२०८१ जेठ ९ गते मेलबर्नबाट दक्षिण अष्ट्रेलियाको एडिलेड शहर घुम्ने ध्येयले सार्वजनिक बसबाट यात्रा गर्ने निर्णय हाम्रा लागि अवसर र चुनौती दुवै एकसाथ उपस्थित भयो । हवाईमार्ग सहज हुन्थ्यो तर हामी अष्ट्रेलियाको भूगोल, जनजीवन र विकासको चकाचौध हेर्न आएका कारण स्थलमार्ग नै उत्तम विकल्प लाग्यो । तसर्थ सडकमार्गको लामो यात्राको अनुभव लिने ध्येयले नै मेल्बर्नदेखि एडिलेडसम्मको करिब आठ सय किलोमिटर लामो यात्राको योजना बन्यो । ज्वाँइबाबु अनिल जोशीले अनलाइनबाट सार्वजनिक बसको टिकट लिनुभयो । जेठ ९ गते बिहान हामी एडिलेड यात्राको तयारीका लागि चाँडै उठ्ने र समयमै मेल्बर्नको केन्द्रीय बस टर्मिनल पुग्ने योजना अनुसार बिहानको पाँच नबज्दै मेल्बर्न सिटीतिर लाग्यौँ ।
ज्वाइँ अनिलको समयलाई ध्यानमा राखेर बस छुट्नुभन्दा करिब दुई घण्टाअघि हामी बस टर्मिनल पुग्यौं । हाम्रो बस प्लेटफर्म नम्बर ५७ मा लाग्ने थाहा भयो । अनिल जोशी फर्केपछि हामी श्रीमान् श्रीमती ५७ नम्बरको प्लेटफर्म नजिकैको बेञ्चमा प्रतीक्षारत रहृयौं । यात्रुहरूको बाक्लो उपस्थितिमा पनि बस टर्मिनलको वातावरण हतारो, भागदौड साथै हल्लाखल्ला पटक्कै थिएन । नेपालमा यति धेरै मानिसहरू ओहोरदोहोर गर्ने ठाउँमा यस प्रकारको शान्ति कल्पनासम्म हुँदैन । आफ्नो कारणले अर्कालाई कुनै प्रकारको नकारात्मक प्रभाव पर्छ कि भन्ने चेतना सो अनुसारका क्रियाकलाप व्यवहारमा अनुवाद गर्ने अष्ट्रेलियनहरूको चरित्र र कार्यशैली बाँकी संसारका लागि अनुकरणीय हुनुपर्छ ।
नेपालको शहरी क्षेत्रमा जताततै प्रहरी हुँदाहुँदै पनि सडक र नागरिक अनुशासनको खिल्ली उडेको देखेका यी आँखाले यहाँ प्रहरीको कहीँ कतै उपस्थिति देखेनन् । सवारीसाधन र नागरिकहरू स्वतः अनुशासित भएको अव्यवस्थाले हाम्रो देशको व्यवस्थापनको अवस्थासँग तुलना गर्दा अविश्वसनीय पनि लाग्छ ।
बसमा चढ्ने र झर्ने बेला कसैले कसैको पालो मिच्ने, धकल्ने अवस्था थिएन । अष्ट्रेलियनहरूको अनुशासन, धैर्य साथै संयमताको प्रशंसा गर्नैपर्छ । हाम्रो सन्दर्भमा यतिधेरै आवागमनबीच शान्ति र धैर्य अकल्पनीय विषय हुन् । मेलबर्नको विशाल व्यवस्थित बस टर्मिनल भवन परिसरको अवलोकन गर्दा नेपाल अव्यवस्थित बस टर्मिनलको स्मरणले आनन्द र पीडा मिसिएको अनौठो अनुभव भयो । मेलबर्नको बस टर्मिनल हेर्दा के मेरो देशले यस्ता संरचनाहरू बनाउन सक्छ ? जस्ता प्रश्नहरू मनमा उब्जिए । के मानिस खुशी र दुःखी एकैसाथ हुनसक्छ ? त्यो असम्भव अनुभव अष्ट्रेलिया भ्रमणले दिएको छ ।
विकसित देशहरूको भ्रमणका क्रममा देखिने विकासको चमत्कार साथै अनुशासन, नियम कानुन आदिको पालनाको अकल्पनीय व्यवस्था देख्दा र आफ्नो देशको गएगुज्रिएको अवस्थासँग तुलना गर्दा खुशी र दुःखी एकैसाथ बनाउँछ । नेपालको शहरी क्षेत्रमा जताततै प्रहरी हुँदाहुँदै सडक र नागरिक अनुशासनको खिल्ली उडेको देखेका यी आँखाले यहाँ प्रहरीको कहीँ कतै उपस्थिति देखेनन् । सवारीसाधन र नागरिक स्वतः अनुशासित भएको अव्यवस्थाले हाम्रो देशको व्यवस्थापनको अवस्थासँग तुलना गर्दा अविश्वसनीय पनि लाग्छ । अर्को कुरा अष्ट्रेलियामा कामप्रति मानिस इमानदार छ ।
भ्रष्टाचारको संकेत गर्ने या सूचना चुहाउने अधिकारीसमेत दण्डित हुने हुँदा भ्रष्टाचार असम्भवजस्तै प्रतीत हुन्छ । अनुशासनको प्रदर्शन र कानुन नियमको पालनाको विषय हाम्रो सन्दर्भमा अनौठो र अकल्पनीय भन्नुपर्छ । अष्ट्रेलियाको विकास, नियम कानुनको पालनाको परिस्थितिलाई नियाल्दा आनन्द हुन्छ भने जब आफ्नो देशसँग तुलना गर्न पुगिन्छ त्यस बेला भने मुर्छित बनाउँछ । यो दुर्भाग्यपूर्ण अवस्थाको जिम्मेवार हाम्रो राजनीतिक नेतृत्व हो भन्ने ठोकुवा गर्न पुग्छु तर तिनीहरूमा शासकीय नैतिकता, संवेदनशीलता मरिसकेको विषयले घाउ झनै चहर्याउँछ । ५७ नम्बर प्लेटफर्म अगाडि हामी प्रतीक्षारत रहेको बेञ्च नजिकै निर्धारित समयमै बस आयो । चालकले बस छुट्नुभन्दा आधा घण्टा अगाडिमात्र बसमा बस्ने अनुमति दिए ।
कूल ४९ सिट क्षमता भएको बसमा न खलासी न कन्डक्टर फगत चालकमात्रै थिए । बस छुट्नुभन्दा अगाडि चालकले बसमा यात्र गर्दा पालना गर्नुपर्ने नियमलाई राम्रोसँग व्याख्या गरे । सेतो सर्टमा रातो टाई र कमिजमा कुममा दज्र्यानी चिहृन भएको पोशाकले उनी बसको चालक भए पनि पाइलटजस्तै देखिन्थे । निर्धारित समयमै हाम्रो बस छुट्यो । बसको आकार, डिजाइन, बस्ने सिट आदि विशेष तरिकाले बनेको पायौं । अष्ट्रेलियामा लामो यात्रका बसमा शौचालय सामान्य रहेछ । तर शौचालय प्रयोग गर्दा सफाइमा विशेष ध्यान दिनुपर्ने विषयमा चालकले पूर्वजानकारी गराएका थिए । निर्दिष्ट समयमै मेल्बर्नबाट एडिलेड जाने करिब १२ घण्टा लामो सार्वजनिक तर आधुनिक सुविधा सम्पन्न बसको यात्रा प्रारम्भ भयो ।
बसको यात्रा कारभन्दा सुविधाजनक रहृयो । बस सडकमा गुडेको हो कि सडकमा बगेको हो छुट्ट्याउन कठिन हुन्थ्यो । सडकसाथै बसको गुणस्तरले यात्रालाई सुगम र रमणीय बनाएको अनुभव सधैंका लागि सम्झनामा कैद हुनेभए । चालक बस्ने सिट प्लेनको पाइलट बस्ने जस्तै थियोे । कम्प्युटर, सिसी क्यामेरालगायत विभिन्न आधुनिक उपकरणहरूले बस सुसज्जित थियो । चालकको सिटभन्दा माथिल्लो भागमा बसका खास खास नियमहरू डिस्प्ले स्क्रिनमा लेखेको देखिन्थ्यो । धुम्रपान निषेध र बसमा अनिवार्य बेल्ट लगाउने विषयलाई प्राथमिकताका साथ देखाएको थियोे । बसमा शौचालय भएको संकेत सजिलै देखिन्थ्यो । बसमा सफाइ र समयको पालनाका विषयहरूले सर्वाधिक प्राथमिकता पाएको विषय वास्तवमा बाँकी दुनियाँले अनुकरण गर्नुपर्ने अनुभव र अनुभूतिका दृष्टिकोणले उक्त बसयात्रा अविस्मरणीय बन्यो ।
निर्दिष्ट समयमा छुटेको बस टर्मिनलबाट बाहिर निस्कने बित्तिकै सडकले निर्धारण गरेको गति अनुसार निर्वाध अगाडि बढ्यो । यात्रुहरूको संख्या खासै थिएन । नगर क्षेत्रको रमणीय दृश्य र वातावरणबाट हामी नलोभिने कुरै भएन । बाटो र बस दुवैको गुणस्तरका कारण यात्राको सुरुवातमै यात्रा आनन्ददायी हुने निश्चित भयो । बसमा नेपाली र भारतीय मुलका यात्रीहरू थिएनन् । सडकले निर्धारण गरेको गति अनुसार बस आफ्नो गन्तव्यतर्फ लाग्दै गर्दा प्रकृति र मानवनिर्मित विकासका झलकहरूले हामीलाई आँखा झिम्क्याउन पनि फुर्सद थिएन । सडकमा गति निर्धारण, सडक अनुशासन र सडक बत्तीको संकेत र चिहृनहरूको पालना अनिवार्य थियो । जब शहरी क्षेत्रबाट बसले राजमार्ग समात्यो त्यसपछि बस प्रायः १००-११० को गतिमा गुड्न थाल्यो ।
सडकको दायाँबायाँ चालकले देख्ने गरी सडकमा र सडकमाथि राखिएका बोर्डमा समेत कति गतिमा गुड्ने भन्ने कुरा जताततै प्रष्टसँग लेखिएका छन् । निर्धारित गतिभन्दा बढी भएको खण्डमा दण्डित गर्न सिसी क्यामरा सक्रिय भएकाले गति बढी हँुदा जरिवाना तिर्नुपर्ने भएकाले चालकले सवारीसाधन निर्धारित गतिमा नै गुडाउँछन् । फेरि निर्धारित गतिभन्दा कम चलाउँदा पछाडिको सवारीसाधनलाई पर्ने प्रतिकूल प्रभावप्रति पनि त्यत्तिकै सचेतता अपनाउने हुनाले सबै सवारीसाधन सडकको निर्धारित गतिनुसार नै गुडेको देखियो । यात्राका क्रममा भिन्न भिन्न भूगोलको अवलोकन गर्ने अवसर जुट्यो । आवासीय क्षेत्र, पशुपालन क्षेत्र र जगंलका साथै शहरी क्षेत्रको अवलोकनको अवसरले अष्ट्रेलियाको भिक्टोरिया राज्य र दक्षिण अष्ट्रेलिया राज्यको अधिकांश भूभागको दर्शन गर्ने अवसर मिल्यो ।
जंगल करिब करिब दुई घण्टासम्म गुड्दा पनि न त जंगली जनावर देखिए न नेपालमा पाइने वनस्पति देखिए । हावापानी र भूगोलले वनस्पतिको भिन्नतालाई सजिलै देख्न सकिन्थ्यो । गाई, भेडा, बाख्रा र घोडा फार्महरूको अवलोकनको अवसर पनि यात्राले जुटायो । घाँसे मैदानमा समेत नेपालमा जस्तै घाँसका प्रजाति देखिएन । परालको संग्रह थिएन । सुकेको घाँस काटेर मेसिनले गोलाकार डल्लाहरू बनाएर राखेको देखियो । हजारौं हजार पशुपालन गर्नेहरूका पशुचौपायाहरू सबै खुला आकाशमा थिए । गोठको प्रबन्ध विरलै देखियो ।
मेलबर्नको केन्द्रीय बस टर्मिनलबाट बिहानको ७.१५ बजे छुटेको बस एक बजेमात्र होर्सहाम भन्ने शहरको रेल्बे स्टेसन अगाडि पाँच मिनेटका लागि रोकियो । रेल्बेको गेटमै रोकिएको बसमा केही यात्री चढे । बस कति समय रोकिन्छ त्यो सूचना भने चालकले सधैं दिन्थे । त्यसपछि डिम्बोला, नहिल, कानिभा आदि बस स्ट्याण्डहरूमा बस रोकियो । कतिपय बस स्ट्याण्डमा चढ्ने, झर्ने यात्रु नहुँदा पनि बीस पच्चीस सेकेण्डका लागि रोकिन्थ्यो । बोर्डरटाउन शहर भिक्टोरिया र दक्षिणी अष्ट्रेलियाको सिमानामा पर्दोरहेछ । बोर्डरटाउनको सीमाना पार गरेपछि खाना खाने समय ४५ मिनेटमात्रै हुन्छ भन्ने सूचना गर्दै बस केथ भन्ने स्ट्याण्डमा रोकियो । सबै यात्रु र चालकसमेत खानखान झरे ।
हामीसँग खाना साथमा थियोे, बसमै खायौं । दुई राज्यको सिमानामा आउनु अगावै भिक्टोरियाबाट फलफूल र हरियो तरकारी दक्षिणी अष्ट्रेलिया लैजान कडा प्रतिबन्ध रहेछ । यदि कसैले लग्यो भने जरिवाना हुने विषयमा सबै सचेत रहेछन् । फलफूल कि खानुस् कि डष्टबिनमा हाल्नुस् भनेपछि सबै फलफूल खाएर सक्ने ध्याउन्नमा लाग्यौं । दुईवटा हलुवाबेद भने खान नसकेर डष्टबिनमा फाल्यौं । निर्दिष्ट समयमा बस हिँड्यो । बस टिनटिनार, तैलेमबेण्ड, मुरेब्रिज, क्याफर्स हुँदै आउँदा फरक-फरक भूगोलको दर्शनको अवसर भने अविस्मरणीय रहृयो ।
अविकसित देशका सरकार, जनता, योजनाकारलाई अष्ट्रेलिया विकासको अध्ययन गर्ने र राम्रो शिक्षा प्राप्त गर्ने पाठशाला पनि हो । जुन देशका नागरिकहरूको अनुहारमा मुस्कान, खुशी देखिँदैन ती देशहरू आर्थिक प्रगति गर्न असफल हुन्छन् भन्ने कुरा अष्ट्रेलियन नागरिकको मुस्कानले प्रमाणित गर्छ ।
आवासीय क्षेत्रमा ठाउँ फरक तर घरको आकार प्रकार, उचाइ, डिजाइन, हरियाली र बनावट जताततै उस्तै भएकाले फरक ठाउँमा यात्रा गरेको अनुभूति नै नहुने अनुभव भयो । हाम्रो बस ग्रामीण क्षेत्रको बाटो हुँदै आएको हँुदा शहरी क्षेत्रहरू यदाकदामात्रै प्रवेश गरेको अनुभव भयो । एउटा अनौठो के अनुभव भयो भने सबै बस स्ट्याण्डहरूमा बस पूर्वनिर्धारित समयमै पुग्यो । साथै पूर्वनिर्धारित समयमै गन्तव्यमा लागेको विषयले अष्ट्रेलियाको समयको व्यवस्थापन कुशलतालाई जतिसुकै प्रशंसा गर्दा कम हुन्छ । हामीलाई करिब करिब १२ घण्टापछि पूर्वनिर्धारित समयमै एडिलेडको केन्द्रीय बस टर्मिनलमा पुर्यायो ।
एडिलेड निवासी मित्र आनन्द भण्डारीको घरमा जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी बाटोमा पनि भण्डारी सरसँग नियमित सम्पर्कमा थियौं । बसबाट ओर्लनुअगावै हामीले आनन्द र श्रीमती कमल हामीलाई पर्खेर बसेको देख्यौं । उहाँहरूसँग भेटघाटको खुशी साटासाट गर्दै हामी उहाँको निवासमा पुग्यौं । एडिलेड भ्रमणको आनन्द अब आनन्द दम्पतीसँगै हुने घुमफिर र भलाकुसारीमा केन्द्रीकृत भयो । यो जीवनकै अविस्मरणीय घटना बन्यो । सफाइ, अनुशासन, नियम-कानुनको पालन साथै जरिवानाप्रति आमनागरिकको सजगता, जागरुकता, संवेदनशीलता, चासो, निरन्तरता र तत्परता वास्तवमा अष्ट्रेलियन नागरिकहरूको सभ्यता संस्कार, संस्कृतिको वास्तविक परिचय हो ।
सफाइका विषयमा अष्ट्रेलियन नागरिकहरूको योगदानको वर्णन र व्याख्या जति गरे पनि कम हुन्छ । सडकलगायत वातावरणलाई कसरी सफा, स्वच्छ राख्ने भन्ने नागरिकको र सरकारको सामूहिक चिन्ता र चासोको प्रतिफल हो अष्ट्रेलियाको सुन्दरता र सभ्यता । सफाइ वास्तवमा अष्ट्रेलियाका नागरिकको सम्यता र संस्कृतिको परिचय हो ।
सरसफाइसम्बन्धी चेतना, क्रियाशीलता आदि विषयले अष्ट्रेलियाको विकासलाई प्रबर्धन गर्न निश्चित रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा कत्ति पनि अत्युक्ति हुँदैन । सफाइ, नागरिकहरूको शिष्टाचार शालीनता मुस्कान श्रमप्रतिको सम्मान लगनशीलता प्रशिक्षण साथै आधुनिक औजार र उपकरणहरूको सर्वाधिक उपलब्धता र प्रयोग, कानुन नियमको निष्पक्ष कार्यान्वयन, दण्ड जरिवानालाई सशक्त कार्यान्वयन गर्ने सरकारको सक्षम र प्रभावकारी कार्यप्रणाली साथै भ्रष्टाचारप्रतिको कठोर शून्य सहनशीलताजस्ता विशेषता नै अष्ट्रेलियाका विकासका पूर्वाधार हुन् ।
नागरिकको सुविधाका लागि औजार, उपकरण साथै प्रशिक्षणमा केन्द्रीकृत सरकारको ध्यान र चिन्तन विकासमा बामे सर्नेहरूका लागि राम्रो पाठशाला हो । अविकसित देशका सरकार, जनता, योजनाकारलाई अष्ट्रेलिया विकासको अध्ययन गर्ने र राम्रो शिक्षा प्राप्त गर्ने पाठशाला पनि हो । जुन देशका नागरिकहरूको अनुहारमा मुस्कान, खुशी देखिँदैन ती देशहरू आर्थिक प्रगति गर्न असफल हुन्छन् भन्ने कुरा अष्ट्रेलियन नागरिकको मुस्कानले प्रमाणित गर्छ । मुस्कान र खुशीलाई प्रबर्धन गर्ने योजनालाई कार्यान्वयन गर्न सफल अष्ट्रेलिया विकासका पूर्वाधारहरूको परिचालन कसरी गर्ने भन्ने कुरा सिक्ने सर्वाधिक उत्तम थलो हो भन्दा कत्ति अत्युक्ति नहोला । (दक्षिणी अष्ट्रेलियाको एडिलेडबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच