसार, नेपालका ग्रामीण भेगका मानिसले एकहजार,चारसय ४३ प्रजातिका जडिबुटी प्रयोग गर्छन् । यसरी प्राकृतिक रूपमा नेपाल निकै धनी र अद्वितीय रहेको तथा अधिकांश नेपाली जनता कृषि र वनमा निर्भर रहेको तथ्यलाई ध्यानमा राखी, नेपाल सरकारले जैविक विविधता महासन्धिको उद्देश्य प्राप्तिका लागि प्रयास गर्दै आएको भएपनि त्यो प्रयास पर्याप्त नभएको जानकारहरुको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच