काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेन्टको आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । लाजिम्पाटस्थित हिमालय होटलमा २४औँ खुला एवं नवौँ महिला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । प्रतियोगिता बिहीबारसम्म हुनेछ ।
राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपका दुवै विधामा १२/१२ जना खेलाडी सहभागिता रहेका छन् । नेसनल ‘बी’ च्याम्पियनसिपबाट छनोट भएका पुरुष र महिला नौ÷नौ जना तथा २३औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरूको सहभागिता छ । राष्ट्रिय प्रतियोगितामा २३औँ नेसनल च्याम्पियनसिपका विजेता रूपेश जयसवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा र आठौँ नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र शान्ति धिमालले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
हालै भक्तपुरमा सम्पन्न नेसनल ‘बी’ बाट छनोट हुनुभएका खेलाडी पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजीव कार्की र श्रुसुरत दाहालले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यसैगरी महिला प्रतिस्पर्धीबाट नेसनल ‘बी’ मा छनोट हुनुभएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापती, पुनम प्रसाईं, श्रेया दुवाल र सविना गुजले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सुरवीर लामा थाइल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेका कारण वैकल्पिक खेलाडी खुलामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उहाँहरूको स्थानमा प्रतिस्पर्धा गर्नुभएको छ । त्यसैगरी, सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडका लागि पुरुषतर्फबाट तीनजना र महिलाबाट चारजनाले सहभागिता सुनिश्चित गर्नेछन् ।
प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष तीनमा रहने खेलाडीले आगामी वर्ष हुने २५औँ खुला तथा दशौँ महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेसनल ‘बी’ मा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच