अध्यक्ष ओलीप्रति काँग्रेसले लगाएको आरोपको क्षमा नमागे राजनीतिक प्रतिवादमा उत्रिन्छौँ : विष्णु पौडेल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरु सुनेर नबस्ने चेतावनी दिनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निस्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताउनु भयो ।

काँग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रुपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी दिनुभयो । उहाँले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन काँग्रेस तयार नरहेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताउनु भयो । सान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरुले, पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको छ । पछिल्ला दिनमा नेकपा एमालेका बिरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका बिरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहिन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली काँगे्रसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली काँग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरुबाट पद्धि हट्दैन भने नेकपा एमाले यस्त अभिव्यक्तिका बिरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रिन्छ । उठेको जुन विषय छ, त्यसका बारेमा सार्थक र एउटा संवादबाट सहमतिमा पुगौँ भन्ने कोशिस छ, काँग्रेस कोशिस बिथोल्ने काममा उद्धत छ । हाम्रो स्पष्ट भनाइ के छ भने नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, काँग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली काँग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन । काँग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरु सुनेर बसिरहने पक्षमा छैन ।’

उहाँले नेपाली काँग्रेसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?