मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइयो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । मिथिलाञ्चलमा बिहिवार वटसावित्री अर्थात वरसाइत पर्व मनाइएको छ ।

विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भीड लागेको छ । पर्वमा महिलाहरु नयाँ सारी साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन् । नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ । वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ ।

यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेष्ठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ । हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्व रहेको छ । वरको बोटमा भगवान व्रह्मा, विष्णु र महेशको वास हुने पुराणहरुमा स्पष्ट भनिएको छ । यस वृक्ष मुनी बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ ।

दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतिकको रुपमा स्वीकार गरिएको छ । वरको बोट ज्ञान र निर्वाणको पनि प्रतिक मानिएको छ । भगवान बुद्ध यही वृक्ष मुनी ज्ञान प्राप्त गरेका थिए । वरको वृक्ष मुनी श्रीमानको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अंग बनेको छ । महिलाहरुले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सुतीको धागो बाँध्ने गर्दछन् । जनकपुर ४ की मिक्की झाले यो पर्वको तयारी केही दिन अगावैदेखि शुरु गरेको बताउनु भयो ।

वरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ । सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ । सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो । सावित्रीको जन्म समेत विशिष्ट परिस्थितिमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?