काठमाडौं । फोहोरमैलासम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्व वातावरण दिवसका अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालको आयोजनामा सोमबारदेखि सम्मेलन सुरु भएको हो । सोही अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमका क्रममा बोल्दै पूर्वमन्त्री गणेश साहले श्रमिकहरूले स्वच्छरूपमा काम गर्न पाउने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । सरसफाइ कर्मचारीलाई आवश्यक पर्ने मास्क, पञ्जालगायतका सामग्री पूर्णरूपमा उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
पूर्वमन्त्री साहले फोहोर व्यवस्थापनमा लागेका कर्मचारीका लागि नियमित स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य शिविरका साथै कर्मचारीको वृत्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले मजदुर, यो क्षेत्रमा काम गर्ने दाजुभाइ, दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले स्वच्छरूपमा काम गर्न के-कस्ता सेवा सुविधा आवश्यक पर्छ, तपाईंहरूले पञ्जा लगाउने, मास्क लगाउनेलगायत स्वच्छ वातावरणमा काम गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई अनुरोध गर्दछु । तपाईंहरूको नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ स्वास्थ्य शिविर आयोजना गर्नुपर्छ । तलैबाट तपाईंहरूको कसरी वृत्ति विकास गर्ने ? तपाईंहरूलाई फोहोरमैला क्षेत्रमा साना, घरेलु उद्यमीको विकास गर्नेतर्फ हामी अघि बढ्नेछौँ । सहकारीमा धेरै ठगी भयो भन्ने छ अहिले । हामीले सफाइ मजदुरको सहकारी चलाएर एउटा उदाहरणीय काम गरेका छौँ । वृत्ति विकासतिर पनि लाग्नेछौँ । साना, घरेलु उद्योगतिर प्रोत्साहित गर्न संघीय, प्रदेश र स्थानीय सरकारलाई नीति निर्माण बनाउनेतिर अघि बढाउनेछौँ ।’
फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउन र सिंगो शहर सधैं सफा राखिरहन प्रभातफेरी गरिएको बताउनुभयो । फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीलाई हेयका दृष्टिकोणबाट हेर्ने गरिएको भन्दै सम्मेलनले सोबारेमा पनि निर्णय गर्ने बताउनुभयो ।
आचार्यले भन्नुभयो, ‘हामी हरेक वर्ष जुन ५ को दिन विश्व वातावरण दिवस मनाउने गर्छौं । यो प्रभातफेरी कार्यक्रम हरेक वर्ष गर्ने गर्छौं । यस वर्ष हामीले फोहोरमैलासम्बन्धी राष्ट्रिय सम्मेलन पनि गर्दैछौँ । फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउने र सिंगो शहरलाई सधैं सफा राखिरहने यो अभियान हो । सबैको सहभागितामा गरे यो दिगो हुनसक्छ । आममानिसको दृष्टिकोण यसमा अलि सकारात्मक छैन । निश्चित समुदायले गर्ने हो भन्ने छ । यसको व्यवस्थापनमा हामी सबै लाग्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा नीतिगत स्पष्टता छैन । नीति नियम व्यवस्थित गरेर फोहोरमैलाको उचित व्यवस्थापन गर्ने हाम्रो उद्देश्य छ ।’
उहाँले फोहोरमैला व्यवस्थापनमा नीतिगत कुराहरू स्पष्ट नरहेकाले नीति नियम व्यवस्थित गरेर फोहोरमैला व्यवस्थापनको उचित व्यवस्थापन गर्न पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा ललितपुरका जावलाखेल, पुल्चोक, मंगलबजार, इटीटोल, कुमारीपाटीलगायतका स्थानमा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच