श्रद्धाञ्जलि लोकतान्त्रिक आन्दोलनका महानायक लौहपुरुष गणेशमान !

बद्रीप्रसाद दाहाल
Read Time = 19 mins

चुनावी रन्कोमा रन्थनिएका नेपालका दलहरू, (विशेष गरेर नेपाली कांग्रेसले ‘प्रजातन्त्रका पिता’ (फादर अफ् डिमोक्र्यासी) सर्वमान्य सर्वोच्च नेताको १०८औं जन्मजयन्तीलाई महोत्सवको रूपमा मनाउन त्यति जाँगर लगाएन । त्यस्तै आफ्नो चुनावी सन्दर्भसित जोड्न पनि नसकेको आभाष भयो । जुन युुग पुरुषको अटल निष्ठा, साहसिक एवं चट्टानी अडानले राणाहरूको एकतन्त्रीय जहानियाँ शासन र निर्दलीय पञ्चायती व्यवस्थाले घुँडा टेक्न पुुग्यो । विधानमाथि रहेको राजतन्त्र संविधानबाट तल रहने परिपाटीको थालनी गराउन जसले जिन्दगीभर सशस्त्र, निःशस्त्र, एवं भूमिगत आन्दोलनमा आफ्नो ज्यानलाई खुकुरीको धारमा राखेर निर्भयसाथ लडिरहृयो ।

त्यस्ता होनहार राष्ट्रवादी लोकतान्त्रिक महानायकको न त विभिन्न सञ्चारगृह र सम्बन्धितहरूले परिचर्चा गर्न मसी खर्चिए । त्यसैले त लोकतन्त्रको राग अलाप्नेहरूलाई सत्तामा अलमस्त भएर राजनीतिलाई व्यवसाय तथा द्रव्यार्जन गर्ने गैरप्रजातान्त्रिक चरित्र देखाएपछि थप्पड हान्दै राजनेता गणेशमानले भनेका थिए : ‘राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो व्यापार हुन्छ’ । हो, आज नेपालको राजनीतिलाई दलीय शीर्षहरू व्यापारीकरण गर्नै तल्लीन छन् भन्दा अतिसयोक्ति हुुँदैन ।

ईश्वरीय चिन्तन, लोकजीवनमा एउटा संग्राम पुरुषले दिने विश्वासको राजनीति, अनि सर्वसत्तावादी चिन्तनले गाँजेको मस्तकको अदूरदर्शी सोचका तन्तु-तन्तु केलाउने गणेशमानको खुबी प्राज्ञिक, बौद्धिक र रानीतिक चिन्तक तथा अभिकर्ताहरूका लागि समेत वैचारिक ऊर्जा नै बन्न पुगेको छ ।

क्रान्तिपुरूष गणेशमानको जन्म विसं १९७२ कात्तिक २४ गते काठमाडौं यटखा टोलमा भएको थियो । हरिमान सिंहका नाति सुब्बा ज्ञानमान र सुभद्रा कुमारी (सानुनानी) का ज्येष्ठ सुपुत्रको रूपमा जन्मेका गणेशमान नेपालका क्रान्तिपुरुष, लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ व्यक्तित्व, राष्ट्रियता-लोकतन्त्र र समाजवादका स्तम्भ तथा लौहपुरुषको रूपमा परिचित नाम हो । ‘उल्टो मन्त्र जपेर ईश्वरको दर्शन चाहिँ पाइँदैन, यो शरीरमा रगतको एक थोपा रहुन्जेलसम्म कसैलाई धोका दिन्न, एकपटक बाघलाई चढिसकेपछि त्यो बाघबाट आजसम्म कोही तानाशाहहरू उत्रेका छैनन् फेरि सदाको निम्ति बाघको पिठ्यूमा बसौं भन्दा त्यो पनि सम्भव हुँदैन ।’

माथिका यी कालजयी सारपूूर्ण अभिव्यक्ति कति अनुभूतिजन्य र सटिक छन् । ईश्वरीय चिन्तन, लोकजीवनमा एउटा संग्राम पुरुषले दिने विश्वासको राजनीति, अनि सर्वसत्तावादी चिन्तनले गाँजेको मस्तकको अदूरदर्शी सोचका तन्तु-तन्तु केलाउने गणेशमानको खुबी प्राज्ञिक, बौद्धिक र रानीतिक चिन्तक तथा अभिकर्ताका लागि समेत वैचारिक ऊर्जा नै बन्न पुगेको छ । छ वर्षको कलिलै उमेरमा पितृवियोग सहन बाध्य ‘गणेशमान’ सिंह परिवारमा लामो अन्तरालपछि जन्मिएका नाति भएकै कारण वंशकै खुशी, उत्साह रआनन्दका प्रतीक बनेका थिए । त्यसैले त उनलाई सबैले ‘हिरा’ समान ठानेर घरायसी नामै त्यही भनेर सम्बोधन गर्दथे । उनी काजी खानदानका भएका हुँदा पछि हिरामा काजी जोडिएर ‘हिराकाजी’ नाम रहृयो । ‘हुने बिरुवाको चिल्ला पात’ भनेझैँ गणेशमान सानैदेखि नै मेधावी, साहसी र स्वाभिमानी थिए । त्यति बेला नेपालमा राणाशासनको दबदबा थियो ।

राणाहरूको हैकमवादी, एकवंशीय चिन्तन तथा चाकडी प्रवृत्ति देखेर उनको मनमस्तिष्कमा विद्रोहको बारुद भरिन पो लाग्यो । उनका आफ्ना बडाबाजे काजी रत्नमानको त्यो समय विशेष राजकीय धाक–रबाफ थियो । ठूला र संभ्रान्त परिवारमा जन्मिएका कारण गणेशमानको प्रारम्भिक शिक्षा घरमै शिक्षक राखेर भयो । समयको अन्तरालमा उनलाई दरबार हाइस्कुलमा कक्षा पाँचमा भर्ना गरियो । छ कक्षामा अध्ययन गर्दाताक गणेशमानले आपूmबारे निष्कपट भाव यसरी व्यक्त गरेका छन् : ‘छ कक्षामा हुँदा म अलि मापाको थिएँ, त्यसैले कक्षामा म जसलाई पायो त्यसलाई पिट्दथेँ । एक दिन त्यही कक्षामा पढ्ने राणाजीलाई पिटिदिएछु, त्यस कारण मलाई हेडमास्टरले बोलाएर बेतको लठ्ठीले पिट्नसम्म पिटे । लगत्तै म स्कुलबाट भागेर घर आएँ । त्यसपछि त विद्यालय नै जान छाडिदिएँ’ । यही घटनाले उनलाई राणाविरोधी बन्ने थिति बनायो ।

राणाजीको छोरोलाई कुटेको हुँदा माफी माग्नु अनिवार्य थियो तर गणेशमानले कड्केर भने : ‘विद्यार्थी-विद्यार्थीबीच सानो र ठूलो भन्ने हुँदैन, सबै विद्यार्थी बराबर हुनुपर्छ म माफी माग्दिन । पछि वि.सं. १९९३ तिर उनी कलकत्तातर्फ लागे । यस क्रममा उनले विद्यासागर कलेजबाट प्राइभेट परीक्षा दिएर म्याट्रिकुलेसन प्रथम श्रेणीमा उत्तीर्ण गरे । लगत्तै कलकत्ताकै प्रेसिडेन्स कलेजमा आइएस्सीमा पढ्न थाले । त्यतिखेर भारतमा अंग्रेज उपनिवेशविरुद्ध भारतीय जनताको आन्दोलनले उत्कर्ष हासिल गर्दै थियो । यो क्रान्तिकारी परिवर्तनको लहरले गणेशमानको युवा मष्तिष्कलाई पनि हौस्याएर हल्लायो । भारतका राष्ट्रपिता एवं शान्तिदूत सत्याग्रही राजनेता मोहनदास करमचन्द गान्धी तथा अन्य योद्धाहरू महमद अली जिन्ना, नेताजी सुभासचन्द्र बोष, बल्लभभाइ पटेल, सरोजिनी नायडूू र जबाहरलाल नेहरूजस्ता स्वतन्त्रता सेनानीहरूबाट उनको परिवर्तनकामी क्रान्तिकारी धारलाई उन्नयन गराउन थाल्यो । यसै सिलसिलामा गणेशमान नेपाल फर्किए । महात्मा गान्धीलाई प्रेरणास्रोत ठान्दै उनी बोले-‘म महात्मा गान्धीझैँ देवता बन्न राजनीतिमा लागेँ ।’ यसरी राजनीतिलाई समाजसेवाको उदात्त कर्मको रूपमा चित्रण गर्ने सामथ्र्य राख्थे लौहपुरुष । वास्तवमा गणेशमान राजनीतिलाई देवत्व-आचारको प्रतीक ठम्याउँथे ।

त्यसै भएर त उनको दरो मान्यता थियो- ‘राजनीतिबाट नैतिकता झिकिदियो भने व्यापार हुन्छ ।’ गणेशमानको दृढता र अडानदेखि प्रभावित भएर जननायक बिपीले पनि नतमस्तक हुँदै भनेका थिए- ‘गणेशमान साहसका प्रतिमूर्ति र राष्ट्रियताका अटल पुजारी हुन् ।’ उनको राष्ट्रियताप्रतिको दर्बिलो मान्यता कुनै पनि तागतले हल्लाएर हल्लिनेवाला थिएन । वास्तवमा प्रतिबन्धित कालमा ‘दल’ भनेको जनहितको लागि परिवर्तन चाहने जनतान्त्रिक शक्ति हो । ‘नेता’ भनेका त्याग, तपस्या र निष्ठाका प्रतिमूर्ति हुन् भन्ने आदर्श मान्यताले लोकतन्त्रप्रेमी जनताका हृदयमा घर गरेको थियो । त्यसैले त त्यो बेलाको बुलन्द आवाज थियो : ‘क्रान्तिपुत्र भई नेपाल आमाको मुहार हँसाऊँ, जीवन बलिदानको लागि हो ।’ विडम्बना ! नेपालमा आज दलहरू स्वार्थी, पूरै चमेरे चरित्र, अवसरवादी, दलीय आदर्शबाट स्खलित, गुटको मात्र झुण्ड हुन पुगेका र जसरी पनि सत्ता हत्याउने कुचिन्तनले ग्रस्त बनिरहेका छन् । राम्रोलाई भन्दा हाम्री र हाम्रोलाई प्राथमिकता दिने हुँदा त्यागीको ठाउँमा रागी, दागी तथा महापापी ठग, तस्कर गुण्डाका बथानलाई प्रश्रय पाइरहेका छन् । यो सबैका लागि विडम्बना बनेको छ र लोकतन्त्रमाथि मात्र होइन राष्ट्रियतामै खतरा पैदा गरिरहेको छ ।

शहीद गंगालालसित राजनीतिक पार्टी खोल्ने सल्लाह गणेशमानले गर्दा गंगालालले भनेछन्, ‘त्यो प्रजापरिषद् भन्ने पार्टी खुलेकै छ त्यसैलाई खोजौँ’ यसै सिलसिलामा गणेशमान सिंह र गंगालालले काठमाडौंको शोभा भगवती मन्दिरमा धर्मभक्तसमेत भएर सो दलको पार्टी सदस्यता लिएको रोचक कथा छ । लगत्तै उनको १९९७ विसं मा मंगलादेवीसित विवाह भयो । प्रजापरिषद्का नायकहरू टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, चूडाप्रसाद आदिसितको बसउठ बढेको पत्ता लागेर ९७ साल कात्तिक २ गते गणेशमान पक्राउ परे । त्यतिखेर गिरफ्तारमा परेका सबैलाई निर्मम यातना दिने चलन थियो । गणेशमानलाई अंश सर्वस्वसहित आजीवन कारावासको दण्ड दिइयो ।

जेलमा उहाँलाई राणाहरूकै उपस्थितिमा उल्टो झुण्ड्याएर पिट्थे, रगत बान्ता गर्दा पनि निर्ममतापूर्वक यातना दिइरहिन्थ्यो । राजनीतिज्ञ होराप्रसाद जोशीका शब्दमा, ‘प्रजातन्त्रका लागि गणेशमानजीले जति दुःख सहनु भएको छ, त्याग र तपस्या गर्नु भएको छ, त्यति गर्ने मान्छे मैले नेपालमा अर्को पाएको छैन’ । क्रान्ति युवकबाट मात्र हुन सक्छ भन्ने विश्वास गर्थे गणेशमान । राजनीतिज्ञ स्व.श्रीभद्रको भनाइमा गणेशमानजी लौहपुरुष नै हुनुहुन्थ्यो, लौहपुरुष भनेको फलाम जत्तिकै जति गर्दा पनि नभाँचिने स्वभाव भएको व्यक्ति हो, जुन कुरा उहाँको जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ । जनताले सहज रूपमा दिएका ‘सर्वमान्य, सर्बोच्च नेता, फादर अफ डिमोक्य्रासी’ भन्ने उपाधिहरू सार्थक छन् । गणेशमानको शब्दचित्र गतार्दै शेषराज दली, ‘अथक शब्दको मर्मसित अथक नेता गणेशमानको जीवनले मेल खान्छ ।’ नेपालका प्रसिद्ध इतिहासविद् चित्तरञ्जन नेपालीको दृष्टिमा, ‘उहाँ साँच्चैको सच्चा राजनेता हुनुहुन्थ्यो, १९९७ देखि जीवनरहेसम्म पछाडि फर्केर नहेरी निरन्तर हिँडिरहनु राजनेताको गुण हो । लौहपुरुष त उहाँ पक्कै हुनुहुन्थ्यो ।

त्यसैले अधिकांश सचेतहरू निचोडमा पुगेर शिर झुकाउँदै भन्छन्, ‘गणेशमान मानिसभन्दा धेरै एउटा विचार हो, आममानिसहरूको संयुक्त इच्छाको एउटा प्राकृत प्रकट हो, स्वतन्त्र वातावरण र स्वतन्त्र रहने विचार हो । उनी कहिल्यै पनि नमर्ने विचार हुन् । कुनै बेला कहीँ कतै नेपालीले कुनै अन्यायको विद्रोह गर्दै सत्यतथ्यका लागि संघर्ष गर्छ भने त्यो व्यक्ति नै गणेशमान हो ।’ कति अग्लो आस्था र आत्मविश्वासको भावना मुखर छ सर्बोच्च नेता गणेशमानप्रति ! न त आफ्नो पार्टी हाइकमानसित नै । त्यसैले त उत्तरार्ध वयमा पुुग्दा नेपालका दलमा देखिएका विसंगतिसित लाप्पा खेल्दै बोले- ‘पार्टीभित्र हिजोआज पद र शक्तिको संघर्ष बढी छ तर विचारको संघर्ष भने एकदमै कम छ । पार्टीमा नीतिको राज नभएर नेताको हैकम चल्ने प्रवृत्ति बढेको छ । सबैले समान अवसर पाएनन् भने जातीय असन्तोष बढेर जान्छ, साम्प्रदायिकताले देशमा अस्थीरता ल्याउँछ’ । गणेशमानका कालजयी यी विचार कति दूरवर्ती रहेछन् भन्ने कुरा आज सिद्ध भइरहेको छ ।

प्रजापरिषद्का नायकहरू टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, चूडाप्रसाद आदिसितको बसउठ बढेको पत्ता लागेर ९७ साल कात्तिक २ गते गणेशमान पक्राउ परे । त्यतिखेर गिरफ्तारमा परेका सबैलाई निर्मम यातना दिने चलन थियो । गणेशमानलाई अंश सर्वस्वसहित आजीवन कारावासको दण्ड दिइयो ।

त्यसैले त उनले पार्टीभन्दा माथि उठेर यस्ता सूत्र निर्देश गरे : ‘दलहरूले हमेसा सरकारको मूल्यांकन र त्यसको जानकारी जनसमक्ष गराउनु, पार्टीले आन्तरिक एवं बाहृय संवादलाई चलाइरहनु, राजनीतिक स्थीरताका लागि राज्यका तीन प्रमुख अंग स्वतन्त्र हुनुपर्छ र मानव अधिकार अकुण्ठित रहनुुपर्छ तथा देश हाँक्नेहरूको नैतिक मापदण्ड नेताले अपनाउनुपर्छ, जहाँ संसदीय व्यवस्था, प्रजातन्त्र, राष्ट्रियता र जनताको सबाल हुन्छ त्यहाँ राष्ट्रिय सहमति हुनुपर्छ । प्रजातान्त्रिक समाजवादअनुसार कांग्रेसले ठूला कार्यक्रम ल्याउन भौतिक पूर्वाधारमा सुधार गर्नु जरुरी छ, शान्तिसम्झौता गर्दा जनता र देशलाई अगाडि राखी राष्ट्रिय पुँजी तथा उद्योगको संरक्षण गर्नुपर्छ अनि जनआन्दोलनका शक्तिहरू कम्तीमा तीन पटकसम्मको निर्वाचनमा सँगै जानु अनिवार्य हुन्छ ।’ माथिका यी संकथनले साँच्चै गणेशमान कस्तो राष्ट्रिय स्वाभिमानको धरोहर हुन् ? कस्तो लोकतान्त्रिक समाजवादको वास्तुकार हुन् ? कस्तो न्यायपूर्ण समाजको निर्माण गर्ने समाजशास्त्री हुन् ? कस्तो आर्थिक प्रणालीको व्यूहकार हुन् ? उनीमाथि गम्भीर शोध र उत्खनन्को आवश्यकता छ । एक दलीय सर्वसत्तावादको वकालत गर्ने उद्दण्ड कम्युनिष्टलाई आफ्नो नेतृत्वको अम्ब्रेलामा ल्याएर संयुक्त आन्दोलनद्वारा निरंकुश सत्ता धराशयी पार्ने पुरुषार्थ उनको चानचुने व्यवस्थापन क्षमता होइन । लोकतन्त्र र मानवअधिकारको संघर्षका अथक योद्धा भएकै कारण उनी अमेरिकाबाट सन् १९९० मा ‘पिसरन’ अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित पनि भए ।

अवसरवादी तत्व जहिले पनि शब्दको मीठो खेल खेलेर आफ्नो कुकार्य लुकाउन खप्पिस हुन्छन् भन्ने आइरन म्यान लेलिनको उद्गारलाई दुत्कार नगर्ने उनको लौह व्यक्तित्वले कहिल्यै राजामहाराजाको दर्शनभेटलाई बिन्ती बिसाएन । भीष्मप्रतिज्ञ उनको जीवन सगरमाथाझैँ उच्च र धवल छ । यतिखेर दलदलमा फसेका नेपालका राजनीतिक दलहरूले क्रान्तिनायक, राष्ट्रियताका प्रबल पहरेदारप्रति श्रद्धा चढाउने हो भने अहिलेको संक्रमणकालीन संगीन देशको अवस्थामा अर्को गणेशमान भएर चिन्तनको आँट गरौँ । श्रद्धाञ्जलि राष्ट्रियताका पुजारी वीर गणेमान ! अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?