
पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेशमा साढे ६ वर्षपछि जसपाको सरकार ढलेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको हो । योसँगै मुख्यमन्त्री यादव पदमुक्त हुनुभएको छ । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मत मात्र आएको थियो । विपक्षमा ५३ सांसदले मत दिएका थिए । बुधबारको बैठकमा १०३ सांसद उपस्थित थिए ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएको ३०औँ दिनमा यादवले विश्वासको मत माग्नुभएको थियो । मुख्यमन्त्री यादवलाई जसपाको १९, कांग्रेसको २२, लोसपाका आठ र राप्रपाका एकजना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा भने एमालेका २४, जनमतको १३, माओवादी (केन्द्र) को नौ, नेकपा (एस) का सात र नागरिक उन्मुक्ति पार्टीका एक जनाले मतदान गरेका छन् ।
विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री यादवले आफ्नो १७ महिना कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले आफ्नो १७ महिने कार्यकालमा ठूला सबै दलका सांसद मन्त्री बनेको र आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसकेको पनि बताउनुभयो । उहाँले संघीयता र प्रादेशिक संरचनालाई बलियो बनाउन केन्द्रीय मनोविज्ञानलाई त्यागेर विश्वासको मत दिन सबै सांसदसित आग्रह गर्नुभएको थियो ।
२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत पाउनुभएको थियो । पछिल्लोपटक एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारलाई दिएको समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने तर्कसहित २८ गते विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सभामा पत्र पठाउनुभएको थियो ।
तर, प्रतिपक्षीहरूले भने सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले जेठ २३ गते भित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन प्रदेशसभा पुग्नुभएको थियो । तर, पाँचौँपटक विश्वासको मत लिने बेला सदनमै उहाँले मुख्यमन्त्री पद गुमाउनुपरेको हो ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा पर्नुभएको थियो । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ ।
१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको नौ, लोसपाको आठ, एकीकृत समाजवादीको सात सिट छ । त्यस्तै, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।
जसपा नेपाल मधेश प्रदेशबाट विस्थापित भएसँगै अब त्यहाँ पनि राजनीतिक अस्थिरता सुरु भएको छ । प्रादेशिक संरचना लागू भएयता राजनीतिक स्थिरता कायम रहेको मधेश प्रदेश सभामा अब राजनीतिक अस्थिरताले प्रवेश पाएको छ । अरू प्रदेशहरूमा केन्द्रीय सत्ता समीकरण र फेरबदलले प्रभाव पारिरहँदा मधेशलाई त्यसले छुँदैनथ्यो तर, अब भने सम्भवतः मधेशलाई हरेक केन्द्रीय सत्ता समीकरण र फेरबदलले प्रभाव पार्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच