
काठमाडौं । गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका गजलमा कीर्तिमानी संगीतकार/गायक सन्तोष श्रेष्ठको स्वर गुञ्जिएको छ । शनिबार काठमाडौंमा एक विशेष समारोहबीच श्रेष्ठले गजलकारद्वयका ६ वटा गजल प्रस्तुत गर्नुभएको थियो । आफ्नै संगीत र स्वरमा गजलहरू प्रस्तुत गर्नुभएका सन्तोष अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताउनुहुन्छ । यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाले सुनाउनुभयो ।
कार्यक्रममा गजलकार ओझा र संगीतकार/गायक श्रेष्ठको गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत गरिएको थियो । संगीतकार राजु सिंहले ‘शुभेच्छा’ शास्त्रीय बहरमा लेखिएका गजलहरूको एल्बम भएको भन्दै नपाली गजल गायनका चार पुस्ता ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर समेटिएको बताउनुभयो । नेपाली गजल गायनका क्षेत्रमा ‘शुभेच्छा’ ऐतिहासिक र उदाहरणीय एल्बम भएको उहाँको दाबी थियो ।
गजलविज्ञ डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ले ओझा र कणेलका सुन्दर गजलमा संगीत र स्वरसहित प्रस्तुत गरेकामा श्रेष्ठको प्रशंसा गर्दै नेपाली गजल गायनलाई तीव्र बनाउन आग्रह गर्नुभयो । साहित्य अभियन्ता बाबु त्रिपाठीले नेपाली गजलमा विवाद नभएको र कसैले गराइदिएको विवादलाई गजल स्रष्टाहरूले बुझिसकेका भन्दै गजल स्रष्टाहरू अब गजलका पक्षमा मात्र रहेका प्रष्ट पार्नुभयो ।
कार्यक्रमको अभिभावकत्व ग्रहण गर्नुभएकाा गजलकार डा.भोजराज घिमिरेले नेपाली गजललेखन परिष्कारको बाटोमा हिँडिसकेको र अब गायनमा पनि परिष्कारसँगै तीव्रता र विस्तार जरुरी रहेको बताउनुभयो । उहाँले चण्डीप्रसाद काफ्ले, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ जस्ता जुझारु र प्रतिबद्ध संगीतकार/गायक नेपाली गजलले पाउनु खुशीको कुरा भएको सुनाउनुभयो ।
गजलकारद्वय कणेल र ओझाले १५ वर्षअघि विवाहकै दिन ‘बाटो अझै छ बाँकी’ संयुक्त गजल कृति प्रकाशनसहित जीवनको सहयात्रा सुरु गरेको १६औं वर्षमा गायनमा पनि सहयात्रा सुरु भएको भन्दै यसका लागि संगीतकार/गायक श्रेष्ठ र अभिभावक डा.घिमिरेप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।
गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना र नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान, कलरक्राफ्टको सहकार्यमा भएको कार्यक्रमलाई आधुनिक नेपाली गजल अभियान, अनाममण्डली, उत्सवलगायत देशभरका डेढ दर्जन साहित्यिक संस्थाको प्रत्यक्ष साथ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच