उपराष्ट्रपति निर्वाचन : एकैदलका दुईसहित चारजनाको उम्मेदवारी दर्ता,

१० दलीय गठबन्धन विभाजित

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले तोकेको शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयभित्र १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजना र नेकपा एमालेबाट एकजनाको उम्मेदवारी परेको हो । १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुईजना र जनमत पार्टीबाट एक गरी तीनजनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो । नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । जसपाका उम्मेदवार प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई, मनीष सुमन रहनुभएको छ ।

जसपाकै अर्का उम्मेद्वार रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहनुभएको छ । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै जसपा संसदीय दलका नेतासमेत रहनुभएका यादवले मुलुकको संविधानको रक्षा गर्न, सम्बद्र्धन गर्ने र राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षागर्न सम्बद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु । मलाई उपराष्ट्रपति पदमा निर्वाचित गराउन सबै दलहरूलाई अपिल पनि गर्छु । पूर्व सहमतिअनुसार नै दलहरूले मलाई मतदान गर्नुहुनेछ ।’ जसपाको केन्द्रीय कार्यकारिणी समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाएको हो ।

१० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेतृ ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहनुभएको छ भने समर्थकमा गोमाराम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहनुभएको छ । नेकपा एमालेबाट भने पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहनुभएको छ । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुभएकी शाक्य नेपालकै पहिलो मुख्यमन्त्री एवं बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुनुहन्छ । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको जिकिर गर्दै भन्नुभयो, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’ राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि पाँच÷पाँचजना संघीय तथा प्रदेश सांसदहरू प्रस्तावक र समर्थक बस्नुपर्ने कानुनी प्रावधान छ ।

उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी दर्ता
उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनुभएका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्यको प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गर्नुभएको हो । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।

उजुरीमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको अवस्थामा बिहीबार नै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको, राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाबमोजिम राष्ट्रपति पुरुष बनिसकेकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरूप अनिवार्य रहेको छ ।’

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन : राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताउनुभएको छ । शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने जिकिर गर्दै भन्नुभयो, ‘अहिले गठबन्धनमा भएको छलफलबमोजिम नै हामीले उम्मेदवारी दिएका छौँ । गठबन्धनकै निर्णयअनुसार तीनजनाको उम्मेदवारी परेको हो । जुन हिसाबले निर्वाचन आयोगले संविधानको धारा ३८ (४) लाई टेकेर निर्णय गरेको छ, र संविधानको मर्म पनि महिला नै हुनुपर्छ भन्ने छ । हामीले त्यहीअनुसार महिला, त्यो पनि कानुनको ब्याकग्राउन्ड भएको महिलालाई उम्मेदवार बनाएका छौँ, त्यसमा हाम्रो सशक्त दाबी रहन्छ ।’

अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास हुने जानकारी दिँदै राउतले भन्नुभयो, ‘हामी अधिकारको लडाइँमा छौँ । यदि गठबन्धनमा हामीलाई समर्थन भएन भने पनि हामी उम्मेदवारी फिर्ता लिँदैनौँ । हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौँ । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन ।’

जसपाको आधिकारिक उम्मेदवार आइतबार थाहा हुन्छ : प्रमिला कुमारी
जसपाको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने ? भन्ने आइतबार थाहा हुने बताउनुभएको छ । शनिबार उपराष्ट्रपति पदमा एउटै पार्टीबाट दुईजनाको उम्मेदवारी दर्ता भए पनि आधिकारिकता भने आइतबार पार्टीले टुंगो लगाउने जानकारी दिँदै प्रमिलाले भन्नुभयो, ‘आधिकारिक उम्मेदवार आइतबार थाहा हुन्छ । मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो । हामी दुवैजनाको इच्छा भयो त्यसैले दुईजनाको उम्मेदवारी पर्‍यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’

गठबन्धनमा विभाजन
राष्ट्रपति निर्वाचनमा एकमत बनेका १० राजनीतिक दल सम्मिलित गठबन्धन उपराष्ट्रपतिको निर्वाचनमा भने विभाजित हुने संकेत देखिएको छ । उम्मेदवार टुंग्याउनुअघि शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रसहित १० राजनीतिक दलको बैठकले उपराष्ट्रपतिको निर्वाचनबारे सहमति जुटाउन सकेन । तर, गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने उपराष्ट्रपतिमा जसपाकै उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवार उठाउने सहमति भएको जानकारी दिँदै भन्नुभयो, ‘सबै दलको एउटै धारणा बनेको छैन । तर, हाम्रो समर्थन जसपालाई हो, जसपाबाट उम्मेदवार उठाउने गठबन्धनमा सहमति भएको छ ।’

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाटै साझा उम्मेदवार हुने जानकारी दिँदै भन्नुभयो, ‘हामीले गठबन्धनबाट जसपालाई उपराष्ट्रपति दिन सहमति गरिसकेका छौँ, जसपाले कसलाई उम्मेदवार बनाउँछ, उही नै हाम्रो उम्मेदवार हो ।’ यसअघि उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवार बनाउने सहमति भइसके पनि शनिबारको बैठकमा भने जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी पेस गरेको थियो । दुई दलको दाबी रहेपछि १० दलीय गठबन्धनमा त्यसबारे सहमति जुटेन । आफ्नो दाबीअनुसार जनमतले उम्मेदवारी दर्ता गरिसकेको छ ।

जसपालाई उपराष्ट्रपति नदिन गठबन्धनमै आबद्ध दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । शुक्रबार बिहान नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उमेर हदका कारण उहाँ अयोग्य हुने भएपछि जनमतले उपराष्ट्रपति उम्मेदवार तय गरेको हो । जनमतले लोसपा र नागरिक उन्मुक्तिसहितको समर्थन लिएर गठबन्धनबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको छ । दुवै दल आ–आफ्नो दाबीबाट पछि नहटे सत्ता गठबन्धनको मत विभाजन हुने निश्चित छ ।

आयोगले उपराष्ट्रपति पदलाई अनावश्यक विवादमा ल्यायो : पूर्वप्रमुख आयुक्त यादव
पूर्वप्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले फरक लिंग वा समुदायबाट उपराष्ट्रपति हुनुपर्ने बताउनुभएको छ । उपराष्ट्रपतिमा महिला हुने कि पुरुष हुने भन्ने विवाद चलिरहेका बेला पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले संविधानमा जुन कुरा स्पष्ट रूपमा लेखिसकेको छ त्यो कुरामा अहिले आएर निर्वाचन आयोग जस्तो सम्मानित संस्थाले विवाद उत्पन्न गर्न नहुने टिप्पणी गर्दै भन्नुभयो, ‘उपराष्ट्रपतिको चुनाव गराउन निर्वाचन अधिकृत तोकिसकेको छ, संविधानअनुसार उम्मेदवारले उम्मेदवारी दिन्थे । यदि संविधानविपरीत उम्मेदवारी परेको भए त्यसमा छानविन गर्ने अधिकार निर्वाचन अधिकृतलाई मात्र छ, यसमा निर्वाचन आयोगलाई कुनै अधिकार छैन । निर्वाचन अधिकृतले राय सल्लाह मागेपछि मात्र उसले केही बोल्नुपथ्र्यो तर उम्मेदवारी नपर्दै यसलाई आयोगले जानीजानी विवादमा ल्याएको छ ।’ उपराष्ट्रपति पदलाई केही स्वार्थी समूहले विवादमा ल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसलाई निर्वाचन आयोगले पनि साथ दिइरहेको डा.यादवको टिप्पणी छ ।

आयोगले दबाबमा आएर पुरुष उम्मेदवार दर्ता गर्नु खेदजनक : राउथ
जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिको निर्वाचनमा पुरुष उम्मेदवारी दर्ता गर्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ । आयोगले महिला उम्मेदवार नै हुनुपर्ने अडान लिए पनि अहिले दबाब वा प्रभावमा आएर पुरुष उम्मेदवार दर्ता गर्नु खेदजनक रहेको टिप्पणी गर्दै राउतले शनिबार अपराह्न सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘निर्वाचन आयोगले संविधानको धारा ३८(४) उद्धृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने अडान लिएपछि अहिले कुनै पनि दबाब वा प्रभावमा आएर पुरूष उम्मेदवार दर्ता गरिनु अत्यन्त खेदजनक छ । यसले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको छ । संविधानको मूलमर्म, जनभावना तथा महिलाको अधिकारमाथि यसले प्रहार गरेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?