काठमाडौं । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा चार सय केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौंडा सबस्टेसन शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ ।
त्यसैगरी नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमै २२० र १३२/११ केभीका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व-पश्चिम विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हेटौंडा सबस्टेसन निर्माणसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौंडा-ढल्केबर-इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व-पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ । आयोजनाअन्तर्गत ढल्केबर-इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौंडा उपमहानगरपालिका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीय अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा सबस्टेसनबाट स्थानीयरूपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौंडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालका मध्य क्षेत्रका नदी करिडोरका जलविद्युत् आयोजनावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौंडा-ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत् भारततर्फ निर्यात गर्न थप सहज हुनेछ । सबस्टेसनले हेटौंडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्नेछ ।’
हेटौंडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिनेछ । जसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण भएका छन् ।
हेटौंडा चार सय केभी सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौंडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
कोरोना बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोनाका कारण सबस्टेसन जडान हुने विभिन्न उपकरण र प्राविधिक पूर्वनिर्धारित समयमै आयोजनास्थलसम्म नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच