अमुक व्यक्तिले अमुक संस्थामा यति वर्ष जागिर गरेर अवकाश लिए भन्ने कुरा सबैको निम्ति सरोकारको विषय होइन । एक दिनमा सयौँ व्यक्तिले सेवा प्रवेश गर्छन् सयौँ व्यक्तिले अवकाश लिन्छन् यस्तो कुरालाई राष्ट्रले विषय बनाएर साध्य हुँदैन । त्यसमाथि ठूलाबडाका कुरा गर्न, कुरा सुन्न र ठूलाबडाकै आड लाग्न बानी परेकाहरूलाई एकजना अधिकृत तहको कर्मचारीले सेवाबाट अवकाश लिए भन्ने कुरा त झन् विषय हुने कुरै भएन । ठूलाबडाकै कुरा गर्दा हामीले सुनेका र देखेकै हौँ २०४६ सालका क्रान्तिनायक गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पद आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई दिए । अनि तिनै भट्टराई माटाको सुराही र टिनको बाक्सा लिएर प्रधानमन्त्रीको रूपमा बालुवाटार पसे अनि तिनै दुईथान सामान लिएर डेरामा सरे ।
त्यस्तै मनमोहन अधिकारी, सुशील कोइरालाजस्ता उच्च नैतिक चेत, असल विचार र कर्म भएका तर सादगीपूर्ण जीवन निर्वाह गरेका व्यक्तिहरू पनि यो मुलुकका प्रधानमन्त्री भए । ठूला मानिसका कुरा धेरै हुन सक्छन् । तीमध्ये कति असल मानिस थिए जसलाई देशले युगौँयुगसम्म पनि सम्झिरहला । अनि आज गणेशमानजीले मित्रलाई उपहार दिएको त्यही पद, त्यस पदमा बस्न हुने गरेको हानथाप र त्यहाँ बस्न जाने गरेका पात्रहरू देखिरहेका छौँ । यस्तो बेला कस्ता ठूला मान्छेका कुरा गरौँ खोइ ¤ के कसैले सोचेको थियो हामीले ल्याएको गणतन्त्रको पछिल्लो अनुहार यति विकृत हुन्छ भनेर ? ठूलाठालुका कुरा गर्ने हाम्रो रहरभित्र कति दोष अटाएको रहेछ हामी अनुभव गर्दै छौँ । आज मैले त्यति धेरै ठूला व्यक्तिका कुरा गर्ने रहर गरेकै छैन बरू असल मानिसका विषयमा कुरा गर्दै छु ।
विश्वविद्यालयको अनुसन्धान केन्द्रका विषयमा जानकारी भएका जो कोहीले पनि नगेन्द्रलाई नचिन्ने कुरा सायद सम्भव हुँदैन । नेसंवि अनुसन्धान केन्द्रका पर्यायजस्तै रहेका नगेन्द्र उमेर हदका कारणले सेवानिवृत्त भए ।
मैले आज महाकवि देवकोटाले मुनामदनमा व्यक्त गरेका विचारमा पूरक विचार राख्दै भन्न चाहेको छु मानिस ठूलो कर्मले हुन्छ पदले हुँदैन । यो कुनै व्यक्तिको प्रशस्तिका निम्ति गरिएको बखान पनि होइन । इमान र नैतिकताको खडेरी परेको यो मुलुकमा सानो झिल्को इमानदारीको बालेर त्यही उज्यालोमा संसारलाई उज्यालो देख्न चाहेको मात्र हो । जता जाऊ बेथितिले देश ढाकेको बेला मलाई आज सामान्य व्यक्तिले लिएको उचाइका विषयमा कुरा गर्न मन छ । कुरा बत्तीस वर्षको सरकारी सेवा पूरा गरेर भर्खरै अवकाश लिएका एकजना असल व्यक्तिका विषयमा हो ।
असल मैले भनेको होइन उनै व्यक्तिका कर्म र व्यवहारले भनेको हो । जिन्दगीको दौरानमा जीविकोपार्जनका निम्ति जागिर खानु धेरैजसोको आवश्यकता र बाध्यता हो । भर्खरै मेरा एकजना मित्रले जागिरबाट अवकाश लिए । उनको बिदाइमा शुभकामना दिन उभिएका शुभचिन्तकहरूले उनको पेशाप्रतिको निष्ठा र इमानदारीका विषयमा मुक्तकण्ठले प्रशंसा गरे । बिदाइका बेला यसै पनि मिठामसिना कुरा गर्ने चलन नै हुन्छ त्यसमाथि यो बिदाइमा साँच्चै असल मानिसका विषयमा मीठा कुरा गरिएका थिए । त्यति मात्रै भएन उनको अवकाशपछि उनले समाल्दै आएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने उत्तराधिकारीको कमी रहेको भन्ने विषयमा सम्बन्धित संस्थाका प्रमुखबाट नै विचारहरू आए ।
कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्मले प्रशंसा गरेका ती व्यक्ति नगेन्द्रराज रेग्मी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रका विषयमा जानकारी भएका जो कोहीले पनि नगेन्द्रलाई नचिन्ने कुरा सायद सम्भव हुँदैन । नेसंवि अनुसन्धान केन्द्रका पर्यायजस्तै रहेका नगेन्द्र उमेर हदका कारणले सेवानिवृत्त भए । त्यसो त संसारमा को नभएर के काम रोकिएको छ र ? भनिन्छ राजा मरेर राज्य रोकिँदैन । कुरा सत्य हो र त्यत्तिकै कठोर पनि हो । कसैको योगदानका विषयमा यत्ति नै भनेर पुग्दैन । राज्य त राजा मरे पनि नरोकिएला तर राज्यसञ्चालन प्रक्रिया र सुशासनमा अवश्य प्रभाव पर्छ । यस अर्थमा कुनै पनि इमानदार व्यक्तिको ठाउँ अर्को इमानदार व्यक्तिले पनि लिन सक्दैन ।
कुनै पनि व्यक्तिले बनाएको ठाउँ उसँगै जाने र अरू कसैले लिन नसक्ने सत्यको एउटा दृष्टान्त मित्र नगेन्द्र बनेकै हुन् । नेसंविको अनुसन्धानकेन्द्रमा गहिरो अन्तराल छोडेर मित्र नगेन्द्रराज रेग्मीले अवकाश लिए । नगेन्द्रराज रेग्मी यस अभियानका प्रतिनिधि पात्र हुन् । जिविकोपार्जनका निम्ति भनेर थालनी गरेको जागिर उनको जीवनको अभिन्न अङ्ग बनेर रहृयो । उनले जागिरलाई कुन बेला आदत बनाए ? कुन बेला सेवा बनाए ? अनि कुन बेला प्रतिष्ठा बनाए ? सायद उनलाई पनि हेक्का भएन । यति लामो अवधि आइपुग्दा उनी अनुसन्धान केन्द्रका मुटु, कलेजो, फोक्सो सबै बने ।
नगेन्द्र छन् त्यसैले अनुसन्धान केन्द्र छ भन्ने जस्तै भयो । त्यसो त उनी त्यस कार्यालयका सहायक प्रशासक हुन् । उनीभन्दा माथि अरू नै हाकिमहरू हुन्छन् र थिए तर जब कसैले संस्थालाई मन्दिर अनि जागिरलाई पूजा सम्झन्छ त्यसपछि धेरै कुराहरू गौण बनेर जाँदा रहेछन् । नगेन्द्रको हकमा पनि त्यस्तै भयो । उनले आफ्नो सेवा अवधिमा आठजना कार्यकारी निर्देशकहरूसँग काम गरे । उनको कार्यकालमा सयौँ अनुसन्धाताले विद्यावारिधि गरे । उनैले फाइल अगाडि बढाएका धेरै व्यक्ति देशका ठूला मानिस बने । हाकिमहरू फेरिँदै रहे तर नगेन्द्रको कम र व्यवहारमा कुनै फरक परेन । उनले हरेक हाकिमसँग सम्मानपूर्ण व्यवहार गरे । कसले के भन्यो भन्ने कुरालाई कहिल्यै महत्व दिएनन् ।
उनका अगाडि कार्यालयको काम थियो । आफ्नो कर्तव्य र दायित्व थियो । निष्ठा र इमानदरी थियो । जो हाकिम आए पनि नगेन्द्रलाई नसोधेसम्म कामको भेउ पाउँदैनथ्यो । उनले कुनै दिन यो कुराको घमण्ड पनि गरेनन् । कुनै कुराको विशेष आश पनि गरेनन् । आफ्नो जिम्मा आइलाग्ने कामलाई दिन रात नभनेर सम्पन्न गर्दै गए र आजको मुकाममा पुगे । उनले कुनै विशिष्ट पद पनि पाएनन् । मनग्गे रुपैयाँ पनि कमाएनन् । अवकाशका दिन उनका हातमा दुई थान मायाको चिनो लेखिएका प्रशंसापत्र थिए र दुईचार थान खादा थिए । तर सबैभन्दा धेरै उनीसँग थियो इज्जतपूर्वक सेवाबाट अवकाश लिन पाएको सन्तुष्टि र मित्रहरूका सद्वचनका उपहार ।
यत्ति सामग्री हातमा पोको पारेर अवकाश हुने दिन पनि साँझसम्म कार्यायको काम गरेर उनी घर फर्किए । आहा ! कति सरल र सादा थियो उनको अवकाशको दृश्य ? कति लोभलाग्दो थियो उनको बिदाइ ? कुनै तामझाम थिएन, कुनै तडकभडक थिएन । केवल भोलिदेखि उनी नहुनुको अन्तरालको चिन्ता थियो तर पनि सम्मानपूर्वक विदाइ हुँदाको सन्तोष र उज्यालो उनको अनुहारमा झल्किन्थ्यो । कुनै दाग नलाएर अवकाश हुन पनि सजिलो कहाँ छ र अहिले तर नगेन्द्रले त्यो अवसर पाएका थिए । सबैलाई लोभ लाग्ने गरी उनी कार्यालयबाट निस्किए । घर जाने गाडी चढ्न आउँदै गर्दा पनि कार्यालय प्रमुखले कार्यालयका गोप्य कागजात र कम्प्युटरमा सेभ गरेर राखिएका सामग्रीका विषयमा सोध्दै थिए ।
नगेन्द्र सिद्धहस्त शब्दशिल्पी पनि हुन् । कार्यालयको सेवाका अतिरिक्त नेपाली भाषा र साहित्यको सेवामा पनि उनको त्यत्तिकै महत्वपूर्ण योगदान छ । उनी साहित्यिक पत्रकार, अन्तर्वार्ताकार, निबन्ध र नियात्राकार पनि हुन् । देशका विभिन्न पत्रिकाहरूमा उनका लेखरचनाहरू आइरहन्छन् ।
नगेन्द्रजी फलानो सामग्री कुन फाइलमा छ भन्नुभयो अरे ? भोलिपल्ट कार्यालय खुल्ले बिहान छाउने सन्नाटाका विषयमा कि हाकिमलाई बोध थियो कि त भोलिपल्ट काम लिएर आउने सेवाग्राहीलाई थाहा थियो । दश बजे कार्यालय आए हुने ठाउँमा उनी साढे नौ बजे नै कार्यालय आए । पाँच बजे घर गए हुनेमा उनी छ बजे पनि घर फर्किए । त्यसबाहेक पनि आवश्यकता पर्दा टाढाटाढाबाट आउने शोधार्थीहरूका निम्ति रात दिन, साँझबिहान नभनेर सेवा पु¥याए । उनको अवकाशको समाचारसँगै अनुसन्धानकेन्द्रको भविष्यका विषयमा धेरैले चिन्ता व्यक्त गरे । उनको सरलपन, मृदुभाषिता, सिष्ट र सभ्य बोली वचन अनि तनमन लगाएर काम गर्ने स्वभावले सबैका प्रिय नगेन्द्र बने ।
कुनै व्यक्ति संस्थाको अपरिहार्य बनेका दृष्टान्त कमै हुने गर्दछन् । यति भएर पनि उनी यो देशका इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक भए कि भएनन् भन्न सकिने अवस्था छैन । अहिलेको अवस्थामा इमानदार भएर पनि इमानदार भएको प्रमाणित गर्न गाह्रो छ । राष्ट्रसेवक हुनुपर्ने कर्मचारीहरू त्यसभन्दा पहिले दलसेवक बन्नुपर्छ र कुनै संगठनप्रति बफादार बन्नुपर्छ । त्यसपछि सरकार कुन दलको छ ? मन्त्री र हाकिम कुन पार्टीका छन् ? त्यस आधारमा इमानदार बन्न पाइन्छ । नगेन्द्रजीले त्यो प्रक्रिया पुर्याए पुर्याएनन् म भन्न सक्दिन ।
सरकारसँग यस्तो इमानदारीलाई मापन गर्ने कुनै स्वच्छ संयन्त्र छ भने मेरो माग छ त्यसमा नगेन्द्रराज रेग्मीको नाम दर्ता गरियोस् ।
जागिर खानुलाई अर्को भाषामा सेवा गर्नु पनि भनिन्छ । मैले यति वर्ष अमुक संस्थामा रहेर सेवा गरेँ भन्ने चलन छ तर जीवनमा जागिर खानु सेवा गर्नु होइन । सेवा गर्न त नगेन्द्रमा जस्तै सेवाको भाव पनि चाहिन्छ । आफूले अँगालेको पेशाप्रति आस्था र निष्ठा चाहिन्छ । जगिर खाँदैमा सेवक भइँदैन त्यो हामी धेरैले बुझेका छौँ । सेवाको नाउँमा मेवाको जोहो गर्दै जाने धेरैलाई सेवाको तात्पर्य पनि थाहा छैन । सेवा त्यो हो जसमा स्वार्थको मात्रा कमभन्दा कम हुन्छ अनि योगदानको मात्रा बढीभन्दा बढी हुन्छ । हो तिनै दोस्रो वर्गका सेवक हुन् नगेन्द्रराज रेग्मी ।
उनले आफ्नो बिदाइको मन्तव्यमा आफ्ना मानवीय दुर्वलतालाई पनि केलाउँदै भने म पनि अरू धेरै मानिस सरहकै मानिस हुँ । मभित्रका अनगिन्ती कमजोरीलाई पनि औँल्याइदिनुभएको भए म अझै धेरै आभारी हुने थिएँ । यसो भन्दै गर्दा उनले आफ्नो कमजोरी भन्न बिर्सिएनन् । उनले भने मेरो सेवाको ठूलो कमजोरी रहृयो मेरो सरलपन । जसका कारणले म हाकिमजस्तो भएर रहन सकिन । टाढाटाढाबाट आएका शोधार्थीका समस्या सुनेर म प्रभावित भएँ र कसरी हुन्छ उनीहरूको काम छिटो सम्पन्न गरिदिएर घर पठाएँ ।
यसो गर्दा धेरै सरल भएको भन्ने गुनासा पनि आए तिनलाई मैले सच्याउन सकिन । उनको सरलता सायद दोष नभएर उनको गुण थियो तर त्यसबाट लाभ लिन चाहने छट्टुहरूले यस्तो समस्या पारे होलान् । नगेन्द्र सर्वगुणसम्पन्न नहोलान् उनी पनि मानिस नै हुन् तर उनले आफ्नो पेशाबाट सिकाएको सन्देश धेरैको निम्ति अनुकरणीय छ ।
मैले नभनीनहुने अर्को पक्ष छ नगेन्द्रको । उनी सिद्धहस्त शब्दशिल्पी पनि हुन् । कार्यालयको सेवाका अतिरिक्त नेपाली भाषा र साहित्यको सेवामा पनि उनको त्यत्तिकै महत्वपूर्ण योगदान छ । उनी साहित्यिक पत्रकार, अन्तर्वार्ताकार, निबन्ध र नियात्राकार पनि हुन् । देशका विभिन्न पत्रिकाहरूमा उनका लेखरचनाहरू आइरहन्छन् । उनका आधा दर्जन साहित्यिक कृति पनि प्रकाशित भइसकेका छन् । कुनै व्यक्ति असल हुनुभनेको धेरै दृष्टिले माझिनु पनि हो भन्ने दृष्टान्त नगेन्द्रराज रेग्मी पनि हुन् । सरकारी सेवाले गर्दा ओझेलमा परेको उनको कलम अब तीव्र बन्नेछ । नगेन्द्रजीबाट नेपाली भाषा र साहित्यले थप लाभ लिन सक्नेछ । म प्रिय मित्र, असल राष्ट्रसेवक अनि कुशल साहित्यस्रष्टा नगेन्द्रराज रेग्मीको सेवानिवृत्त जीवन फलदायी रहोस् भन्ने कामना गर्दछु ।
उद्यमी मान्छे जीवन समाप्त हुनु भन्दा केही बेर अधि मात्र रिटायर्ड हुन्छ । सरकारले दिएको अवकाश न हो,जीवनका गति बडिरहने छ्न ,उर्जाशिल कलमहरु चलिरहने छन् । सुखद अवकास जीवनको कामना गर्दछु ।
आदरणीय डा. नारायण सरले श्री नगेन्द्र सर बारे लेख्नु भएको विचारहरू शतप्रतिशत सत्य हुन्। एकजना कर्मनिष्ठ समर्पित व्यक्तित्व नगेन्द्र सरको बहुआयामिक प्रतिभालाई नमन गर्दछौँ। दार्जीलिङसित उहाँले उल्लेखनीय सम्बन्ध गाँस्दै नेसंविसित सहकार्य पनि गराउनु भयो। अर्को पक्ष सरल र विनम्र हुनु सजिलो कार्य होइन, अथाह सम्भावना र शक्ति बोकेर पनि प्रदर्शन नगर्ने स्वभाव उहाँको कमजोरी होइन त्यसलाई महानता मान्नु पर्छ भन्ने आशयभित्र धेरै ठूलो दर्शन रहेको छ। समग्रमा नगेन्द्र सर अति मायालु अनि सम्माननीय व्यक्ति हुनुहुन्छ, गुनिलो अनि नि: स्वार्थ राष्ट्रसेवक हुनुहुन्छ। यति प्रिय नगेन्द्र सर बारे लेखिदिनु भएकोमा चालिसे सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै नगेन्द्र सरको सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति अनि सपरिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
नगेन्द्र सर सेवानिवृत्त हुनुभएछ, उहाँको सेवानिवृत्त जीवन थप उल्लासमय बनाेस् ।
साँच्चिकै सच्चा राष्ट्रसेवकका बारेमा लेखिएको अालेख पनि सुन्दर छ । मैले पनि जीवनमा यस्तो राष्ट्रसेवक भेटाएकाे छैन, उहाँलाई हार्दिक नमन गर्दछु ।