![भूकम्प र पुनर्निर्माण सम्बन्धी पुस्तक](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Sushila-Ghimire-article-hita.jpg)
नेपाली साहित्यमा लीलाबोधी लेखनको प्रस्ताव दर्ता भएको पाँच दशक प्रारम्भ भएको छ । साहित्यकार इन्द्रबहादुर राईले यस्तो प्रस्ताव अघि सार्दै ‘भ्रान्तिहरू र लीलाबोधी मात्र’ शीर्षकको लेख (रूपरेखा, २०३४) प्रकाशित गरेपछि लीलाबोधीका बारेमा चासो सुरु भएको हो । त्यसो त लीलाबोधीको प्रारूप २०२० सालकै तेस्रो आयामबाट तयार भएको मान्न सकिन्छ । सन् १९६० को दशकमा पाश्चात्य साहित्यमा प्रारम्भ भएको उत्तरआधुनिकतावादी लेखनको शैलीमा आफ्ना विचारलाई अघि सारेर प्रारम्भ भएको आयामेली लेखन र सन्दर्भ अनुकूल तेस्रो आयामलाई लिएर हिँड्दा पुग्न नसकिएको तर पछ्याइएको मार्ग विचार र शैलीमा केही परिवर्तनको सङ्केत गर्दै थालिएको लीलाबोधी लेखन दुवैमा उत्तर आधुनिकतावादको प्रभाव परेको कुरा नकार्न मिल्दैन ।
उत्तरआधुनिकतावादी लेखनको घोषित वा अघोषित प्रयोग नेपाली साहित्यमा भर्खर प्रारम्भ भएको बेला लीलाबोधी लेखनले पनि नेपाली साहित्यमा प्रवेश गर्दा र लेखनको प्रस्ताव घोषणा गर्दा उत्तरआधुनिकताकै नेपाली संस्करण भएर आएको हो कि ? भन्ने आशङ्काहरू उठ्नु स्वाभाविक देखिन्छ । विधाभञ्जन, विनिर्माण, केन्द्रभञ्जन, अर्थ परिवर्तन जस्ता आधारभूत मान्यताहरूमा दुवैबीच समानता रहेकाले लीलाबोधी र उत्तरआधुनिकतावादी लेखनको शैलीगत प्रविधिमा साम्य राख्ने लेखन भएको बुझ्न सकिन्छ । मूलतः लीलाबोधी लेखनको वैचारिक पक्षले यसलाई उत्तरआधुनिकताबाट अलग्याएको छ ।
लीला शब्दले लोकलीला, जीवनलीला, दर्शनलीला, विचारलीला, भावनालीला, अवतारलीला, अवस्थालीला, अर्थलीला, भाषालीला, शैलीलीला आदि अनेकौँ विभिन्न लीलालाई बुझाउन सक्छ । मूलतः जीवन र जगत्लाई हेर्ने र बुझ्ने सन्दर्भमा दार्शनिक प्रयोजनमा लीला शब्द बढी चरितार्थ हुने देखिन्छ ।
यस अर्थमा लीलाबोधी लेखन एक भिन्न प्रस्ताव, भिन्न चिन्तन र भिन्न विचारसहित उत्तरआधुनिकतावादी साहित्य लेखन भित्रकै एउटा छुट्टै वैचारिक मान्यता हो भन्ने बुझ्न आवश्यक छ । लीलाबोधी लेखन प्रस्तावित भएपछि उठेका केही प्रश्नहरूमध्ये यसको सैद्धान्तिक आधार के हो ? भन्ने प्रश्न महत्वपूर्ण हो । आलोचना र समर्थनमा विभिन्न कुराहरू उठेको सन्दर्भमा यसपूर्व पनि भन्दै आएका केही कुराहरूमाथि थप स्पष्ट पार्ने र लीलाबोधी लेखनको पौरस्त्य दर्शनसँगको सम्बन्ध माथि केही कुराहरू राख्ने काम यस लेखमा गरिएको छ ।
लीलाको अर्थ र तात्पर्य
लीला संस्कृत भाषाको नाम शब्द हो । ब्रहृमसूत्रमा ‘लोकवत्तु लीला कैवल्यम्’ यो लोक भनेको केवल लीला मात्र हो (२/१/३३) भनेर लीला शब्दलाई चमत्कार, भ्रम, नाटक आदिको अर्थमा प्रयोग गरिएको छ । त्यस्तै नेपाली र हिन्दी शब्दकोषमा पनि लीला शब्दका उमङ्ग, खेल, विनोद, देवताको चरित्र, अवतार, अनुकरण, छद्म, आभास, दर्शन, ढोंग आदि अर्थ गरिएको छ । लीला शब्दका उपर्युल्लिखित विभिन्न अर्थ हुनसक्ने बताइए पनि शब्दार्थमा भन्दा तात्पर्यार्थमा यसलाई अथ्र्याउनु सान्दर्भिक हुन्छ ।
लीला अर्थात् विभिन्नताहरू भनेर विभिन्न प्रयोजनमा लीला शब्दलाई अथ्र्याइएको छ । जसअनुसार लीला शब्दले लोकलीला, जीवनलीला, दर्शनलीला, विचारलीला, भावनालीला, अवतारलीला, अवस्थालीला, अर्थलीला, भाषालीला, शैलीलीला आदि अनेकौँ विभिन्न लीलालाई बुझाउन सक्छ । मूलतः जीवन र जगत्लाई हेर्ने र बुझ्ने सन्दर्भमा दार्शनिक प्रयोजनमा लीला शब्द बढी चरितार्थ हुने देखिन्छ । लीलाबोधी लेखनको मूल अभिप्रायः नै जीवन दर्शनलाई केलाउनु हो भन्ने लीला प्रस्तावनाको बीस सूत्रीय घोषणा पत्रमा उल्लेख भएकाले तात्पयार्थ बोध नै लीलाबोधी लेखनको मूल अभिप्राय हो भन्न सकिन्छ ।
लीलाबोधी लेखन र धर्म
लीलाबोधी लेखनको बीस सूत्रीय घोषणा पत्रको अठारौँ सूत्रमा ‘धर्म र साहित्यसँगै रहेको पौरस्त्य परम्परा छ लीलाबोधी लेखनमा’ भनिएको हुनाले लीलाबोधी र धर्मका बीच सम्बन्ध छ भन्ने बुझिन्छ । साहित्यिक लेखन धार्मिक मुखपत्र र धार्मिक मुखपत्र साहित्य बन्ने परिस्थितिमा दुवैबाट दुवै किसिमको विशिष्टता झल्किन सक्दैन । लीलाबोधी लेखनले धर्मग्रन्थ भनेर मानेका पुराण आदिलाई धार्मिक साहित्य मानेको हुँदा पनि यसको सम्बन्ध धर्मसँग रहेको कुरा मान्न सकिन्छ तापनि खास धर्म-सम्प्रदायको विचार प्रस्तुत गर्ने लक्ष्य यसले बनाएको छैन । धर्मका विभिन्न प्रयोजनहरूमध्ये पुण्यकर्म, ईश्वर अथवा सद्गति प्राप्त गरिने शास्त्रीय धर्माचरणलाई लीलाबोधी लेखनले मानेको छैन । लोकको हित र व्यवस्थाका लागि अँगालिने कर्तव्य कर्म, मानव धर्म, नारी धर्म, युग धर्म इत्यादि अर्थमा लीलाबोधी लेलनले धर्मको अस्तित्वको विरोध गरेको छैन ।
लीलाबोधी लेखन र पुराण
लीलाबोधी लेखनले पौरस्त्य पौराणिक आख्यान परम्परालाई लीलाको विषय बनाएको छ । यसको प्रस्तावनामा नै श्रीमद्भागवत्महापुराणको ‘कृष्ण सभामा पस्दा......’ (श्रीमद्भागवत.१०/४३/१७) भन्ने प्रसङ्गको उल्लेख गर्दै पुराणसँगको सम्बन्धको सङ्केत गरिएको छ । यद्यपि उक्त उद्धरणको तात्पर्य वस्तुबोधको अवस्थातर्फ सङ्केत गर्नु र दार्शनिक दृष्टि प्रक्षेपण गर्नु रहेको छ । यथार्थ अगोचर छ जो गोचर छ त्यो भ्रम मात्र हो । गोचरणीय रूपको गोचरताले मात्र वस्तुको वास्तविक ज्ञान सम्भव छैन । सृष्टिमा गोचर भएका वस्तुहरू वास्तविक होइनन्, आभास मात्र हुन् भन्ने दार्शनिक चिन्तन यहाँ परिलक्षित भएको छ ।
पुराणको आख्यान दृष्टान्त मात्र बनेको भए पनि पुराण वा अन्य धर्मग्रन्थ, रामायण, महाभारत आदि ग्रन्थहरूका आख्यानलाई लीलाबोधी लेखनले पौराणिक मिथक मानेर प्रयोग गरेको पाइन्छ । पुराणहरूमा भनिएका कथाहरू वा तिनमा प्रयुक्त प्रविधि लीलामय छ भन्ने आधारमा पुराणहरूलाई आख्यान स्रोतका रूपमा लिने तर तिनलाई सत्य मानेर धार्मिक आस्था बढाउने काम लीलाबोधी लेखनले गर्दैन । धरावासीले त पूर्वेली मिथकीय प्रयोग भएका पुराण, रामायण, महाभारत आदि महाकाव्यका कथाहरूको पुनर्लेखन गरेर पनि ती ग्रन्थहरूमा व्यक्त आध्यात्मिक, धार्मिक विचारसँग लीलाबोधी लेखनको सम्बन्ध नरहने कुरा गरेका छन् ।
लीलाबोधी लेखन र ईश्वरीयता
लीलाबोधी लेखनले ईश्वरीयतासँग यसको सम्बन्ध रहेको कुरालाई प्रत्यक्ष व्याख्या गरेको छैन । एउटै बुझाइ अर्थको चिप्लाइपछि चिप्लिँदै जाने अवस्थालाई अर्थको लीला वा चमत्कार बुझे पनि यसलाई चामत्कारिक अर्थमा कुनै दैवीय (ईश्वरीय) लीलालाई मान्न खोजेको देखिँदैन । लीलाको निम्ति ईश्वरको भर पर्ने मान्यतामा यसले विश्वास गर्दैन । ईश्वरीय चमत्कार पर्खिन वा चमत्कारलाई व्याख्या गर्ने कुरामा लीलाले विश्वास गरेको पाइँदैन तापनि मानिसलाई अकर्ता (निमित्त) मान्ने भनाइले कर्ताको रूपमा ईश्वर वा ईश्वर जस्तै तत्वको भरपर्नुपर्छ भन्ने कुरा भने यसबाट ध्वनित हुन्छ । पूर्वजन्म र पुनर्जन्मको अवतार लीला मान्ने भनाइले पनि अजरामर आत्मा वा समकक्षी ब्रहृम वा ईश्वरजस्तै कुनै शक्तिमा भरपर्नु पर्ने कुराको सङ्केत मिल्दछ तापनि इन्द्रबहादुर राईले लीलालाई ईश्वरीय लीला नै हो भन्ने अर्थलाई भने अस्विकार गरेका छन् ।
लीलाबोधी लेखन र पौरस्त्य दर्शन
पौरस्त्य दर्शन भन्नाले पूर्वसँग सम्बन्धित दर्शन भन्ने बुझिन्छ । पौरस्त्य भौतिक र आध्यात्मिक दर्शनलाई पौरस्त्य दर्शन भनिएको छ । लीलाबोधी लेखनसँग पौरस्त्य दर्शनको सम्बन्ध छ भन्ने कुरा लीला प्रस्तावनाबाट नै बुझ्न सकिन्छ । लीलाबोधी लेखनको बिस सूत्रीय घोषणा पत्रमा उपनिषद्, वेदान्त, बौद्ध, जैन आदि दर्शनको प्रभाव पनि लीलाबोधी लेखनमा परेको कुरा स्वीकारिएको छ । त्यस्तै ‘लीलालेखन एउटा सम्बोधन’ भन्ने शीर्षकमा राईले मानिस कुनै शक्तिद्वारा परिचालित रहेको र लीलाबोधी लेखन आध्यात्मिक ज्ञानबाट प्रभावित रहेको स्वीकारेर लीलाबोधी लेखनको आध्यात्मिक चिन्तनसँगको सम्बन्धलाई सकारिएको छ ।
साङ्ख्य, मीमांसा, वेदान्त उपनिषद् आदिले कालको सत्ता नभएको उहिल्यै स्वीकारेको बताएर छैनलाई छ को रूपमा भ्रान्त बुझेको युक्ति दिएर लीलाबोधी लेखन त्यसतर्फ प्रवृत्त छ भन्ने स्पष्ट पार्न राईले चाहेका छन् । त्यस्तै लीलाबोधी लेखनमा पदार्थ संघातमय छ ।
विशेषतः पौरस्त्य साङ्ख्य, वेदान्त, बौद्ध र जैन जस्ता दर्शनको चिन्तनलाई यसले पकडेर अघि बढेको देखिन्छ । लीलालाई स्पष्ट पार्ने क्रममा राईले विभिन्न ठाउँमा वेदान्त दर्शनका भनाइहरू, उपनिषद् वचनहरूलाई दृष्टान्तका रूपमा लिएको पाइन्छ । एक मेवाही परमार्थ सत्यं ब्रहृम (तै.उ.२.६) सत्यं ज्ञानं आनन्दं ब्रहृम (तै.उ.२.१.१), विज्ञानं आनन्दं ब्रहृम (बृ.आ.उ.३.९.२९) जस्ता उपनिषद् वचनले सर्वव्यवहारको चरातीतः ब्रहृमको चर्चा गरेको कुरा र वेदान्तीहरूले देश, काल, गति र फलहरूबाट मुक्त भूत, भविष्यत् र वर्तमान कार्यकारण भेदमुक्त ब्रहृम भनेर चर्चा गरेको कुरालाई स्वीकार्दै राईले पनि समयको सत्ता छैन भन्ने पौरस्त्य दर्शनको पक्षमा आफ्नो मत प्रकट गरेका छन् र त्यसका बारेमा लीलाले लेख्नुपर्ने तर्क गरेका छन् ।
त्यस्तै साङ्ख्य, मीमांसा, वेदान्त उपनिषद् आदिले कालको सत्ता नभएको उहिल्यै स्वीकारेको बताएर छैनलाई छ को रूपमा भ्रान्त बुझेको युक्ति दिएर लीलाबोधी लेखन त्यसतर्फ प्रवृत्त छ भन्ने स्पष्ट पार्न चाहेका छन् । त्यस्तै लीलाबोधी लेखनमा पदार्थ संघातमय छ । प्रकृति र पुरुषको सहयोगले सत्व, रज र तम तीन गुणको समभावमा आफूभन्दा भिन्न गुण भएकालाई दवाउन र आफ्नो वशमा पार्नको निम्ति गरिने गुणक्षोभबाट उत्पन्न हलचलबाट सृष्टिको उत्पत्ति हुन्छ भन्ने साङ्ख्य मतको मान्यतालाई अणुवादको युक्ति दिएर कार्यकारण सम्बन्ध नै छैन सूक्ष्मकण जगत्मा । सूक्ष्मकणहरू मनपरी कुद्ने र ठोक्किने कार्य गर्दछन् भन्ने मान्यतासँग जोडेर साङ्ख्यको सृष्टिवादी मान्यतालाई लीलाबोधी लेखनले पनि अनुभूत गरेको सङ्केत गरेका छन् साथै द्वैतवादको प्रयोग लीलामा भएको बताएका छन् ।
त्यस्तै बुद्धको प्रतीत्यसमुत्पाद, घटनाहरूको कुनै न कुनै कारण हुन्छ (कार्यकारणवाद/नियति) कुनै पनि वस्तु क्षणभरमा नासिन्छ, नित्य शाश्वत् छैन । वस्तुको यथार्थ स्वरूप सत्य छ या असत्य वा न सत्य न असत्य छ ? शून्यवाद सापेक्षवाद हो भन्ने बौद्ध दर्शनको मान्यतालाई आफ्ना विचारहरूद्वारा व्यक्त गरेका छन् । जैनको स्याद्वाद, जति द्रव्यलाई देख्छौँ ती सबै सत्य छन् । वस्तुलाई अनेक दृष्टिकोणले हेर्न सकिन्छ अनि प्रत्येक दृष्टिकोणले एउटा छुट्टै निष्कर्ष दिन्छ । वस्तुका रूपको परिभाषा दिनमा हामी धेरै सतर्क हुनु पर्दछ र आग्रहसहितको भनाइबाट बच्नु पर्दछभन्ने जैन दर्शनको मतलाई त लीलाबोधी लेखनले आफ्नो घोषणा पत्रभित्रै राखेको पाइन्छ ।
त्यतिमात्र होइन राईले पूर्वजन्ममा पनि हामी थियौँ, अहिले छौँ र फेरि हाम्रो पुनर्जन्म हुनेछ भन्ने हाम्रो महाविश्वास हो । त्यो धार्मिक महाविश्वास मात्रैमा सधैँ राखिछाडौँ हामी त्यसलाई । त्यसलाई साहित्यमा नल्याऔँ ? अब यसलाई यहाँनेर ल्याऔँ पूर्वजन्म, पुनर्जन्म र वर्तमानजन्मको विश्वासलाई हामी भनेर पौरस्त्य धर्म र दर्शनको मान्यतालाई आफूहरूले स्विकार्दै आएको र त्यसलाई साहित्यमा नयाँ शैलीले उतार्ने प्रक्रियास्वरूप लीलाबोधी लेखन तयार भएको कुरालाई अझ स्पष्ट गरेका छन् ।
नयाँभन्दा नयाँ कुरा पश्चिमको र पुरानोभन्दा पुरानो कुरा पूर्वको दुवैलाई लिएर लीलाबोधी लेखन गर्न सकिन्छ । वास्तवमा पूर्वमा उहिल्यै भनिआएका यस्ता कुराहरूलाई पश्चिमले आज प्रमाणित गर्दैछ भन्ने कुरालाई जोड दिएर उठाउने काम लीलाबोधी लेखनमा भएकाले यो पौरस्त्य दर्शनको चिन्तनमा बढी भर पर्न सकिने दर्शन हो भन्न सकिन्छ । यी केही दृष्टान्तहरूबाट नै लीलाबोधी लेखन पौरस्त्य दर्शनबाट प्रभावित भएको मान्न सकिन्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच