पिएनजीमाथि नेपालको लगातार जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । पपुवा न्युगिनी(पिएनजी)माथि लगातार जित हात पार्नेक्रममा नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग-२ को खेलमा ५२ रनको जित हात पारेको छ । यसै हप्ताको सुरुवातमा पिएनजीमाथि दुबईमा भएको अवे त्रिकोणात्मक ओडिआई सिरिजमा पिएनजीलाई नै नेपालले लगातार दुई खेलमा हराएको थियो । बिहीबारको जितसँगै नेपालले विश्वकप छनोटमा स्थान बनाउने सम्भावना पनि कायम राखेको छ ।

नेपालले अब प्रतियोगितामा एक खेल जितेमात्रै सोझै ओडिआई मान्यता निरन्तरता गर्नेछ । नेपालले तीन खेल खेल्न बाँकी छ । यो जितसँगै नेपालको ओडिआई मान्यता जोगाउने सम्भावना पनि बढेर गएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा सबै विकेट गुमाएर २५४ रनमा समेटिएको थियो ।

पिएनजीका नर्मन भानुवाले ५५ बलमा ३ चौका र ४ छक्कासहित ६० रन जोड्नुभयो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्नुभए पनि पिएनजीले त्यसको फाइदा उठाउन सकेन ।

ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट हुनुभयो । ओपनर टोनीले ४४ बलमा ९ चौकासहित ५० रन जोड्नुभयो । सन्दीप लामिछानेले ३३ औँ ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड र अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि खेल नेपालतर्फ ढल्किएको थियो । यस्तै, असद भाला ४२ रनमा आउट हुनुभयो । उहाँले ५३ बलमा २ चौका र २ छक्का प्रहार गर्नुभयो । राइली हेकुरे २० रनमा आउट हुनुभयो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । यस्तै, दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट तथा कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँच बल बाँकी रहँदा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा बनाएको यो हालसम्मकै सर्वाधिक उच्च योगफल थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ११० रन बनाउनुभयो । उहाँले ११० बल खेल्दै दुई छक्का र १२ चौका प्रहार गर्नुभयो । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आशिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौँ नम्बरका खेलाडी बन्नुभयो । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गर्नुभएको थियो ।

त्यस्तै, आसिफले एकदिवसीय आफ्नो करिअरको एक हजार रनसमेत पूरा गर्नुभयो । एक हजार रन पूरा गर्ने नेपालका उहाँ दोस्रो खेलाडी बन्नुभयो । यसअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गर्नुभएको थियो । कुशल भुर्तेलले ४५ रन थप्नुभयो । उहाँले ५६ बलमा ६ चौकासहित ४५ रन जोड्नुभयो । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गर्नुभएको थियो ।

यस्तै, रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट हुनुभयो । त्यस्तै, ज्ञानेन्द्र मल्लले ११, दीपेन्द्रसिंह ऐरी ७, भिम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोड्नुभयो ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिनुभयो भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिनुभयो । अब विश्वकप क्रिकेट लिग-२ को शीर्ष तीनभित्र रहँदै विश्वकप छनोट खेल्न नेपाललाई बाँकी तीनवटै खेलमा जित आवश्यक छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई तीनमध्ये एक खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग-२ मा नेपालले हालसम्म ३३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?