संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ : गगन थापा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था वचत रकम संसदीय छानविन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्ने बताउनुभएको छ ।

सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताउनुभएको हो । गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानविन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले सो छानविन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको बताउनु भयो । महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, हामीले उठाएको विषय माननीय गृहमन्त्रीसँग जोडिएको छ । हामीले त सिधा नाम नै राखेर छलफल गरौँ भन्यौं । सुन्न त हामीले अन्तराष्ट्रिय समिति नै बनाउन तयार छौ भन्ने सुनिएकै हो । तर बन्द कोठामा मान्नुभएन । अनि हामीले सोच्यौं-भात जसरी खाएपनि उही हो । त्यसैले सुर्य दर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिवी होस कि, छवि होस कि, रवि होस कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानविन गर्छ । बयान लिन्छ । सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ-कानून बमोजिम कारबाहीको सिफारिस गर्छ । नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौं । यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन । समितिका बसेका सबै साथीहरुबाट हामी त्यही भुमिकाको अपेक्षा गर्दछौं । हाम्रो तर्फबाट जानु भएका साथीहरुले पनि त्यही नै काम गर्नुहुन्छ ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?