क्रिकेट लिगको उपाधी बगरफाँटको रिभरसाइडलाई

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रथम जिल्ला स्तरीय क्रिकेट लिग प्रतियोगिताको उपाधी बेनी नगरपालिका-२ बगरफाँटस्थित रिभरसाइड युवा क्लव बगरफाँटले जितेको छ ।

शनिवार बेनीको खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा रत्नेचौर क्रिकेट समूहलाई दुई रनले पराजित गर्दै रिभरसाइडले उपाधी जितेको हो ।

टस जितेर पहिलो व्याटिंग गरेको रिभरसाइडले दिएको एक सय ४४ रनको लक्ष्यमा रत्नेचौरले एक सय ४१ रन बनाएको थियो । प्रतियोगितामा रिभरसाइड युवा क्लवका सचिन कार्की र नेत्र हुमेन (रिजाल) ले सर्वाधिक सात विकेट लिएका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्समेनमा आकाश कर्म र प्लेयर अफ द सिरिजमा बालकृष्ण रोका रहेको जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले बताउनुभयो ।

“अब नियमित प्रतियोगिता हुन्छ,यसपटक हामीले धेरै माया पाएका छौँ” अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा नियमित वन डे,लिग तथा टी-ट्वान्टी श्रृङ्खलाहरुका लागि खेलकुद तथा सरोकारवाला निकायबाट सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उपाधी विजेता रिभरसाइडले ट्रफिसहित नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको छ भने उपविजेता रत्नेचौरले ट्रफीसँगै नगद रु १० हजार पाएको छ ।

पर्यटन र खेलकुद विकासमा पनि बगरफाँटका युवा

बगरफाँट रिभर साइड युवा क्लबका युवाहरु प्रशस्तै पर्यटकीय सम्भावना रहेको बगरफाँट गाउँको पर्यटन विकास र खेलकुदमार्फत गाउँलाई चिनाउने अभियानमा लागेका छन् ।

खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा लागेका हुन् ।

उनीहरुले यहाँको कोप्रे झरना, उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने र प्रचारप्रसार गरेर गाउँमा पर्यटक भित्राउने काम गर्दै आएका स्थनीय समाजसेवी नारायण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरु रहेको बगरफाँट गाउँलाई पर्यटनमार्फत संसारभरि चिनाउने अभियानमा क्लबका युवा लागेका छन् ।

यहाँ पानी उड्ने उडाइनो छहरा, आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवाल, गुफालगायतका पर्यटकीय स्थल रहेका स्थानीय युवा सचिन कार्कीले जानकारी दिनुभयो ।

प्रचारप्रसार, मर्मतसम्हार र संरक्षणको अभावमा ‘बत्ती मुनिको अँध्यारो’जस्तै बनेका यहाँका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने कार्कीले बताउनुभयो । “पुछारमा नागबेली पर्दै म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन्”, उहाँले भन्नुभयो, “बीचको समथर भागमा मिलेको बस्तीसहितको बगरफाँटमा देखिने गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरु मक्खै पर्ने गर्दछन् ।”

बाहिरबाट यहाँ आएका मानिसको मुखबाट ‘आहा बगरफाँट !’ भन्ने शब्द निस्कने गरेको स्थानीय मीनबहादुर कार्कीले बताउनुभयो । बगरफाँट गाउँ घुम्न र यहाँका पर्यटकीय स्थलहरुमा रमाउन टाढाटाढाका मानिसहरु आउन थालेका उहाँले बताउनुभयो ।

स्थानीय समावसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्रमाथि रहेको चट्टानको थुम्कोमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको क्लबका पूर्वअध्यक्ष एवं सल्लाहाकार इन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । यहाँ मन्दिरसम्म पुग्नका लागि बनाइएका आकर्षक सिँढी, पक्की बाटो र मन्दिरको तल्लो भागमा अलगअलग थान बनाई राखिएका विभिन्न देवीदेवताका मूर्तिले गाउँको सौन्दर्यलाई बढाउनाका साथै धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको उहाँको भनाइ थियो ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेट दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेकाले उनीहरुको कामलाई पालिकाले सदैव सहयोग गर्ने बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । युवाहरुले गाउँलाई चिनाउँदै समाजलाई सङ्गठित बनाउने उद्देश्यले काम गरिरहेकाले यस कार्यबाट पर्यटन विकासमासमेत टेवा पुगेको उहाँको भनाइ थियो ।

वडाध्यक्ष कार्कीका अनुसार युवाहरूको पहलमा यहाँ ५५ मिटर चौडाइ, एक सय मिटर लम्बाइको खेलमैदान निर्माण भएको छ । “करिब रू २५ लाखको लागतमा निर्माण भएको उक्त खेलमैदान यहाँका युवाहरुका लागि वदरदान सावित भएको छ” वडाअध्यक्ष कार्कीले भन्नुभयो । वडाअध्यक्ष कार्कीले बगरफाँट खेलाडीहरूको गाउँ भएको बताउँदै यहाँका युवाले जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा सम्मानित हुँदै आएका बताउनुभयो । उहाँका अनुसार गत वर्षको माघमा पोखरामा भएको फुटसल प्रतियोगितामा क्लबका युवाले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?