
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा हाई पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा सुरु भएको छ । चारदिने तालिममा करिब एक सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ । उनीहरूलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिनुहुनेछ ।
उक्त तालिम मंसिरमै अझै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौंमा २५ देखि २९ गतेसम्म हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको एक कार्यक्रमबीच तालिमको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान् किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो । तेक्वान्दोका खेलाडीद्वयले सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एसियाली खेलकुदमा सो पदक जित्नुभएको हो । दुवै नेपालमा भएको आठौँ दक्षिण एसियाली महासंघ खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुनुहुन्छ । उहाँहरूलाई सदस्य-सचिव घिसिङले प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।
उक्त अवसरमा सदस्य–सचिव घिसिङले ऐतिहासिक पदक विजेता सवितालाई लामो समयपछि प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको बताउँदै सविताले रजत पदक जितेको जानकारी आफूले पत्रपत्रिकामा पढेको स्मरण गर्नुभयो ।
‘ऐतिहासिक रजत विजेता सविताजीलाई लामो समयपछि भेट्न पाउँदा खुसी लाग्यो । संयोग नै भन्नुपर्ला, त्यो पनि उहाँले रजत जितेको २५ वर्षपछि कराँतेबाट एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जितेको बेला ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘सविताजीले पदक जितेको खबर मैले पत्रपत्रिकामा पढेको थिएँ । म त्यतिखेर स्कुलमा पढ्थेँ । सायद म १४ वर्षको थिएँ होला । आज पनि त्यो दिन मलाई याद छ ।
आजको भेटले त्यो क्षणलाई ताजा बनाइदियो । अझ आफ्नै हातले ऐतिहासिक पदक विजेतालाई सम्मान गर्न पाउँदा झन् खुसी लागेको छ । तपाईं दुवै (सविता र किशोर) जनालाई उत्तरोत्तर प्रगतिको कामना ।’
सदस्य-सचिव घिसिङले यो तालिम प्रशिक्षकलाई अपडेट र अपग्रेड गर्न महत्वपूर्ण हुने भएकाले हरेक संघले समयमा नियमितरूपमा यसप्रकारको तालिम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच