काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतबार) भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । आइतबार नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको थियो । प्रधानमन्त्री प्रचण्डका साथ उहाँकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहने जनाइएको छ ।
शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी गराएका छन् । उहाँ यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो भने दोस्रो पटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको थियो । यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हो । प्रधानमन्त्री प्रचण्डले यसअघि ३१ मेदेखि ३ जुन, २०२३ मा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।
तेस्रो कार्यकालका निम्ति शपथग्रहण
सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेसनल डेमोक्र्याटिक एलायन्स (एनडिए) २९३ स्थानमा विजयी भएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले २४० सिट जितेको छ । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो । एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराहृन तेस्रो कार्यकालका निम्ति शपथग्रहण गर्न लाग्नुभएको हो । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो ।
शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसपछि उहाँले राष्ट्रपति मुर्मूसमक्ष नयाँ सरकार गठनको दाबी पेस गर्नुभएको थियो । मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियोे । राष्ट्रपतिले सरकार गठन गर्न औपचारिक रूपमा आहृवान पनि गर्नुभएको थियो ।
राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । मोदी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि २०१९ मा प्रधानमन्त्री बन्नुभएको थियो । ७३ वर्षीय मोदीको यो ऐतिहासिक तेस्रो कार्यकाल हो । मोदीले कायम गरेको यो इतिहास महत्वपूर्ण छ । सन् २०१५ बाट सुरु भएको मोदी युग अबको पाँच वर्ष जानेछ । भारतकै हकमा जवाहरलाल नेहरुपछि तीनपटक प्रधानमन्त्री भएर मोदीले कीर्तिमान कायम गर्नुभएको छ ।
१५ अगष्ट १९४७ मा भारत स्वतन्त्र भएको दिनदेखि २७ मे १९६४ सम्म नेहरु भारतका प्रधानमन्त्री हुनुभएको थियो । उहाँको नेतृत्वमा भारतमा कांग्रेसले लगातार तीनपटक सत्ता चलाएको थियो । सन् १९५१ र ५२ को निर्वाचन भारत स्वतन्त्र भएपछिको पहिलो निर्वाचन थियो । लोकसभामा रहेका ४८९ मध्ये नेहरु नेतृत्वको कांग्रेसले ३६४ सिट जितेको थियो ।
विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुख नयाँ दिल्लीमा
मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ । यस्तै, विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूलाई पनि निम्ता गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको केन्द्रीय सरकारको विज्ञप्तिअनुसार राष्ट्रपति द्रौपदी मुर्मूले शपथग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुहुने छ । भारतको ‘छिमेक नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच