मिर्गौला तस्करको निसानामा सडकपेटिका बालबालिका, पाँच लाख र मोबाइल ‘सेट’को प्रलोभन

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । विभिन्न प्रलोभन देखाएर नेपालीले भारतमा मिर्गौला बेच्ने गरेको खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट यस्तो गिरोह सक्रिय रहेको खुलेको हो । यसका लागि काठमाडौंका सडकपेटीका बालबालिका र सोही क्षेत्रमा जीवन बिताउनेहरूलाई निसाना बनाउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार उनीहरूले सुरुमा काठमाडौंका सडकपेटीका बालबालिकासँग चिनजान गर्ने र चिनजानपछि अनेक प्रलोभनमा फसाउने गरेको पाइएको छ । भारतमा गएर मिर्गौला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकालाई भारत लैजाने गरेको उहाँले बताउनुभयो ।

‘मिर्गौला तस्करी गर्ने गिरोहले अनेक कुरा गरेर प्रलोभन देखाउँदा रहेछन् । भारतको कोलकाता गई मिर्गौला बेच्दा पाँच लाख रुपैयाँ पाइने र नेपाल फर्किंदा ५० हजार पर्ने मोबाइलसमेत पाइने भनेर प्रलोभन दिएको पाइयो,’ उहाँले भन्नुभयो, ‘मिर्गौला बेच्न सहमत भइसकेपछि उनीहरूले काठमाडौंकै भव्य होटेलमा राखेर रगतलगायत परीक्षण गराउने गरेको खुलेको छ । दिन योग्य देखिएपछि उनीहरूले भारत लैजाने गरेको पाइएको छ ।’ उनीहरूले सडकपेटीमा जीवन निर्वाह गर्ने र विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई आफ्नो जालमा पार्ने गरेको खुलेको एसपी मल्लले बताउनुभयो ।

प्रहरीले सूचना पाएपछि तस्करको योजना असफल, पाँचजना पक्राउ
मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका छन् ।
प्रलोभनमा पारी सडक बालबालिकालाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरू सबै नेपालबाट मानिस भारतसम्म पु¥याउने समूहका हुन् । भारतबाट अर्को समूह परिचालन हुने गरेकाले संगठित रूपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिनुभयो । पक्राउ परेकाहरू मध्ये धनबहादुर रोका यसअघि आफैँ मिर्गौला बेचेर प्रत्यारोपणका लागि मोलमोलाई गर्ने व्यक्ति रहेको खुलेको छ । उनै रोकाले बेच्ने मान्छेलाई भारतसम्म पु¥याउने र मिर्गौला बेचिसकेपछि पुनः नेपाल फिर्ता ल्याउने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

गिरोहले यसअघि नै तीन जनालाई भारत पुर्‍याइसकेको पाइएको र उनीहरूको अवस्था थाहा हुन सकेको छैन । उहाँका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौंको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । उनीहरूले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । तर, प्रहरीले सूचना पाएपछि त्यो योजना सफल हुन पाएन । सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाई तीन जनालाई उद्धार गर्न सफल भएको छ । पक्राउ परेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्युरोले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?